प्रत्येक वर्ष माघ २ गतेका दिन भूकम्प सुरक्षा दिवसका रुपमा मनाइन्छ । १९९० साल माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा प्रत्येक वर्ष यही दिन विभिन्न कार्यक्रम आयोजना गरी भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । हरेक वर्ष जस्तै यस वर्ष पनि बिभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइयो । केन्द्रमा भवन बिभाग,स्थानिय तह का साथै जिल्लामा रहेका सङघीय आयोजना कार्यान्वयन इकाई कार्यालय का साथै बिभिन्न संघसस्थाहरुले भूकम्प दिवस मनाए । प्रत्येक वर्ष यो दिवसका लागि नयाँ नारा चयन गरिन्छ । यस वर्षको नारा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ रहेको थियो । नाराको अर्थ सूरक्षित संरचना निर्माण गरे भूकम्पको जोखिम र क्षतिबाट बच्न सकिन्छ भन्ने रहेको छ । अर्थात भूकम्पका कारणले नभई कमजोर संरचनाका कारण धेरै क्षति हुन्छ । कमजोर संरचना निर्माणले मानवीय तथा भौतिक क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन आम नागरिकलाई सचेतना जगाउने उद्देश्यले यस वर्ष तय गरिएको नारा सान्दर्भिक मान्नु पर्छ ।
भुकम्प सुरक्षा दिवसका दिन विगतमा आएका भूकम्पका कारण भएका क्षतिका बारेमा विश्लेषण गर्दै अब फेरी भुकम्प आइहाले कसरी सुरक्षित रहने र कसरी बच्ने उद्धारमा कसरी जुटने लगायतका विषयमा छलफल गरिन्छ । भूकम्पका विषयमा वर्षका एक दिन छलफल गरेर मात्र हुँदैन । भूकम्प भन्ने बित्तिकै संरचना निर्माणको कुरा आउछ । जबसम्म मापदण्ड अनुसारका घर तथा भवन वा कुनै पनि संरचनाहरु बन्दैनन् तबसम्म भूकम्पका बारेमा जति सुकै छलफल गरे पनि केही हुँदैन । विगतमा २०७२ बैशाख १२ गते, २०४५ साल भदौ ४ गते र १९९० माघ २ गते नेपालमा ठूला भुकम्प जाँदा ठूलो क्षति भएको थियो । त्यति बेला पनि कमजोर संरचनाका कारण बढी क्षति व्यवहोर्नु प¥यो । १९९० सालमा करिब १२ हजार, २०४५ सालमा १ हजार ९१ , २०७२ सालमा करिब ९ हजार जनाको ज्यान गएको थियो ।
प्रायः सबैको ज्यान कमजोर संरचनामा च्यापिएर नै भएको थियो । त्यसैले पनि अब सुरक्षित संरचना निर्माण तर्फ नागरिकको ध्यान दिनु जानु पर्छ । जबसम्म सुरक्षित तथा मापदण्ड अनुसारका घर भवन निर्माण हुँदैनन् तबसम्म भुकम्पले मात्र होइन कुनै पनि समय कुनै पनि कारणले घर तथा भवन ढल्ने संभावना अधिक रहन्छ । त्यसैले भूकम्पका कारण नभई कमजोर संरचना निर्माणले जोखिम निम्त्याउने हुँदा वर्षको एक दिन मात्र नभई प्रत्येक दिन सरोकारवाला निकायले सुरक्षित संरचना निर्माणका लागि पैरवी गरिरहनु पर्छ । भवन मापदण्ड अनुसार संरचना निर्माण अनिवार्य छ । यद्यपी ग्रामीण दुर्गम क्षेत्रमा अझै पनि भवन मापदण्डको कुरा छाडौं नक्सा बिनानै आफ्नो स्वइच्छाले नक्सा बनाई घर भवन बनाउने गरेको पाइन्छ । यसरी घर भवन निर्माण गर्दा जोखिम र क्षति बढी हुन्छ, यस्ता घर भवन भत्कन, ढल्न भुकम्पनै कुर्नु पर्दैन । सुरक्षित संरचना निर्माण तर्फ सबैको ध्यान जाओस् ।
Get real time update about this post categories directly on your device, subscribe now.