- भीष्मप्रसाद न्यौपाने
अध्यक्ष
सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देही
मन्त्रिपरिषद् बैठकले स्थानीय निकायको चुनाव एकै चरणमा वैशाख ३० मा गर्ने निर्णय गरेको छ । हामी निजी क्षेत्रले यसको आर्थिक प्रभाव सकारात्मक हुने भएकाले उत्साहित छौं । चुनावको मिति घोषणा गरेको निर्णयले बजारमा सकारात्मक प्रभाव पर्ने, सरकारको खर्च नभएर बसेको रकम खर्च हुनुका साथै अर्थतन्त्र चलायमान हुने भएकाले यसको प्रत्यक्ष प्रभाव हाल देखिएको तरलता सुधारको अपेक्षा हामीले लिएका छौँ । यसबाट ब्याजदरका पनि केही कमी आउने सम्भावना भएकाले थप लगानीका लागि उद्योगी–व्यवसायीहरू उत्साहित भएका छन् ।
चुनावको घोषणासँगै सरकारबाहेक बाहिर रहेका रकमहरू पनि बृहत् मात्रामा खर्च हुने तथा विगत दुई वर्षदेखि कोरोनाको मारमा परेका सम्पूर्ण निजी क्षेत्र र विशेष गरी होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूको आर्थिक कारोबारहरू वृद्धि हुने देखिन्छ । सरकारले आगामी दिनमा कोभिड खोप अभियानलाई थप विस्तार गर्दै सबै आर्थिक क्षेत्रहरू चलायमान बनाउनुपर्ने सुझाव दिँदै चुनावमा पैसा खर्च हुने र तरलता सहज हुने भएकाले लगानीकर्ताहरूको बजारप्रति सकारात्मक उत्साह आएको छ । यसलाई कायम गर्न समयमै चुनाव सम्पन्न हुनुपर्छ भन्ने निजी क्षेत्रको मान्यता हो । निर्वाचनपछि स्थानीय तहले पूर्णता पाउनेछ । विकास निर्माणको अर्को चरण सुरु हुने र बजारमा आर्थिक तरलताको अन्त्य हुने विश्वास गर्न सक्छौं । त्यसैले अहिले निर्वाचन घोषणाले निजी क्षेत्रलाई धेरै उत्साहित बनाएको छ ।
- उज्ज्वल कसजू
अध्यक्ष, बुटवल उद्योग वाणिज्य संघ
मन्त्रिपरिषद्द्वारा आउँदो वैशाख ३० गते स्थानीय निर्वाचनको गरिएको घोषणासँगै चुनावी सरगर्मी बढ्दै गएको छ । सरकारले चुनावकै लागि भनेर अर्बौं रुपैयाँ विनियोजन गरेको छ । यसले गर्दा आर्थिक क्षेत्र चलायमान हुन्छ । संविधानअनुसार तोकिएको समयमै निर्वाचन हुनु राम्रो पक्ष हो । सुस्त आर्थिक वृद्धिदर रहेको देशमा हाल बैंकहरूमा भइरहेको तरलताको अभावजस्ता समस्याको निराकरणका रूपमा समेत यो निर्वाचनले केही हदसम्म भए पनि तरलताको अभाव कम गर्ने अपेक्षा गर्न सकिन्छ । अहिले चुनावको सरगर्मीले आर्थिक क्रियाकलाप पनि बढाउने अनुमान गर्न सकिन्छ । यो देशमा विद्यमान पुँजीको तरलता कम गर्ने स्थाइ उपाय त होइन, फेरि पनि अहिलेको पुँजी अभावलाई केही हदसम्म भए पनि अस्थायी समाधान भने गर्नेछ भन्ने मेरो बुझाइ छ ।
सरकारी खर्चबाहेक पनि दलहरू प्रचार–प्रसारलगायतमा खुलेरै खर्च गर्ने भएकाले पनि देशमा आर्थिक गतिविधि बढ्नेछ । अनौपचारिक अर्थतन्त्रको हिस्सा औपचारिक बराबरजस्तो रहेको देशमा हुने निर्वाचनले पैसाको गतिविधि मात्र बढाउँदैन, अनौपचारिक क्षेत्रमा रहेको पुँजी पनि बैंकजस्ता औपचारिक प्रणालीमा आउने गर्छ । महामारीको कारण ओरालो लागेको हाम्रो अर्थतन्त्र र उद्योग–व्यवसायलाई यो कोरोनाकालमा समग्रमा यो चुनावी माहोलले उद्योग–व्यवसाय क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.