न्यूज ओके रिपोर्टर
भैरहवा ।
कृषि विकास बैंक भैरहवा शाखाले आफ्नो सेवाग्राहीका लागि क्यू आर टेलर सेवा सुरु गरेको छ । क्यू आर टेलर भनेको चेक रहित भुक्तानी कारोबार हो । बैंकका बचतकर्ता सेवाग्राहीले अब चेक नलगे पनि एक दिनमा २ लाखसम्म क्यू आर टेलर मार्फत भुक्तान पाउने शाखा प्रबन्धक नविन श्रीवास्तवले बताए ।
सेवा सुभारम्भ गर्दै बैंकको लुम्बिनी प्रदेश कार्यालयका निर्देशक राजेश कुमार श्रीवास्तबल बैंकको यो सेवाले चेक नबोकी बैंक पुग्ने तथा डिजिटल भुक्तान प्रयोग गर्ने सेवाग्राहीलाई थप मद्धत पुग्ने बताए । ‘‘अब बैंक जादा चेक बोक्नु पनि परेन, चेक रहित भुक्तानी सुरु भएको छ ।’’ निर्देशक श्रीवास्तबले भने । यो सेवा अन्तरगत बैंकको काउन्टरमा क्यू आर कोड राखिएको हुन्छ, त्यही कोडलाई मोबाईलबाट रिड गरी आफूले चाहे अनुसार २ लाख रुपैयाँसम्म निकाल्न सकिन्छ ।
यो सेवाका लागि एन्ड्रोईड भर्सनको मोबाईल र बैंकको एप भने डाउनलोड गरेको हुनु पर्दछ । सेवा सुभारम्भ कार्यक्रममा बैंकको प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख सिमा वन, नेपाल वित्तीय संस्था कर्मचारी संघका लुम्बिनी प्रदेश अध्यक्ष नवराज गौतम, कर्मचारी संगठनका लुम्बिनी प्रदेश संयोजक राकेश यादव लगायतले यो सेवाले सेवाग्राहीलाई कारोबार गर्न थप मद्धत पुग्ने बताए ।
सेवा शुभारम्भमा क्यू आर स्टयान्ड बैंकका प्रदेश निर्देशक राजेश श्रीवास्तवले शाखा प्रबन्धक नविन श्रीवास्तवलाई हस्तान्तरण गरेका थिए । क्यू आर टेलरबाट पहिलो कारोबारका रुपमा सेवाग्राही मान बहादुर प्रजापति र प्रदेश निर्देशक राजेश श्रीवास्तवले क्यू आर टेलर माध्यमबाट रकम भुक्तान प्राप्ती गरेको बैंकका भैरहवा शाखाका व्यवसाय सहायक बालकृष्ण अर्यालले बताए । कृषि विकास बैंकको यो सेवा काठमाडांै पछि पहिलो पटक भैरहवामा सुरु भएको हो । विस्तारै प्रदेशका अन्य शाखामा पनि सुचारु हुने बैंकले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.