निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्नका लागि २०७९ जेठ ४ गतेका दिन सरकारसँग प्रस्ताव गरेको छ । कानून संशोधन नगरी स्थानीय निर्वाचन गर्न नसकिने चर्चा परिचर्चा चलिरहेको बेला आयोगले कानून संशोधन नै नगरी आउँदो जेठ ४ मा स्थानीय तहको चुनाव गर्न सकिने प्रस्ताव सरकार समक्ष राखेको छ । आयोगले ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न मंगलबार प्रस्ताव गरेको हो । आयोगको प्रस्तावसंगै सरकारलाई निर्वाचनको तिथि तोक्न नैतिक दवाब समेत परेको छ । गठबन्धन सरकारले असोज महिना अगाडि निर्वाचन नगर्ने तय गरे पछि समयमै निर्वाचन गन गठबन्धनका नेताहरु माथि दवाब परे पछि सरकारले आयोगलाई परामर्शलाई बोलाएको थियो । परामर्शमा आयोगले कानूननै संसोधन नगरी निर्वाचन गर्न सकिने र निर्वाचनकोे तिथिनै प्रस्ताव गरे पछि सरकारले अब छिटै निर्वाचनको तिथि तोक्नु पर्ने देखिएको छ । आयोगले निर्वाचनको तिथि प्रस्ताव गरेसंगै निर्वाचनको माहौल निर्माण भएको छ । अब सरकारले तिथि घोषणा गरी सबै प्रकृया अघि बढाउनु पर्छ भने आयोगले पनि बाँकी रहेका कामहरु छिटोछिटो सम्पादन गर्नु पर्छ । आयोगले यस अघि एकै चरणमा गर्ने भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ मा चुनाव गर्न प्रस्ताव गरेको थियो । तर पछिल्लो समय आयोगले एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी जेठ ४ को तिथि सरकार समक्ष प्रस्ताव गरेको छ । संविधानको धारा २१५ (६) र धारा २१६ (६) ले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्ष तोकेकाले पदावधि सकिनु अगावै चुनाव गराउनुपर्ने बाध्यता रहेको छ । स्थानीय निर्वाचन ऐन अनुसार २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ मा सकिन्छ । जनता पनि संबिधान अनुसार तोकिए कै समयमा निर्वाचन हुनु पर्नेमा जोड दिँदै आएका छन् । निर्वाचन दुई चरणमा गर्न कानून अनुसार सकिने भए पनि आयोगले खर्च, सुरक्षा लगायतका कारणले पनि एकै चरणमा गर्न उपर्युक्त हुने जनाएको छ । स्थानीय निर्वाचन व्यवस्थापनका लागि कानून बमोजिम आयोगलाई सामान्यतः १ सय २० दिन आवश्यक पर्ने भए पनि केही तयारी भइसकेकाले अबको बाँकी १ सय बढी दिनले आयोगलाई काम गर्न पुग्ने आयोगको भनाईले पनि निर्वाचनका लागि आयोग
तयारी अवस्थामा रहेको छ र अब सरकारले निर्वाचनको तिथि घोषणा गरी चुनावको वातावरण तयार गर्नु पर्दछ । सरकारले पनि आयोगले प्रस्ताव गरेकै तिथिमा निर्वाचन गर्ने घोषणा गरोस् ।
Get real time update about this post categories directly on your device, subscribe now.