- भैरहवा ।
भैरहवा नाका हुँदै चामल आयात घटेको छ । लगातार ३ आर्थिक वर्षदेखि चामल आयात घटेको भन्सार कार्यालय भैरहवाको तथ्याङ्कले देखाएको छ । भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत एवम् सूचना अधिकारी तिर्थ राज पासवानका अनुसार आर्थिक वर्ष २०७७।७८ मा भैरहवा नाकाबाट ७ अर्ब ६५ करोड २९ लाख ११ हजार रुपैयाँ मूल्य बराबरको चामल आयात भएको छ । सूचना अधिकारी पासवानका अनुसार सो आर्थिक वर्षमा १ लाख ७३ हजार ७ सय ८ मेट्रिक टन चामल आयात हुँदा कार्यालयले ८८ करोड २७ लाख ६ हजार रुपैयाँ राजस्व भएको थियो ।
आर्थिक वर्ष २०७५–७६ मा ८ अर्ब ८४ करोड ७६ लाख ९७ हजार रुपैयाँ बराबरको १ लाख ९३ हजार ७ सय ६३ मेट्रिक टन र २०७६–७७ मा ८ अर्ब ४५ करोड ८५ लाख ५१ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार ६१ मेट्रिक टन परिणामको चामल आयात भएको तथ्याङ्क भन्सार कार्यालयको छ । यो तथ्याङ्कले पनि भैरहवा नाका हुँदै चामल आयात घटेको प्रष्ट हुन्छ । चामल आयात घटे पनि चामल आयात हुँदा प्राप्त हुने राजस्व भने प्रत्येक वर्ष बढेको छ । २०७५।७६ मा ७० करोड ४६ लाख, २०७६।७७ मा ८७ करोड २७ लाख र २०७७।७८ मा ८८ करोड २७ लाख रुपैयाँ राजस्व उठेको छ । राजस्व बृद्धी भनेको आयातित चामलको मूल्य बृद्धी हो ।
यो नाका हुँदै चामल आयात घटनुमा उत्पादन बढेर भने नभएको धान चामल व्यवसायीको तर्क छ । भन्सार नाकामा लामो लाइन र पालो कुर्नु पर्ने कारणले आयातकर्ताले बैकल्पिक नाकाबाट ल्याइरहेको भनाई छ ।
भैरहवा भन्सार नाका हुँदै आयात निर्यात झन्झटीलो, समय लाग्ने र सवारी साधनको लामो लाइन, कुर्नु पर्ने भएकाले आयातकर्ताहरुले अन्य बैकल्पिक नाका प्रयोग गर्दा आयात घटेको व्यवसायीहरुको भनाई छ ।
नेपाल दाल चामल उद्योग संघका केन्द्रीय उपाध्यक्ष राम थापाले देशमा बैकल्पिक नाकाको प्रयोग रुट परिवर्तन मुख्य कारण र पछिल्लो समय देशमा धेरै चामल उद्योगहरु सञ्चालनमा आउँदा चामल आयात कम भएको हुन सक्ने बताए । ‘उद्योग धेरै भए पछि नेपाली धान नेपाली बजारमै बिक्री साथै चामलको कच्चा पदार्थका रुपमा धान भारतबाट पनि केही मात्रामा आउँदा यो नाकाबाट चामल आयात कम भएको देखिएको हो’ अध्यक्ष थापाले भने ।
चामल आयात कम भएको देखिए पनि एकै नाकाबाट ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको भित्रिएको छ, कृषि प्रधान देश नेपाल, एकै नाकाबाट यत्रो परिणामा चामल भित्रिएको छ, ‘भैरहवा नजिकै कपिलवस्तुको खुनुवा र कृष्णनगरबाट समेत चामल आयात भइरहेको छ, अन्य ठूला नाका बिरगन्ज, बिराटनगरबाट अझ बढि आयात भइरहेको छ, यो चिन्ताको विषय हो’ अध्यक्ष थापाले भने ।
यो नाका हँुदै भित्रने चामल लुम्बिनी प्रदेशका रुपन्देही, प.नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, बाग्लुङ्ग, स्याङ्गजा पोखरा, काठमाडांै, चितवन लगायत पूर्व–पश्चिम क्षेत्रमा जाने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । उनले चामल आयात बढिरहेको तर यो नाकाबाट घट्नुको मुख्य कारण आयात गर्दा समस्या बढी भएकोले आयातकर्ताले रुट परिर्वतन गरेको बताए । भैरहवा नाका हुँदै चामल लगायत अन्य वस्तु तथा सामान आयात गर्दा लामो लाइनमा ट्रकहरु बस्नु पर्ने, जसले गर्दा दैनिक खर्च बढ्ने र भारतीय पुलिसले पैसा असुल्ने जस्ता कारणले अन्य सहज नाकामा आयातकर्ता गइरहेको आचार्यको भनाई छ ।
तयारी चामल भन्दा कच्चा वस्तु (धान) आयात बढाऊ
चामल उद्योगीहरु तयारी चामल आयात प्रत्येक वर्ष बढिरहेको भन्दै चामलको सट्टा धान आयात बढाउनु पर्ने, स्वदेशमै धान खेती बढाउनु पर्ने, कृषकहरुलाई प्रोत्साहन गर्नु पर्ने बताएका छन् । अहिले भन्सारमा चामल आयात गर्दा ८ प्रतिशत र धान आयात गर्दा ५ प्रतिशत कृषि शुल्क लाग्छ । धान आयात गरी कुटेर बिक्री गर्दा तयारी चामल भन्दा बढी महँगो नेपालको चामलको मूल्य पर्ने धान चामल उद्योग संघका उपाध्यक्ष राम थापाको भनाई छ । ‘हामीले धान आयात गर्दा कम्तिमा २ प्रतिशत र चामलको डबल डिजिटमा पु¥याउनु पर्ने माग राखेको १ दशक भइसकेको छ तर सरकारले कहिल्यै सुनेन’, थापाले भने ।
“धान चामल खरिद–बिक्री, आयात–निर्यात लगायत बिभिन्न कार्यमा हुने समस्याहरुको निराकरणका लागि एउटा बोर्ड अथवा समिति आवश्यक रहेको भन्दै धान चामल बोर्ड गर्न समेत हामीले माग गरेका छौं तर यस तर्फ कहिल्यै राज्यको ध्यान गएन’ उनले भने । ‘अब यस तर्फ ध्यान पु¥याइएन भने चामल आयात अझै बढ्छ र नेपालका चामल उद्योगहरु बन्द हुने अवस्थामा पुग्छन्’ उनले भने ।
धान, चामल बोर्ड अथवा समिति नहुँदा यस्को मूल्य निर्धारण आयात निर्यात गर्दा धान चामलको मुल्याङ्कन, सेवा शुल्क लगायतका विषयमा बिभिन्न समस्या देखिदै आएको छ र यसको प्रत्यक्ष असर, उद्योग सञ्चालक र कृषकहरुलाई परिरहेकाले पनि धान चामल बोर्ड गठन अत्यावश्यक रहेको चामल उद्योगी तथा सरोकारवालाहरुको रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.