नेपाली उद्योगी–व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा आगामी मंसिर महिनाको ११, १२ र १३ गते काठमाडौँमा हुँदैछ । सो साधारणसभाबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन हुँदैछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ र अहिले वरिष्ठ उपाध्यक्ष लगायत उपाध्यक्ष ३ पद तथा जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फ केन्द्रीय सदस्यको निर्वाचन हुँदैछ । भैरहवा क्षेत्रबाट २ व्यक्तीले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ र पुर्व सदस्य राजेशकुमार अग्रवालले क्रमश जिल्ला नगर र एशोसियट तर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् । उम्मेदवार द्धय संग न्यूजओकेले उम्मेदवारी केका लागि भन्ने बिषयमा केन्द्रित रहि गरेको कुराकानीको अंश ।
- राजेशकुमार अग्रवाल
सदस्यका उम्मेदवार (एसोसिएट)
म विगत दुई दशकभन्दा लामो समयदेखि भैरहवा क्षेत्रलाई आधार बनाई अर्घाखाँची सिमेन्ट उद्योग, श्री स्टिल, एक्सन पोलिमोरको मिलानो सुज, सिद्धार्थ पेट प्लास्ट, सिद्धार्थ आयल लगायतका उद्योग–व्यवसायमा संलग्न छु ।
उद्योग–व्यवसायको सुरुवातदेखि नै म सिद्धार्थ उद्योग वाणिज्य संघको सदस्य तथा कार्य समितिमा सदस्य हुँदै अहिले उद्योग वाणिज्य महासंघ नेपालको वर्तमान कार्य समितिमा एसोसिएटतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित सदस्य हुँ र अहिले दोस्रो पटक यसै पदमा उम्मेदवारी दर्ता गराएको छु । म जहिले पनि उद्योग–व्यवसायको हकहितका लागि अघि बढ्दै आएको छु र अहिले मेरो उम्मेदवारी पनि उद्योग–व्यवसायको हकहितका लागि नै हो । म केन्द्रीय सदस्य हुँदा सीमाक्षेत्र विशेषगरी तराई–मधेसमा उद्योग स्थापना, सञ्चालन र व्यवस्थापनमा देखिएका चुनौती, समस्या, पहल र समाधानका लागि महासंघ केन्द्र र केन्द्रमार्फत सरकारमा पुर्याउँदै आएको र आफू जिल्लाका समस्याहरूलाई महासंघ केन्द्रमार्फत सरकारसँग पुर्याउने सेतुका रूपमा रहँदै उद्योग–व्यवसाय प्रवद्र्धन गर्न उम्मेदवारी दिएको छु । नेपालका प्रायः ठूला उद्योग–व्यवसाय तराई–मधेसमा छन् र तराई–मधेसमा उद्योग सञ्चालन लगायतमा आउने समस्या यहीं बसेर उद्योग–व्यवसाय गर्नेलाई जानकार हुन्छ, काठमाडांैमा बस्नेलाई कम थाहा हुन्छ, त्यसैले पनि यस तराई–मधेसका ठूला क्षेत्र भैरहवा, विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका क्षेत्रमा रहेका उद्योग–व्यवसायका समस्याहरू केन्द्रसम्म वास्तविक रूपमा पु¥याउन पनि यहाँको प्रतिनिधित्व हुनुपर्छ भन्ने धारणा राख्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ । विगतको तराई–मधेस आन्दोलनका बेला होस् या वर्तमान कोभिड–१९ संक्रमणको जोखिमका बेला होस्, भारत तथा तेस्रो मुलुकबाट कच्चा तथा तयारी सामान आयात गर्दा भएका कठिनाइ, ढुवानीमा हुने समस्या, भन्सारमा हुने ढिलासुस्तीजस्ता समस्या समाधानका लागि स्थानीयस्तरमा भए यहींबाट समस्या समाधान गर्न र केन्द्रबाट हुने भए महासंघमा तत्काल खबर गरी समाधानका लागि सहजीकरणलगायतका काममा खट्दै साना–ठूला उद्योग–व्यवसाय जसरी हुन्छ, सञ्चालन गरी देशमा उपभोग्य तथा आवश्यक वस्तु आपूर्तिलाई सहज बनाउने काम गरिरहेको छु । तराई–मधेसमा अझै समस्या र चुनौतीहरू छन् । विद्युत्देखि एकीकृत भन्सार, कच्चा सामग्री आयातमा ढुवानी समस्या उस्तै छन् । ती समस्या निराकरणका लागि पहल गर्न उम्मेदवारी हो मेरो ।
