सरकारी अस्पताल त्यसै त व्यवस्थापनका कारण आफै बिरामी हुने हुँदा बारम्बार चर्चामा आउने गर्छन् । पछिल्लो समयमा भने सरकारी अस्पतालहरुको सेवा स्तरीय हुन थालेको छ । यसै क्रममा बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल पनि बिभिन्न कारणले गर्दा चर्चामा आउने गरेको छ । कहिले हडताल त कहिले त्यहाँको सेवा कहिले ढिलासुस्ती त कहिले गलत उपचारका कारण चर्चामा आउने यो अस्पताल अहिले आफ्नो कारणले नभई अन्य कारणले चर्चामा आएको हो । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको क्रममा छ र बिभिन्न प्रकृयामा छ । भवन निर्माणका क्रममा टेन्डर आह्वान गर्दा आर्थिक चलखेल गरेको आरोप लुम्बिनी प्रदेशका प्रदेश पूर्वाधार प्राधिकरणलाई लागेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रिया मै करोडौंको आर्थिक चलखेल गरि निश्चित कम्पनीलाई मात्रै ठेक्का प्रक्रियामा सहभागिता हुन मिल्ने गरि टेण्डर आव्हान गरिएकोले ठेक्का रोक्न अदालतमा रिट समेत दायर भएको छ । र यही क्रममा लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात लिएर उपस्थित हुन निर्देशन दिएको छ । लेखा समितिको निर्देशन पछि यो प्रकरण अझ गंभिर भएको छ ।
समितिको बुधबार बसेको बैठकले एक साता भित्र ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात सहित प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेल आफै उपस्थित हुन निर्देशन दिइसकेको छ ।
पछिल्लो पटक सरकार परिवर्तन भएपछि गत फागुन ८ गते आव्हान गरिएको ठेक्का प्रक्रिया पनि मिलोमतोमा गरिएको र राज्यलाई एक अर्ब ४ करोड बढि नोक्सान हुने भन्दै प्राधिकरणका तत्कालिन कार्यकारी प्रमुख अनन्तराम घिमिरेले चैत १४ गते अस्पतालको टेन्डर रद्द गर्दै राजिनामा दिएका थिए ।
तर पुनः असार ९ गते आह्वान गरिएको अस्पताल भवन निर्माणको टेन्डर प्रक्रिया पनि त्यस अघिकै मिलोमतोलाई निरन्तरता दिंदै अगाडी बढाइए पछि प्राधिकरण मात्र होइन सरकारमाथी नै प्रश्न उठेको छ । अब यसको छिनोफानो र सत्यतथ्य पत्ता लगाई दोषी ठहरीए प्राधिकरण प्रमुखलाई कारबाहीको दायरामा ल्याई उक्त टेन्डर रद्ध गरी पुन नया टेन्डर आह्वान गर्नु पर्छ र यो विषयमा प्रदेश लेखासमिती खरो उत्रने छ र सही गलतको निर्णय गर्नेछ । जनताको करबाट संकलन भएको पैसाले बन्ने अस्पताल भवनमा चलखेल गर्न पाइदैन । चलखेल गर्ने जो कोही भए पनि कारवाही गर्नु पर्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.