न्यूज ओके रिपोर्टर । भैरहवा
कृषि र पशुविज्ञान अध्ययन संस्थान पक्लिहवा (भैरहवा)मा कार्यरत शिक्षक तथा कर्मचारीले नेपाल बैंक लिमिटेड भैरहवाबाट विना धितो कर्जा लिन सक्ने भएका छन् । बैंकको भैरहवा शाखा र अध्ययन संस्थान बिच विना धितो कर्जा लिने दिने सम्बन्धी सम्झौता पछि कार्यरत शिक्षक र कर्मचारीले विना धितो कर्जा लिन सक्ने भएका हुन् ।
जेठ १ गते क्याम्पसमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धक विश्वराज अधिकारी र क्याम्पस प्रमुख डा. श्री राम भजन मण्डलले सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त क्याम्पस मा कार्यरत शिक्षक तथा कर्मचारीलाई क्याम्पसको सिफारिस पत्र को आधारमा बढिमा ५ वर्षको लागी अधिकतम रू १५ लाख कर्जा प्रवाह हुने सम्झौतामा उल्लेख छ ।
बैंकले शिक्षक तथा कर्मचारीको घरायसी आवश्यकता पुरा गर्न विना धितो कर्जा प्रदान गर्न लागेकोमा क्याम्पस प्रमुख मण्डलले खुसी प्रकट गरेका छन् । ग्राहकहरूको चाहना र आवश्यकतालाई लक्षित गर्ने बैंकको नीति बमोजिम यस सेवाग्राही नामको कर्जा प्रवाह गर्न सम्झौता भएको शाखा प्रबन्धक अधिकारी ले बताए ।
पक्लिहवा कृषि क्याम्पस ठुलो प्रतिष्ठान समेत रहेको र बैंकको पुरानो सेवा ग्राही हो, यहा १ सय बढी शिक्षक कर्मचारी हुनु हुन्छ, कम्तिमा ५० शिक्षक कर्मचारीले बैंकले प्रदान गरेको बिना धितो कर्जा सेवा उपभोग गरी लाभान्वित हुने हाम्रो अपेक्षा छ, बैंकका प्रबन्धक अधिकारीले भने । बैकको भैरहवा क्षेत्रमा निक्षेप तथा कर्जा ग्राही गरी करिब २५ हजार सेवाग्राही रहेको बैंकले जनाएको छ ।यो समाचार २०८१ जेष्ठ महिना ६ गतेको न्यूज ओके पत्रिकामा समेत प्रकाशित छ ।
Get real time update about this post categories directly on your device, subscribe now.