तराई–मधेस क्षेत्रमा उद्योग–व्यवसाय सञ्चालन, व्यवस्थापनमा आउने समस्याहरू केन्द्रसम्म पुर्याई सहज ढंगले औद्योगिक व्यावसायिक वातावरण बनाउन जिल्ला र केन्द्रको सेतु (पुल) को रूपमा काम गरिरहनका लागि लुम्बिनी प्रदेशका तर्फबाट उम्मेदवारी हो । अहिले कोभिडले आक्रान्त पारेको उद्योग–व्यवसायलाई अघि बढाउन के–कसरी सकिन्छ त्यसतर्फ आवश्यक कामका लागि पनि मेरो उम्मेदवारी हो । मेरो उम्मेदवारी विशुद्ध व्यावसायिक हकहितका लागि हो । महासंघ विशुद्ध व्यावसायिक संस्था हुनुपर्छ र राजनीति हाबी हुनु हुँदैन भन्ने मेरो धारणा हो । व्यावसायिक संस्था विशुद्ध व्यावसायिक हुनुपर्छ र त्यहाँ राजनीति हाबी हुँदा वास्तविक व्यवसायीहरूको समस्या सुनुवाइ हुँदैन र त्यो वातावरण बन्नु हुँदैन । सबै व्यवसायी एकजुट भई एकताबद्ध ढंगले अघि बढ्नुपर्छ र एकताबद्ध बनाई अघि बढ्न पनि मेरो प्रयास सदैव रहनेछ ।
- महेन्द्रकुमार श्रेष्ठ
केन्द्रीय सदस्यका उम्मेदवार,(जिल्ला–नगर)
म सिद्धार्थ उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष र उद्योग वाणिज्य महासंघमा एक कार्यकाल सदस्य निर्वाचित भई काम गरिसकेको छु । जिल्लाको अध्यक्ष हुँदा होस् या केन्द्रमा हुँदा होस्, व्यावसायिक हकहितका लागि जहिले पनि लागिपरेको छु । अहिले मेरो उम्मेदवारी पनि उद्योग व्यवसाय प्रवद्र्धन र हकहितका लागि नै हो । २०७२ सालको भूकम्पले तहसनहस भएको समय होस् या त्यही वर्ष भएको तराई–मधेस आन्दोलन वा भारतको अघोषित नाकाबन्दीका समयमा, उद्योग–व्यवसाय सञ्चालन र नाकामा भएका अवरोध हटाउन पहलका साथै आन्दोलनमा रहेका मधेसवादी दलहरूलाई एकै स्थान भैरहवामा ल्याई उद्योग वाणिज्य महासंघको केन्द्रीय नेतृत्वसँग वार्ता गराई उद्योग–व्यवसाय सञ्चालनमा सहजता ल्याउन भूमिका खेलेको छु । त्यसैकारण पनि म जहिले पनि व्यावसायिक हकहितमा लागिपर्ने व्यक्ति भएको र केन्द्रमा आफ्नो खाँचो देशैभरका उद्योगी–व्यवसायीले गरेको महसुस गरी अहिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । जिल्ला नगरका समस्या र चुनौतीहरू केन्द्रसम्म पुर्याउन एउटा माध्यम पनि आवश्यक भएको र केन्द्रमा काठमाडांै उपत्यकाबाहेक मोफसलबाट बढीभन्दा बढी प्रतिनिधित्व हुनुपर्छ र यसो भएमा केन्द्रीय समिति अझै बलियो हुने र जिल्ला नगरको समस्या केन्द्रमा समेत पुग्न सक्छ । त्यसैले व्यावसायिक हकहितका लागि र जिल्लाको समस्या केन्द्रसम्म पु¥याई समाधानका लागि पहल गर्न पनि केन्द्रीय समितिमा उपस्थिति आवश्यक पर्छ । त्यसैकारणले मैले उम्मेदवारी दिएको छु । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा र देशकै मुख्य आर्थिक केन्द्रका रूपमा भैरहवा क्षेत्र विस्तार हुँदै गइरहेको र यहाँबाट केन्द्रमा एक प्रतिनिधिसमेत आवश्यक देखिएको महसुस गरी उम्मेदवारी दिएको हुँ । मेरो उम्मेदवारी व्यावसायिक एकता, जिल्लाका समस्या केन्द्रमा पु¥याई समाधानमा पहललगायतका लागि नै हो ।
Get real time update about this post categories directly on your device, subscribe now.