श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
उद्योगी व्यवसायीले भैरहवा–बुटवल, भैरहवा–लुम्बिनी र भैरहवा–धकधई–परासी औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्तिको माग गरेका छन् । विद्युत् अनियमित हुँदा उद्योगले थप नोक्सान बेहोर्न पुगेका व्यवसायीहरुले जनाएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरण र यस क्षेत्रका पदाधिकारीसँंग आयोजना गरेको छलफल कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीले विद्युत् ट्रिपिंग हुने, लो भोल्टेज, नियमित आपूर्ति नहुँदा कोरोना भाइरसले थला परेको उद्योग व्यवसाय थप नोक्सानमा परेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका एसोसियट सदस्य तथा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले विद्युतका कारण उद्योग व्यवसायमा समस्या रहेको बताउँदै समस्या हल गर्न आग्रह गरे । विद्युतको समस्या भैरहवा–लुम्बिनी, भैरहवा–बुटवल करिडोरमा मात्रै नभई नयाँ करिडोरका रूपमा स्थापित भैरहवा–धकधई परासी करिडोरमा समेत ट्रिपिंग, लो भोल्टेज, अनियमित विद्युत् (बारम्बार लाइन जाने) को समस्या रहेको छ, विद्युत्मा धेरै समस्या छन्, अग्रवालले भने । सुधार गरे सबैलाई राम्रो हुन्छ, कतिपय उद्योगले आफ्नै डिजेल प्लान्टबाट विद्युत् निकालेर उद्योग चलाएका छन्, उद्योग सञ्चालन भैरहेका बेला बारम्बार विद्युत् काट्दा औद्योगिक सामान, मेसिनहरू छिटो बिग्रने, विद्युत् कटौती भएर बन्द भएको मेसिन विद्युत् आपूर्ति आएपछि पुन सुरु गर्न समय लाग्ने हुँदा उद्योगमा थप नोक्सान थपिने अग्रवालले बताए ।
कोरोना भाइरसका कारण धेरै नोक्सानी बेहोरेका उद्योगी व्यवसायीलाई राज्यले राहत प्याकेज दिन नसकेको समयमा विद्युत् आपूर्ति अनियमित हुँदा उद्योगमा थप व्ययभार बढदै गएकाले विद्युत् आपूर्ति सुधार गरी गुणस्तरीय विद्युत् उपलब्ध गराउन उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले बताए ।
पछिल्लो समय भैरहवा वरपरका क्षेत्र सबैको रोजाइको क्षेत्र बन्दै गएको छ तर उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक विद्युत् अनियमित, कम भोल्टेज र बारम्बार गइरहने हुँदा समस्या बढदै गएको छ, विद्युत् अनियमितकै कारण यस क्षेत्रमा आउन खोजेका लगानीकर्ता अन्यत्र डाइभर्ट हुने त होइनन् भन्ने आशंकासमेत बढन थालेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।
नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका निर्देशक सुरज गौतमले विगतमा भन्दा विद्युत् आपूर्ति सुधारोन्मुख रहेको बताए । “केही कमीकमजोरी छन्, विभिन्न कारणले ट्रिपिंग भइरहन्छ, भोल्टेज लो हुने पनि कारणहरू छन्, उद्योगी व्यवसायीका कुराहरू जायज हुन्, हामी सुधार गर्दै जान्छौ, गौतमले भने । छलफलमा नेपाल विद्युत् प्राधिकरण ग्रिड महाशाखा, योगीकुटीका प्रमुख उमेशकुमार झा तथा नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका प्रमुख जितेन्द्र झाले विगतमा भन्दा विद्युत् आपूर्तिमा धेरै सुधार भएको बताए ।
ट्रिप्रिङ हुने कारणले उद्योग सञ्चालनमा समस्या तथा मोटर, मिल मेसिनरीमा व्यापक रूपमा नोक्सानी बढिरहेको र ठूलो लगानीबाट स्थापना भएका राष्ट्रियस्तरका उद्योगमा यस प्रकारको ट्रिपिङ एवं भोल्टेज अपडाउनका कारणले उद्योग सञ्चालनमा पर्न गएको समस्या समाधान सम्बन्धमा छलफल भएको संघका महासचिव नेत्र आचार्यले बताए । सहभागीले छलफलमा १३२ केभीए विद्युत् परियोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने, उद्योगहरूमा गुणस्तरीय विद्युत् आपूर्तिको प्रत्याभूति गरिनुपर्ने लगायतका कुरा उठाएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.