- भैरहवा ।
आन्तरिक राजस्व कार्यालय भैरहवामा करदाता बढ्दै गएका छन् । करको दायरामा आएर व्यापार व्यवसायमा संलग्न हुनु पर्छ भन्ने सोच बढ्दै गए पछि करमा आवद्ध हुनेहरु प्रत्येक वर्ष बढ्दै गएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत आचार्यले बताए । प्रमुख कर अधिकृत आचार्यका अनुसार गत आर्थिक वर्ष २०७७।७८ मा आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तरगतको क्षेत्रहरुमा ११ हजार ८ सय ३६ नयाँ करदाता थपिएका छन् । थपिएका करदाताहरुमा सबैभन्दा बढी आयकर तर्फ ९ हजार २ सय ९५ रहेका छन् । त्यसै गरी मूल्य अभिवृद्धी कर (भ्याट) तर्फ १ हजार २७ र अन्तःशुल्क तर्फ ५ सय ७८ गरी कुल ११ हजार ८ सय ३६ नयाँ करदाता थपिएका हुन् ।
भैरहवा कार्यालय अन्तरगत २०७८ असार मसान्तसम्म कायम रहेका करदाताहरुको संख्या १ लाख १५ हजार भन्दा बढी पुगेका छन् । सबैभन्दा बढी व्यक्तिगत प्यान नम्बर लिने रहेका छन् । व्यक्तिगत प्यान लिनेको संख्या ५४ हजार ७ सय ६८ पुगेको छ । त्यसै गरी आयकर तर्फ ५१ हजार ८ सय ६३, मूल्य अभिवृद्धी कर (भ्याट) मा ७ हजार ४ सय ९१, अन्तःशुल्कमा ४ हजार ५ सय ८३ गरी जम्मा करदाताको संख्या १ लाख १८ हजार ७ सय ५ पुगेको छ ।
करदाता शिक्षाको प्रभावकारिता, ग्रामीण क्षेत्रमा पनि कर बुझाउनु पर्छ र करको दायरामा रहेर व्यवसाय गर्नु पर्छ भन्ने भावना विकास हुनु लगायतले करदाता बढिरहेको कार्यालयको भनाई छ । सरोकारवाला निकाय पनि जिम्मेवार हुनु, उद्योग वाणिज्य संघ, व्यापार, संगठन, होटल, रेष्टुरेन्ट संघहरु करका विषयमा थप सकृयता अपनाउँदा पनि करदाताहरको संख्या बढेको हो । आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्य क्षेत्र साविकमा आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं १ देखि ४ र वडा नं ११ र १२ साथै लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाँउपालिका, मायादेवी गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिण्ीा गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिका तथा पश्चिम नवलपरासी जिल्लाको रामग्राम न.पा., सुस्ता गा.पा., पाल्हीनन्दन, प्रतापपुर र सरावल गाउँपालिका रहेकोमा २०७७ देखि बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्ला हेर्ने गरी करदाता सेवा कार्यालय परासीको स्थापना भएको छ ।
व्यवसाय दर्ता खारेजी, पूर्णकर परीक्षण, अनुसन्धान छानविन तथा अन्तःशुल्क जन्यवस्तुको प्रशासन बाहेक करदातासेवा शाखाबाट प्रवाह हुने सेवाहरु जस्तैः व्यवसाय दर्ता, आय विवरण पेश गर्ने , मु.अ.कर विवरण पेश गर्ने, करचुक्ता लिने, व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर लिने, कारोबार संशोधन तथा कारोवारसँग सम्बन्धित विवरणहरुको संशोधन गर्ने कार्यसमेत करदाता सेवा कार्यालय परासीले गर्ने हुँदा करदातालाई लामो दुरीमा रहेको कर कार्यालयमा आइपुग्न लाग्ने समय बचत हुनगई सेवाग्राहीलाई थप सहज भएको छ ।
राजस्व सङ्कलन लक्ष्य अनुसार
आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०७७।७८ मा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो आर्थिक वर्ष २२ दशमलव ५२ प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयले जनाएको छ । कोरोना महामारी भए पनि व्यवसायीले कर तिर्नु पर्छ भन्ने धारणा राख्दै र राज्यले ल्याएको बिभिन्न छुटका स्किमहरुबाट पनि लाभ लिएपछि राजस्व बढी सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा ९ अर्ब ८० करोड ५० लाख ४९ हजार रुपैयाँ लक्ष्य रहेकोमा १२ अर्ब १ करोड २६ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यो लक्ष्यको १२२.५२ प्रतिशत हो । सो वर्ष सबै भन्दा बढी अन्तःशुल्कमा ८ अर्ब ३५ करोड ४४ लाख ११ हजार रुपैयाँ उठेको थियो । त्यसै गरी मूल्य अभिवृद्धीकर (भ्याट) तर्फ १ अर्ब ९१ करोड २२ लाख ५९ हजार तथा आयकरमा १ अर्ब ७४ करोड ६० लाख २६ हजार रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.