श्री न्यूज ओके रिपोर्टर
भैरहवा ।
भैरहवाका युवा एवम् कृषि उद्यमी आशा गुरुङ्गले आफ्नो लुम्बिनी आर्गेनिक फर्म एण्ड रिसर्च सेन्टर सिद्धार्थनगर–११, भुजौलीमा तयार गरेको आर्गेनिक तरकारीहरुको साप्ताहिक बिक्री सुरु गरेका छन् । शनिबार विहान सानु डिपार्टमेन्टल स्टोर, उज्यालो चोकमा बिक्री कक्ष राखेर बिक्री वितरण सुरु गरेको २ घण्टामै ६ हजार मूल्य बराबरको सबै आर्गेनिक तरकारी बिक्री भएको युवा उद्यमी गुरुङ्गले जानकारी दिए ।
मङ्सिर २० गते शनिबारका दिनदेखि साप्ताहिक रुपमा आर्गेनिक तरकारी बिक्री गर्ने योजना अनुसार सुरुवात गरेको थिए पहिलो दिन नै २ घण्टामा सबै तरकारी बिक्री भयो । निकै खुशी छु अर्को शनिबार अझै व्यवस्थित तरिकाले आर्गेनिक तरकारी उपलब्ध गराउने छु, गुरुङ्गले भने । अन्य समयमा भने आफ्नो फर्मको आर्गेनिक तरकारी सानु डिपार्टमेन्टल स्टोरमा खरिद गर्न सकिने उनले जानकारी दिए । पहिलो ग्राहकको रुपमा आर्गेनिक तरकारी खरिद गर्न आएका सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष नारायण रिजालले भने ‘‘मेरो आफ्नै घर अगाडी विहानै आर्गेनिक तरकारी बिक्री सुरु हुन गइरहेको देख्दा खुशी लाग्यो र मैले पहिलो ग्राहकको रुपमा खरिद पनि गरे, पहिलो ग्राहक भएकोले छुट पनि पाए, खुशी लाग्यो ।’’
सानु डिपार्टमेन्टका प्रवन्ध निर्देशक सानु शर्माले युवा उद्यमी आशा गुरुङ्ग यस क्षेत्रमै उदाहरणीय युवा बन्दै गएको र कृषि कर्ममा सफल भइरहेको जनाउदै उनको फर्ममा फलेका आर्गेनिक तरकारीहरु उपभोग गरी प्रोत्साहन गर्न सबैमा आग्रह गरे ।
आशा गुरुङ्गले पहिलो दिन कोरियन फर्सी, स्विस साग, रायो साग, चुकन्दर, भाण्टा, ब्रोकाउली, मुला लगायतका तरकारीहरु बिक्रीका लागि राखेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.