श्रीन्यूज ओके रिपोर्टर
भैरहवा–रेविजको प्रकोप न्यूनिकरण र छाडा कुकुरको सङ्ख्या कम गर्न सिद्धार्थनगर नगरपालिकाले कुकुरको बन्ध्याकरण शिविर सुरु गरेको छ । बुधवार देखी एकहप्ता सम्म भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवामा ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ संचालन सुरु भएको हो ।
छाडा कुकुर बन्ध्याकरणका लागि सन् २०१० देखि नेपालमा काम गर्दै आएको संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रूपन्देहीको सयुक्त आयोजनामा उक्त शिविर संचालन गरिएको हो । नगर क्षेत्रमा देखा परेका भाले र पोथी छाडा कुकुरलाई नियन्त्रणमा लिई गाडीबाट शिविर स्थलमा ल्याई लठ्याएर बन्ध्याकरण गरिनुको साथै एक वर्षसम्मका लागि हुने गरि रेबिजको भ्याक्सिन (खोप) लगाइदिएपछि कुुकरलाई यथास्थानमै छाडिदिने गरिएको छ ।
बन्ध्याकरण गरिएको र एक वर्षका लागि रेबिज भ्याक्सिन लगाइएको जानकारीका लागि कुकुरको देब्रे कानमा यु आकारले चिरेर सङ्केत दिने गरिएको हिमालयन एनिमल रेस्क्यु ट्रष्टका संस्थापक तथा संचालक खगेश्वर भट्टराईले बताए । उनले शिविर अवधिमा धेरै भन्दा धेरै कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको जनाएका छन् ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानले नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेविज भ्याक्सिन कार्यक्रमलाई प्रत्येक बर्स निरन्तर सञ्चालन गरिएको र यसले बजारमा छाडा कुकुर धेरै कम हुदै गएको बताए । सन् २०३० सम्ममा विश्वबाट रेबिज उन्मूलन गर्ने अभियान संचालन छ ।
पशु कल्याण निर्देशिका २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेको छ । ‘सङ्ख्यामा वृद्धि नहुने गरी कुकुर सबै कुकुर व्यवस्थापन गर्ने हाम्रो उद्देश्य हो’, नगर प्रमुख खाँले भने, ‘यस्ता शिविर संचालन गरेर बन्ध्याकरण गरेमा सङ्ख्या वृद्धि हुँदैन । खोप पनि लगाइने भएकाले रेबिजको जोखिम पनि कम हुन्छ ।’ उनले आफ्ना टोल छिमेकमा बन्ध्याकरण नगरिएका कुकुर भएमा नगरपालिकालाई खवर गरी बन्ध्याकरण अभियानलाई सफल बनाउन समेत उनले नगरवासीलाई आग्रह गरे । छाडा कुकुरको सङ्ख्या कम गरि रेबिजको प्रकोप न्यूनिकरण गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्ष दोस्रो पटक आयोजना गरेको हो ।
( यो समाचार २०८२ बैशाख ४ गते बिहीबारको न्यूज ओके साप्ताहिकमा पनि प्रकाशित छ ।)
Get real time update about this post categories directly on your device, subscribe now.