मनोरञ्जन शर्मा
भैरहवा – बढी भारवहन भारतीय ट्रक – सञ्चालनको नेपाली ट्रक व्यवसायीले विरोध गरेका छन् । गत पुस २६ गते एनएल-०१ ए एच ५१७९ नम्बरको भारतीय नम्बर प्लेटको मालवाहक ट्रकको भारले नवलपुरको विनयी नदीमाथिको पुल धसिएपछि नेपाली ट्रक व्यवसायीहरूले त्यसको विरोध गरेका हुन् ।
सडक तथा पुलको क्षमताभन्दा बढी भार बोकेको भारतीय मालवाहक गाडीका कारण पुल धसिन पुगेको दाबी गरिएको छ। सडकमा बढी भारका भारतीय ट्रक नियन्त्रण नगर्दा सडक मार्ग बिग्रेको, पुल भाँचिएको व्यवसायीहरूले बताएका छन् ।
ट्रक व्यवसायीहरूको अनुसार सडकको भारवहन क्षमताभन्दा अत्यधिक बढी भार वहन गरेका साधनहरू गुडिरहेका छन् । सोही कारण सडक र पुलमा क्षति पुगेको लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाका अध्यक्ष विष्णुप्रसाद खरेलले बताए।
नेपाली चार-पाँच वटा ट्रकले बोक्ने सामान एउटै भारतीय ट्रकले बोक्ने र यसरी बढी भार वहन गर्दा सडक पूर्वाधार बिग्रेको खरेलको भनाइ छ ।
व्यवसायीहरूले भारतीय ओभरलोड गाडीलाई जरिवाना तिराएर निर्वाध चल्न दिइएको गुनासो गरेका छन्। उनीहरूलाई जरिवाना मात्र तिराएर समस्या समाधान नहुने उनीहरूको भनाइ छ ।
सडकको क्षमताभन्दा बढी भार बोकेका भारतीय मालवाहक गाडीलाई भन्सार बिन्दुमै पल्टी गराएर नेपाली गाडीमा सामान ढुवानी गराउन सके मात्रै समस्या समाधान हुने अध्यक्ष खरेलको तर्क छ।
ओभरलोड भारतीय सवारीसाधनहरू सञ्चालन गर्नाले नेपाली यातायात व्यवसायीलाई गम्भीर असर परेको तथा ती सवारी साधनहरूले सडक पूर्वाधार बिगार्नुको साथै नेपाली ट्रक व्यवसायीहरूको पेसासमेत संकटमा परेको पश्चिमाञ्चल यातायात व्यवसायी समीति बुटवलका अध्यक्ष टीकाराम गौतमले बताए ।
‘भारतीय ओभरलोड गाडीका कारण नेपाली व्यवसायी धराशायी भएका छन्, भारतीय गाडीलाई भन्सार बिन्दुमै रोकेर ती सामान सामान नेपाली गाडीले बोक्नुपर्छ’ उनले भने । बुटवल-नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल भारतीय ट्रकको ओभरलोडकै कारण भाँचिएको दावी गर्दै नेपाली व्यवसायीहरूले ओभरलोड भारतीय गाडी चल्न रोक लगाउनुपर्ने माग गरिरहेका छन् । ट्राफिक प्रहरीले जरिवाना तिराएर मात्र समस्याको समाधान नहुने व्यवसायीको भनाइ छ । संघका महासचिव रुमाखर गौतमले भारतीय ओभरलोड मालवाहक सवारी साधनका कारण नेपाली ट्रक यातायात व्यवसायी धराशायी भएको बताए।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखेलले पटक पटक सीमा नाकामा पुगेर कालो ब्यानरसहित ओभरलोड भारतीय गाडी विरुद्ध अभियानमा उत्रिए पनि कही कतैबाट सुनुवाइ नभएको बताए।
सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नेपाली सडकको बनावट र भारवहन क्षमता ४० टन मात्र रहेको छ।
Get real time update about this post categories directly on your device, subscribe now.