लगातार ३ आर्थिक वर्षदेखि भारतबाट भैरहवा नाका हुँदै चामल आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७७।७८ मा ७ अर्ब ६५ करोड २९ लाख ११ हजार रुपैयाँ मूल्य बराबरको चामल आयात भएको छ भने आर्थिक वर्ष २०७५–७६मा ८ अर्ब ८४ करोड ७६ लाख ९७ हजार रुपैयाँको र २०७६–७७ मा ८ अर्ब ४५ करोड ८५ लाख ५१ हजार रुपैयाँको चामल आयात भएको छ । चामल आयात घट्नु राम्रो कुरा हो । देशमा उत्पादन बढेर चामल आयात कम भएको भने होइन । व्यवसायीका अनुसार यो नाका हुँदै चामल आयात घट्नुमा उत्पादन बढेर होइन । भन्सार नाकामा लामो लाइन र पालो कुर्नु पर्ने कारणले आयातकर्ताले अन्य नाकाबाट ल्याइरहेको कारणले चामल आयात कम भएको हो ।
भैरहवा भन्सार नाका हुँदै आयात निर्यात झन्झटिलो, समय लाग्ने र सवारी साधनको लामो लाइन, कुर्नु पर्ने भएकाले आयातकर्ताहरुले अन्य नाका प्रयोग गर्दा आयात घटेको व्यवसायीहरुको भनाई छ । भैरहवानाकाबाट आयात कम गरी व्यवसायीले भैरहवा नजिकै कपिलवस्तुको खुनुवा र कृष्णनगर चामल आयात गरिरहेका छन् । ति नाकाहरुबाट सहज रुपमा आयात हुने भएकाले आयातकर्ताहरु त्यता लागेका हुन् । भैरहवा नाका हुँदै चामल लगायत अन्य वस्तु तथा सामान आयात गर्दा भारततर्फ लामो लाइनमा ट्रकहरु वस्नु पर्ने, जस्ले गर्दा दैनिक खर्च बढ्ने र भारतीय पुलिसले पैसा असुल्ने जस्ता कारणले अन्य सहज नाकामा आयातकर्ता गइरहेका छन् । नाका असहज हुँदा धेरै आयातकर्ताहरु अन्यत्र मोडिएका छन् । यस्ले नाका कतै खुम्चदै जाने त होइन भन्ने पनि देखाएको छ ।
कुनै बेला देशकै लाइफ लाइनका रुपमा रहेको यो नाकालाई व्यवस्थित बनाउँदै आयात–निर्यात सहज बनाउनु सबै सरोकारवालाको दायित्व हो । नाका असहज भन्दै सबै अन्यत्र नाकामा डाइभर्ट हुन थाले भैरहवा नाका खुम्चने निश्चित छ । आइसिपि निर्माण अझै हुन सकेको छैन । त्यसतर्फ पनि ध्यान जान जरुरी छ । अहिले कोरोना संक्रमण र जोखिम अझै कायम छ, त्यसैले यो बेलामा अझ सहजता बनाई सरलिकरण गरी आयात निर्यात व्यवस्थित बनाउनु पर्छ । त्यसैले छिटो भन्दा छिटो आयात–निर्यात सहज बनाउन तर्फ सबैले ध्यान दिनु जरुरी छ, नत्र आयातकर्ता धमाधम रुट परिवर्तन गर्दैै अन्यत्र मोडिए भने त्यो भैरहवाकै लागि नोक्सानी हुन्छ । पछि पछुताउनु भन्दा अहिल्यै बनाउन तर्फ लाग्दा राम्रो हुन्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.