भैरहवामा धम्मयात्रा आयोजना
मनोरञ्जन शर्मा
भैरहवा –बोधगयामा ज्ञानप्राप्ति गरिसकेपछि पहिलो पटक गौतमबुद्ध घर फर्किएको सिद्धार्थनगरको (भैरहवा) बाटोमा धम्मयात्रा आयोजना भएको छ । सिद्धार्थ गौतमले कपिलवस्तु तिलौराकोट स्थित राजदरबारको पूर्वीगेटबाट गृहत्याग गर्दै लुम्बिनी, भैरहवा,रोहीणीको बाटो हुदै बोधगयामा ज्ञानप्राप्तिका लागी गएको र ज्ञानप्राप्ति भैसकेपछि घर फिर्ता आउँदा यहीबाटो भई आएको स्मरण गर्दे श्रामणेर अल्पकालीन भिक्षु भएकाहरू ५ सय जनाले शनिबार भैरहवामा बुद्धको अस्तुधातु सहितको धम्मयात्रा गरेका हुन्।
धम्मयात्रामा लुम्बिनी स्थित मायादेवी मन्दिरमा फागुन २० गते पहेलो चिवर ग्रहण गरी बुद्ध शिक्षाबाट प्रवजित भएका ५ सय जना अल्पकालीन भिक्षुहरू सँगै हजारौं सहभागी थिए । थाइल्याण्डको धम्मकाय फाउण्डेसन, थाई भिक्षु महासङ्घ, लुम्बिनी विकास कोष तथा बौद्ध समाज नेपालको आयोजनामा स्थानीयहरुको सहभागितामा लुम्बिनी प्रवेशद्वारमा धम्मयात्राको टोलीलाई स्वागत गरिएको हो ।
भैरहवा स्थित सिद्धार्थ रंगशालादेखि बुद्धचौकको लुम्बिनीगेटसम्म पैदल आएका भिक्षु तथा अल्पकालिन भिक्षुहरूलाई लुम्बिनीगेटमा पुष्पअर्पण गरि स्वागत गरिएको थियो । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि भैरहवा हुँदै गृहनगर कपिलवस्तु गएको स्मरण गर्दै बुद्धको उपदेश विश्वभर फैलाउन गत वर्षदेखि भैरहवामा धम्मयात्राको थालनी गरिएको हो ।
अल्पकालिन भिक्षुहरू चैतको गर्मिमा खाली खुट्टा धम्मयात्रामा सहभागी थिए । उनीहरू डिहनेबाटोमा पुष्पद्धारा स्वागत गरिएको थियो । धम्मयात्रा कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले भगवान बुद्धले प्राप्त गरेपछि सिद्धार्थनगर भैरहवा हुँदै लुम्बिनी, कपिलवस्तु आएको बताउँदै बुद्धधर्मको सङ्घ पनि यसक्षेत्रका मानिसहरूको सहभागिताबाट शुरु भएको बताए । उनले बुद्धका उपदेशहरू मानव कल्याण, शान्ति र सदभावको प्रतीक भएको बताउँदै श्रामणेर भएकाहरूको धम्मयात्राले बुद्धका सन्देशलाई फैलाउने विश्वास व्यक्त गरे ।
संविधान सभा सभा सदस्य एवं सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमदखानले बुद्धत्व प्राप्त गरेपछि रूपन्देहीको सिद्धार्थनगर हुँदै गृहनगर कपिलवस्तु फर्केको बताउँदै त्यसलाई सम्झँदै धम्मयात्रा गरिनु आफैमा महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा समेत धम्मयात्रालाई अझ ठूलो सङ्ख्यामा गर्नका लागि स्थानीय सरकारको तर्फबाट सहयोग हुने बताए ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुद्धले राजपरिवारको सुखसयल त्यागेर बुद्धत्व प्राप्त गरेको स्मरण गर्दै धम्मयात्राले त्यही सन्देश दिएको बताए । उनले भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्नो भूमि फर्कदा रूपन्देहीको सिद्धार्थनगर हुँदै फर्केको इतिहासलाई धम्मयात्राले फेरी स्मरण गराएको बताए ।
लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले धम्मयात्राले लुम्बिनी बभगवान बुद्धको जन्मस्थल मात्रै नभई विश्वशान्तिको उदगम थलो भएको सन्देश दिने काम गरेको बताए । उनले लुम्बिनीलाई मन्त्र, ध्यानमा मात्रै सिमित नराखी बुद्धका उपदेश, लुम्बिनीको महत्वलाई विश्व समुदायमाझ पु¥याउन लाग्नुपर्नेमा जोड दिए । धम्मयात्रामा धम्मकायाका सल्लाहकार डा. आदिसक, थाईल्याण्ड तथा नेपालका भिक्षु, भिक्षुणी, लामा, उपासक उपासिकाहरुको सहभागिता रहेको थियो ।
भैरहवामा दोस्रो पटक गरिएको धम्मयात्राले बुद्धका उपदेशहरुलाई फैलाउन र विश्वशान्तिका लागि बुद्धनगरी लुम्बिनीबाट सकरात्मक सन्देश दिन सफल भएको बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाले बताए । धम्मयात्रामा सहभागी अल्पकालीन भिक्षुहरुले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ । बुद्धका सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भएपनि अल्पकालीन भिक्षुले फागुन १६ गतेदेखि कपाल मुन्डन गरी आफूलाई पूर्ण रुपमा बौद्ध नियममा रुपान्तरण गरेका थिए । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.