श्री न्यूज ओके रिपोर्टर
भैरहवा
कोरोना भाइरसको संक्रमणले कुन्ठिएका मनहरु दशैं तिहार जस्ता पर्वको समयमा उत्साहित बनेका छन् । दशैं पछिको दोश्रो ठूलो पर्व तिहारको उत्साह अहिले छाएको छ । कोरोना जोखिमको बाबजुद नेपालीहरुले दशैं पर्व घरमै बसेर भए पनि धुमधामका साथ मनाए । दशैंको समयमा बजार चलायमान भएको थियो । त्यसै गरी तिहारमा पनि धेरै उत्साह देखिएको छ । बजारमा खरिदारी गर्नेहरुको भिड बढेको छ ।
तिहार सुरू भएसंगै व्यापारिक चहलपहल पनि बढेको छ । भैरहवा, बुटवल, देबदह, मणिग्राम, कोटिहवा, भलवारी, धकधई, सालझण्डी, सैनामैना, लुम्बिनी लगायतका स्थानहरूका व्यापारीक क्षेत्रमा चहलपहल बढेको छ भने ग्राहकहरूको उपस्थिति बाक्लो छ । शुक्रबार धनतेरसका सदन नयाँ–नयाँ भाडा खरिद गर्नेहरुको भिड बजारमा थियो ।
रेडियो एफएम, टेलिभिजनबाट तिहारका देउसी भैलो लगायतका शुभकामना सहितका गीतहरू घन्किँदा तिहारको रौनक झनै बढेको छ । बजार मात्र नभई ग्रामीण क्षेत्र पनि बिजुली बत्तीले झिलिमिली भएका छन् । जताततै उज्यालो छाएको छ । बजारहरूमा सप्तरंगी टिका, बिजुलिबत्ती, भाइ मसला, माटाका भाडा पाला, झिनिया रोटी, फुलमाला मिठाई खरिद बिक्रीको क्रम बढेको सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव नेत्र आचार्र्यले बताए ।
तिहारका सामग्रीहरू पाइने भैरहवाको मिलनचोक, मैत्रीपथ, नारायणस्थान सानु डिपार्टमेन्ट चोकमा ग्राहकहरूको चहलपहल बढ्दै गएको छ । बुटवलको अमरपथ क्षेत्रमा पनि ग्राहकहरूको भिड दिनहुँ बढेको छ । त्यहाँ बिगतमा अमरपथ दिपावली महोत्सव आयोजना हुने गरेकोमा अहिले कोरोना भाइरसका कारण आयोजना भएन । कोरोना संक्रमण जोखिमको बाबजुद तिहारको माहोल अझ बढी तातेको बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजूँले बताए । अहिले बिगतमा भन्दा बजार व्यबसायमा बिक्री पनि राम्रो भएको कसजूले जनाए ।
अन्य समय भन्दा दशंै तिहारमा ब्यापार बढ्ने भएकाले ग्राहकहरूलाई आकर्षित गर्न ब्यबसायीहरूले आफ्ना प्रतिष्ठान, पसलहरू सजिसजाउ गरी नयाँ—नयाँ सामान राख्ने गर्दछन् । अरू बेलाभन्दा ग्राहकहरू धेरैनै खरिदारी गर्न आउने भएकोले कारोबार समेत बढेको सानु डिपार्टमेन्टल स्टोर भैरहवाका प्रबन्ध निर्देशक सानु शर्माले बताए । भाटभटेनीदेखि अन्य साना ठूला व्यवसाकिय स्टोरमा मानिसहरु खरिदारी गर्न पुगेका छन् ।
तिहारको लागी मुख्य रूपमा घ्यु, पिठो, विद्युतीय सामग्रीहरू (झालर), भाई मसला, मैनबत्ती, सप्तरंगी टीका, ढाका टोपी, फुलमाला लगायतको कारोबार बढी हुन्छ ।
भाइटीकामा पूजा पश्चात दिदीबहिनीहरूले दाजुभाइलाई उपहारका रूपमा दिने भाइमसलाको व्यापार पनि अहिले बढेको छ । भाइमसलाको मूल्य गतवर्ष भन्दा बढी छ । तिहारमा भाई टीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि मसाला दिने प्रचलन रही आएको छ । अन्य समयमा भन्दा भाई मसाला बढी बिक्री हुने गरेको व्यवसायिक सुजन पाण्डेले बताए ।
