बुद्धजन्मस्थल लुम्बिनीमा आध्यात्मिक गतिविधि बढ्दै गए पछि त्यहाँ आउने आन्तरिक एवं बाह्य पर्यटकहरु बढ्दै गएका छन् । पर्यटक आगमन बढ्दै गएपछि कोरोना संक्रमणका कारण दुई वर्ष पूर्णरुपमा ठप्प भएको बुद्धजन्मस्थल लुम्बिनी बिस्तारै पुरानै लयमा फर्किदै गएको छ ।
गत माघ तेश्रो साता प्रख्यात भारतीय पवचनकर्ता मोरारी बापुको कार्यक्रम आयोजना हुँदा नेपाल बाहिरबाट करीब २ हजार जना त्यहाँ आएर करीब १० दिन कार्यक्रममा सहभागी भएका थिए । त्यसै गरी लुम्बिनी भित्र रहेका बिभिन्न स्वदेशी तथा बिदेशी बिहारहरुले बिभिन्न धार्मिक पूजा अनुष्ठान गर्दा देशविदेशबाट धेरै बौद्धमार्गीहरु सहभागी हुन लुम्बिनी आइरहेका छन् । एकसाता अघि एक हजार किमी पदयात्रा गर्दै एक सय भन्दा बढी कोरियन भिक्षु भिक्षुणीहरु लुम्बिनी आई धार्मिक एवम् आध्यात्मिक कार्यमा सहभागी भई फिर्ता गएका थिए ।
त्यसै गरी अहिले अखिल नेपाल भिक्खु महासंघ र थाई भिक्खु महासंघ थाईल्याण्डको आयोजनामा फागुन २७ देखि ५०० जनाको कुलपुत्र प्रवज्या कार्यक्रम लुम्बिनीमा भइरहेको छ । यो कार्यक्रम चैत्र १७ गतेसम्म चल्नेछ । यो कार्यक्रमका लागि धेरै थाई बौद्धीष्ट लुम्बिनी आएका छन् ।
लुम्बिनीमा आध्यात्मिक गतिविधि एवं कार्यक्रम भइरहँदा त्यहाँ आउने पर्यटकहरुको संख्या बढी रहेको हो । जति बढी कार्यक्रमहरु लुम्बिनीमा आयोजना हुन्छ, त्यति बढी पर्यटकहरु लुम्बिनीमा आउने गर्छन् । पर्यटक आगमन बढ्दै गए पछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । खुशीमा देखिएका उनिहरु अहिले जुन लयमा पर्यटकहरु आइरहेका छन् र कार्यक्रमहरु भइरहेका छन् यो निरन्तर भइरहे पर्यटक आवागमन बढ्दै जानेमा आशावादी देखिएका छन् । २०७६ सालको फागुन अन्तिमबाटनै कोरोना संक्रमणका कारण लुम्बिनी आउने बौद्ध धर्मावलम्बीको संख्या २ वर्ष शुन्य बराबर थियो ।
पछिल्लो समय कोरिया, थाइल्याण्ड, म्यानमार, श्रीलंकाबाट बढी पर्यटक आइरहेका छन् । अहिले दिनहुँ जसो मायादेवी मन्दिर परिसरमा चहलपहल हुन थालेको छ । बिहानदेखि साँझसम्म पूजा गर्नेको भीड छ । साझमा द्विपप्रज्ज्वलनका लागि पनि त्यहाँ धेरै पुग्ने गरेका छन् । अब लुम्बिनी विकास कोष एवम् सरोकारवाला संघसस्थाले लुम्बिनीमा आध्यात्मिक लगायतका कार्यक्रहरु बढीभन्दा बढी आयोजना गर्ने र अरुलाई कार्यक्रम गर्न आकर्षित गर्न सक्नु पर्दछ । जुन गतिमा अहिले पर्यटकहरु लुम्बिनी आइरहेका छन्, त्यसलाई निरन्तरता दिन लुम्बिनी विकास कोषले पहल गर्नु जरुरी छ ।
Get real time update about this post categories directly on your device, subscribe now.