काठमाडौं, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यसले नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा कस्तो असर पर्ला भन्नेमा यतिबेला सर्वत्र चासो छ । यसका दुई पाटा छन्, पहिलो ट्रम्प थप बिरामी भए त्यसले निर्वाचनमा के असर गर्ला र दोस्रो, संक्रमणले ट्रम्पलाई कति फाइदा र बेफाइदा भयो ? केहीले यो संक्रमणले उनलाई निर्वाचनमा थप सहज हुन सक्ने बताएका छन् भने कतिपयले नकारात्मक असर गर्ने धारणा राखेका छन् ।
ट्र्रम्पलाई संक्रमण पुष्टि भएसँगै निर्वाचनको अभियानमा असर परेको छ । आइसोलेसनमा बस्नुपर्ने बाध्यताका कारण उनले राम्रोसँग आफ्नो चुनावी अभियानलाई अघि बढाउन पाएका छैनन् । साथै उनका निकटका धेरैलाई संक्रमण पुष्टि भएको कारण चुनावी अभियानमा थप धक्का पुगेको छ । जसको फाइदा विपक्षी पार्टीलाई पनि हुन सक्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार संक्रमणपछि ट्रम्प पहिलाजस्तै स्वस्थ नरहने भएकाले भौतिक रुपमा उनको उपस्थिति कमजोर हुन सक्छ । जसको कारण उनले पहिलाको जस्तो सशक्त चुनावी अभियान नचलाउन पनि सक्छन् । यसले विपक्षी उम्मेदवार जो बाइडनलाई केही फाइदा पुग्न सक्छ ।
डब्ल्यूएचओ तथा स्वास्थ्य विशेषज्ञहरुले दिएको सुझाव नमान्ने गरेका ट्रम्प स्वयंलाई कोरोना संक्रमण भएसँगै उनले थप आलोचनाको सामना गर्नुपर्ने हुन सक्छ, जुन आगामी निर्वाचनमा उनको लागि हानिकारक हुन सक्छ । कोरोना भाइरस नियन्त्रणको लागि उनले चालेको कदमको आलोचना भइरहेको अवस्थामा संक्रमण पुष्टि हुनुले विपक्षीलाई थप बल पुग्न सक्छ । उपचार गराइरहेकै समयमा अस्पतालबाट बाहिर निस्केर समर्थकलाई भेटेको तथा निको नहुँँदै घर फर्किएको जस्ता विषयलाई लिएर विपक्षीले ट्रम्पको आलोचना गरिरहेका छन् । यसको पनि केही असर आगामी निर्वाचनमा देखिन सक्छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तिम एक महिनाको समय निकै महत्वपूर्ण मानिन्छ । तर, ट्रम्पलाई कोरोना संक्रमण देखिएसँगै यसअघि तय गरिएका धेरै कार्यक्रम रद्ध वा स्थगित गरिएका छन् । त्यसैले अन्तिम एक महिनामा ट्रम्पले चाहेको जसरी चुनावी अभियान पूरा नहुन सक्छ । अर्काेतर्फ ट्रम्पले संक्रमित भएपछि निको हुँदै आफ्नो अनुभव सुनाउँदै यो खासै ठूलो रोग नरहेको र यसबाट आत्तिनुपर्ने जरुरी नरहेको भन्दै यसअघिको आफ्नो अभिव्यक्तिको बचाउ गर्न सक्छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.