भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व नेपाली नारीहरुले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । ऋषि पञ्चमी पर्व समाप्तिसंगै तिज पर्व पनि सकिन्छ । ऋषि पञ्चमीका दिन बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । यो एक परम्परा हो । हरितालिका तीजको व्रत एवं पूजा आजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ ।
रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको बताइन्छ ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास एवं मान्यता रहे पनि कतिथ पएले यस्लाई ढाेग भन्ने गरेका छन् । रज भनेको फोहर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ ।
आज स्नानगरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक खाई बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ । ऋषिपञ्चमीको सबैमा शुभकामना ।
Get real time update about this post categories directly on your device, subscribe now.