- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
सोमवार बिहानै भैरहवा–परासी सडक खण्डको भैरहका परासी सडक खण्ड अन्तरगतको ओमसतिया गाउँपालिका वडा नम्बर ४ पननीमा ३ जनाको ज्यान लिने गरी ठक्कर दिने कार र कारचालकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवम् प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीका अनुसार दुर्घटना गराउने कार बा.८.च. ६५३२ नम्बरको टाटा इण्डिका (भिष्टा)कार फिक्का निलो रंगको रहेको र चालक रोहिणी गा.पा. वडा नं. ३ धकधईका २३ वर्षिय अजय कुमार चौधरी रहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।
कार चालक चौधरीलाई सिद्धार्थनगर वडा नम्बर ४ गल्लामण्डीबाट आज बिहान प्रहरीले नियन्त्रणमा लिएको र कारलाई सोमवार साँझ गल्लामण्डी पिप्रहीयामा त्रिपालले छोपेर राखेको अवस्थामा प्रहरीले फेला पारेको प्रहरी प्रमुख रेग्मीले बताए ।
यसरी पक्राउ परे चौधरी
घटना घटाए पछि कार चालक (मालिक समेत आफै) चौधरी सिधै भैरहवा तर्फ आए र पिप्रहीयामा कारलाई त्रिपालले छोपेर राखे, पैदलयात्रुलाई ठक्कर दिएपछि कारको अगाडीको बम्पर भागको टुक्रा, वाइपर भाचिएको टुक्रा र लुकिङ्ग ग्लास घटनास्थलमा प्रहरीले बरामद गरेको थियो । सोही सामानको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको र प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । मुख्य कुरा कारको अघिल्लो भागको लाइट माथि तारा चिन्ह भएको स्टिकर टाँसिएको थियो । यो तारानै ठक्कर दिने कार पहिचान गर्ने श्रोत बन्यो । कार चालकको धकधईमा ड्राईभिङ्ग इन्स्टिच्युट पनि रहेको छ ।
जिल्ला प्रहरी कार्यालयले दिउँसो कारको हुलिया सहित २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरी आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा सूचना जारी गर्यो । सूचनासंगै सोहि हुलिया भएको कार धकधईको कुनै व्यक्तिको हुन सक्ने सुराक प्रहरीले फेला पार्यो । प्रहरीले प्राप्त गरेको ठक्कर दिने कार चालकको नाम मार्फत फेसबुकबाट उसको हुलिया प्राप्त गर्यो । एक तस्बिरमा उनी कार अघि त्यही तारा चिन्ह देखिने गरी फोटो खिची फेसबुकमा राखेका थिए । सोहि फोटोले दुर्घटना गराउने कार र चालकको पहिचान भएको जिल्ला प्रहरी पवक्ता अर्यालले बताए । प्रहरीले घटना घटेको १२ घण्टा भित्रै कार तथा कार चालक पत्ता लगाए पनि लुकिछिपी बसेका चालकलाई मंगलबार बिहान नियन्त्रणमा लिएको थियो । १२ घण्टाको अवधिमा प्रहरीले भैरहवा–परासी खण्डमा बिहानको उपलब्ध सिसिटिभी फुटेज, बिभिन्न कार कम्पनी तथा सर्भिस सेन्टरमा पुगेर हुलिया सहितको कारको बारेमा जानकारी लिइसकेको थियो । कारको क्षतिग्रस्त टुक्रा सहितको तारा चिन्ह फेसबुकमा राखिएपछि थप सहज भयो, प्रहरी उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रेग्मीले बताए ।
अनुसन्धानको क्रममा चालकले दुर्घटना कसरी भयो भन्ने आफूलाई थाहै नभएको एक्कासी ठक्कर दिएपछि थाहा भएको र ठक्कर दिँदा आफूले केही नदेखेको बयान दिएका छन् । प्रहरीका अनुसार उनले मादक पदार्थ भने सेवन गरेका थिएनन् । चालक चौधरी छठपर्व हेर्न भनेर निस्केका थिए ।
सोमबार बिहान भएको दुर्घटनामा ओमसतिया गाउपालिका वडा नम्बर ४ पननिमा छठ पूजामा सहभागी हुन गइरहेका मध्ये कारको ठक्करबाट २ महिनाका शिशु बालक श्रीराम कुर्मी, २८ वर्षिय परमशिला कुर्मी र १४ वर्षकी सिमा कुर्मीको मृत्यु भएको थियो भने २६ वर्षिय मञ्जु कुर्मी र २४ वर्षकी बन्दना कुर्मी घाइते भएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.