बिरेन्द्र ज्ञवाली (५१) विगत २ दशक देखि खाद्यान्न व्यवसायमा संलग्न छन् । सिद्धार्थनगर वडा नम्बर ४ उद्योगपुरी गल्लामण्डीमा ज्ञवालीको पञ्चकन्या खाद्य भण्डार नामको प्रतिष्ठान रहेको छ र यहीबाट उनले खाद्यान्नको थोक तथा फुटकर बिक्री बितरण गर्दै आएका छन् । यो व्यवसाय गर्नु अघि खाद्यान्न सम्बन्धी बजारीकरण लगायतका काममा दक्षता हासिल पश्चात मात्र उनी व्यवसायमा सलग्न भएको बताउँछन् । ज्ञवाली सँग न्यूज ओकेले गरेको ‘मेरो व्यवसाय’ स्तम्भमा ज्ञवाली सँगका कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौ ।
कुन व्यवसायमा आबद्ध हुनुहुन्छ ?
उपभोग्य खाद्य सामाग्री को खरीद बिक्री व्यवसाय गर्दछु। विगत २ दशक भन्दा बढी समय देखि यही व्यवसायमा आबद्ध छु ।
कति वर्ष देखि व्यवसाय मा हुनुहुन्छ ?
म खाद्यान्न व्यवसायमा २०५५ सालदेखि आबद्ध छु। सुरुमा एक खाद्यान्न व्यवसायी प्रतिष्ठान मा बजार व्यवस्थापक कर्मचारीको रुपमा काम सुरु गरेको थिएँ, खाद्यान्न व्यवसायमा थप ज्ञानार्जन गरेपछि आफ्नो स्वयंको व्यवसाय २०६० सालदेखि पञ्चकन्या खाद्य भण्डार को नामबाट सुरु गरेको हो तथा अद्यावधिक संचालन गरिरहेको यही मेरो व्यवसाय हो र यही कर्म हो ।
के के बिक्री गर्नुहुन्छ ?
मेरो प्रतिष्ठानबाट पसलमा चामल, गहुँ, मकै, चोकर, राईस ब्राण्ड, उच्चतम् प्रकारको बासमती चामल लगायतका गुणस्तरीय खाद्यपदार्थ बिक्री बितरण गर्दै आइरहेको छु ।
उपभोक्ता ग्राहक कहाँ कहाँ का छन ?
मेरो ग्राहक स्थानीय सँगै नेपालको कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, तथा गण्डकी प्रदेश क्षेत्रका छन् भने खरीद मधेश प्रदेश, लुम्बिनी प्रदेश र भारतका बिभिन्न ठाउँबाट गरिन्छ
विगत र वर्तमान मा व्यवसाय को अवस्था कस्तो रहेको छ ?
विगतमा व्यवसाय मा इमान्दारिता रहेको थियो र सानो परिमाणमा व्यवसाय भएपनि इमान्दारिता र सदभावना साहु र आसामी को बीचमा रहेको थियो तर वर्तमानमा साहु नै आसामी भइदिएको भान हुन्छ, व्यवसायी बर्ग बढ्दो क्रम मा छ तर विक्रि घट्दो क्रममा रहेको छ। आज व्यवसायी हरूमा इमान्दारिता क्षीण भएको र आपसमा नै बजार तलमाथि पार्ने प्रवृत्तिको विकास भइरहेको छ जसले गर्दा परोक्ष रुपमा व्यवसायी लाई नै हानी गरेको छ, चेकबाट भुक्तानी हुन सकेको छैन, जसले गर्दा जाली फटाहा व्यवसायी को बिगबिगी देखिएको छ, बजार भन्दा नसाटिएको चेक लिई व्यवसायी हरू अदालतमा धाउँदै गरेको देख्दा व्यवसाय विकराल रुपमा खस्किदै गरेको स्वतः अनुभूति गराउँछ।
व्यापार खस्कनु को कारण के होला ?
