श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
साहित्यकार एवं चर्चित कथाकार बनमाली निराकारले आफना दुई कृतिहरु बिमोचन गर्दै ७५ औं जन्मोत्सव मनाएका छन् । निराकारका ३ छोरीहरु आराधना शर्मा ज्ञवाली (लन्डन),अर्चना शर्मा विष्ट (भैरहवा) र आरती शर्मा (काठमाण्डौ)ले आफनो बुवाका प्रकाशन हुन बाकी रहेका २ कृतिहरु नयाँ सालिकको जन्म (लघुकथा सङ्ग्रह) तथा मान्छेका रङहरू (कविता सङ्ग्रह) प्रकाशित गरी जन्मदिनमा स्वर्णिम उपहार दिए ।
दुबै कृतिहरुको शुक्रवार एक भब्य कार्यक्रम बिच भैरहवामा बिमोचन भएको छ ।
कृति विमोचनका लागि कुनै प्रमुख अतिथी डाकिएको थिएन । छोरीहरुको प्रकाशनमा ७५ औं जन्मोत्सवको अवसरमा प्रकाशित कृतिहरु निराकारका नातिनातिनाहरु आकृति बिष्ट, सुरभी बिष्ट र कृतिक आचार्यले विमोचन गरेका थिए ।
बुवाको ७५ औं जन्मोत्सवमा बुवाका अप्रकाशित २ कृतिहरुलाई प्रकाशन गरी उपहार दिन पाउनु स्वर्णिम अवसर भएको कार्यक्रममा उपस्थित निराकारका २ छोरीहरु अर्चना र आरतीले बताए । आराधना बेलायत रहेकीले उपस्थित हुन सकीनन ।
बिमोचित कृतिहरु मध्ये नयाँ सालिकको जन्म (लघुकथा सङ्ग्रह)को युवा साहित्यकार रामचन्द्र श्रेष्ठले तथा मान्छेका रङहरू (कविता सङ्ग्रह)को डा. मुरारी पराजुलीले समालोचना गरेका थिए ।नयाँ सालिकको जन्ममा ३२ लघुकथाहरु छन भने मान्छेका रङहरूमा मसिना कविता २४ वटा, गद्य शैलीका मुक्तक कविता १६ वटा, हाइकु शैलीका कविता १८ वटा, रुवाई शैलीका मुक्तक ३५ वटा तथा लामा कविताहरु १३ वटा रहेका छन् ।
विमोचन कार्यक्रममा प्राज्ञ बुद राना, साहित्यकार कपिल लामिछाने, दुर्गा पौडयाल, भैरहवा मर्निंग वाक गु्रपका सचिब राजु नारायण श्रेष्ठ, लुम्बिनी प्रेस क्लवका सस्थापक अध्यक्ष माधव ढुंगाना, डा. गोबिन्द बल्लभ भट्ट, दिर्घराज काफले , विजय सागरलगायतले कथाकार तथा उहाका कृतिहरुका बारेमा ब्याख्यानका साथ जन्मदिनको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन साहित्यकार रुद्र ज्ञवालीले गरेका थिए । कार्यक्रमको सुरुवातमा कथाकार निराकार एवं उहाँकी धर्मपत्नी दुर्गा कुमारी शर्माले द्धिप प्रज्वलन गरी शुभारम्भ गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.