काठमाडौं, कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघका प्रथम उपध्यक्ष श्रय ढकालका अनुसार मासुको मूल्य तीन वर्ष यताकै सस्तो छ, दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत बढेन । यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको ढकालले बताए ।
साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावल बताउँछन् । मूल्य सस्तो हुँदा पनि उपभोग भने अझै निरासाजनक रहेको उनले बताए । खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको भ्याली ग्रूपका कार्यकारी निर्देशक एवम् मासु व्यवसायी सक्षम घिमिरे बताउँछन् । लकडाउन अवधिमा मासुको व्यापार राम्रै भएपनि दोस्रो पटकको निषेधाज्ञाले व्यापार चौपट भएको उनको दाबी छ । मासु खपतका लागि सरकारी योजना नभएको र महामारीकै बेला आइपरेको संकटले व्यवसायी पनि अन्योलमा परेको घिमिरेले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.