काजु, किसमिस, मोनक्का, ओखर, नरिवललगायतका सामग्रीहरु सबै भारतबाट आउने गरेका छन् , केही ड्राई फुडहरु तेश्रो मुलुकबाट समेत आउने गरेको छ ।
यस्ता भाइमसलाका प्याकेटहरू बजारमा तयारी अवस्थामा किन्न पाइन्छ भने कोहिले घरमै ल्याएर प्याकेट बनाउने गर्दछन् । भाइ मसलामा प्रयोग हुने सबै चलन छ । भाइमसालाको व्यापार भाईटिकाको दिनसम्मै हुने गर्दछ ।
सामान्य किराना पसल देखि ठूला डिपार्टमेन्टल स्टोरसम्म भाइमसालाहरू उपलब्ध हुने गरेका छन् । बजारमा ३० रूपैयाँदेखि २ हजार रूपैयाँसम्मको भाइमसाला उपलब्ध छन् । भाइमसालाका प्याकेटमा काजु, किसमिस, ओखर, चकलेट, सुपारी, नरिवल, मखन लगायत राखिन्छ ।
सयपत्री फूलको माला : तिहारको समयमा सयपत्री फुलको ब्यापार अधिक हुने गर्दछ । लक्ष्मीपुजाको दिनदेखि भाइटिकाको दिनसम्म अत्यधिक फुलमाला बिक्री हुने व्यवसायीहरूले बताउछन् । अन्य समय ५०/६० रूपैयाँ पर्ने सयपत्रि फुलको माला लक्ष्मी पूजाको दिन २ सय ५० रूपैयासम्म बिक्री हुने गरेको पाइन्छ । गत वर्ष देखि भैरहवा क्षेत्र र रुपन्देहीका अन्य क्षेत्रमा सयपत्रि फुल उत्पादन हुन थालेको छ । भैरहवाका युवा कृषी उद्यमी आशा गुरुङ्गले यसपटक १० हजार माला बिक्री गर्ने लक्ष्य लिएको बताए ।
त्यस्तै गरी प्लास्टिकका फुलको मालाहरूको बिक्री पनि अत्यधिक बढेको ब्यबसायी शम्भुनाथ केशरीले बताए । १० रूपैयाँ देखि १ हजार रूपैयाँसम्मको प्लास्टिकका फुलमालाहरू बिक्रीका लागी छन्, शंभुनाथले भने ।
विद्युतीय झलर : तिहारमा अन्य सामग्रीसंगै बिद्युतीय सामग्रीहरूको बिक्री पनि अत्यधिक बढेको छ । उज्यालो पर्वका रूपमा रहेकाले प्रयोग हुने विद्युतीय झलरको कारोबार पनि बढेको छ । उज्लो पर्वका रूपमा रहेको तिहारमा सबैले आफनो घर तथा प्रतिष्ठानमा बिजुली सामग्री मार्फत घर उज्यालो बनाउने क्रम बढेकाले बिद्युतिय सामग्रीहरूको बिक्री पनि अन्य समय भन्दा धेरै बढेको छ । ५०÷६० रूपैयाका सामान्य देखि हजारौ मुल्य सम्मका झल्लरहरू बिभिन्न प्रकारका पाईन्छन् ।
मैनबत्ति बढी पाला कम : झालर बत्तिको माग बढेसंगै अहिले मैनबत्ति र पालामा बत्ति बाल्ने क्रम कम भएको छ । त पनि पालाको भन्दा मैनबत्तिको बिक्री बढी रहेको व्यवसायीहरूको भनाई छ ।
सप्तरंगी टिका र ढाका टोपी : भाई टिकाका दिन दिदिबहिनीहरूले सप्तरंगी टिका लगाइदिने प्रचलन छ । सात रंगको आ–आफ्नै बिशेषता र महत्व छ । सप्तरंगी टिकाको बिक्री पनि अहिले धेरै नै छ । अन्य बेला सामान्य बिक्री हुने रङको कारोबार अहिले दोब्बर भएको व्यवसायीहरू बताउँछन् । बिगतका समयमा टिका पछि ढाकाको टोपी लगाइदिने प्रचलन थियो । तर अहिले ढाका टोपी निकै कमले प्रयोग गर्छन् । ढाका टोपी पनि केही बिक्री हुने गरेको छ । ढाका टोपीसंगै अन्य फेन्सी कपडाहरू टिशर्ट, जिन्स पाइन्ट लगायतका सामाग्री उपहार दिने गरिन्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.