हामीहरू व्यवसायी हरू पुरानै ढर्रामा कायमै रहेका छौं, र नयाँ पन गर्न चाहदैनौं कारण के भने सरकारी नीति र व्यवसायी लाई कर तिराउने बाहेक अरु केही उपाय नदिने सरकारी तन्त्र । स्मरण रहोस कि बैंक ले अचाक्ली ब्याज प्रवाह गर्दापनि सरकारको मौनता ।नेपालमा खाद्यपदार्थ हुदाहुदै पनि आयात को गार्हो नियम व्यवस्था । जाली फटाहा व्यवसायी को बिगबिगी ले गर्दा भुक्तानी को माध्यम चेकबाट हुने भएपनि चेक नसाटिएर अदालत समेत धाउनुपर्ने झन्झटिलो अवस्था । करको दायरा फराकिलो भन्ने नाउँमा विभिन्न किसिमको व्यापारी लाई गरिने भेदभाव । ग्राहक वर्ग को बिचमा विश्वास को खडेरी । उधारो दिनुपर्ने मा चेक भन्दा अधिक विश्वासिलो अरु के हुन सक्ला र तर त्यसमा पनि चेक दिएर नसाटिए पनि सम्बधित ग्राहक आराम सँग अदालतको फैसला २, ३ वर्ष सम्म पनि नआउने र असूलउपर गर्नै गार्हो भएको अवस्था । विभिन्न माध्यमबाट समाचार आईरहेको कि भारतमा समान किन केही सामान्य खर्च देऊ तिम्रो घरमा सामान आईपुग्ने छ जस्तो व्यापारी लाई हतोत्साहित बनाउने अनौठा तर सत्य खबरहरु, यसकारण पनि व्यापार व्यवसाय खस्केको अनुभूतिको म महशुस गरिरहेको छु ।
व्यवसाय सुधार्न व्यवसायी वर्ग र राज्य ले के के गर्नुपर्ला?
व्यवसायी को अभिभावक भनेको नै व्यवसायिक संस्थाहरु र राज्य नै हो। व्यवसायीक संघसंस्था ले कहिलेकाहीं ज्ञापन बुझाएर फेसबुकमा पोष्ट गर्नु बाहेक केही गरेको देखिदैन, व्यापारीको हकहितको संरक्षण गर्न ज्ञापन दिएर मात्र पुग्दैन, काम कारवाही भयो कि भएन भएदेखि कहिले हुन्छ यसको उत्तर संबंधित निकायले दिनुपर्छ र ज्ञापन दिनेले खोज्नुपर्ने हुन्छ। अहिले को अवस्था मा राज्यले देशमा कुन कुन वस्तु अद्यावधि छन् र कुन कुन वस्तु बजारमा छैन त्यसको प्रमाणीक लेखाजोखा राख्नुपर्छ र अभाव भएको वस्तुको आयात सरल नियमानुसार गर्नुपर्ने देखिएको छ। किनभने विभिन्न किसिमका सामानको आयातमा लागेको विभिन्न किसिमका असजिलो नियमहरू लाई खारेज गरी सरल नियम बनाउनुपर्ने हुन्छ।
बैंक ले लिने ब्याज दर पनि सरकारले निती बनाएर एकीकृत एउटै र सरल नियमानुसार गर्नुपर्ने देखिएको छ। व्यवसायी लाई जाली फटाहा हरु बाट जोगाउन चेक दिएर पनि रकम भुक्तानी नगर्नेलाई फास्ट ट्रयाक मा फैसला सुनाई असूलउपर गर्ने कडा खालको नियम बनाउनुपर्ने हुन्छ तथा बजारलाई एक प्रकारको स्थान तोकी बजार क्षेत्र र बसोबास क्षेत्र अलग अलग बनाउनुपर्ने निर्देशिका तयार गर्नुपर्दछ। भंसार मा कडाई हुनुपर्छ, कसैको पसलमा राखिएको समान लाई अबैध भनेर कार्यवाही गर्न बन्दहुनुपर्छ। व्यवसायी हरमा कर तिर्न बाध्य बनाउनु भन्दा सचेतना मूलक भूमीका खेल्नुपर्ने दायित्व राज्य ले गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ।
(न्यूज ओके साप्ताहिकको २०८२ बैशाख११ गते बिहीबारको अंकमा प्रकाशित मेरो व्यवसाय स्तम्भ समाचार)
Get real time update about this post categories directly on your device, subscribe now.