- मनोरञ्जन शर्मा
भैरहवा ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माण सम्पन्न भए पनि त्यहाँ आयातनिर्यातका लागि बनाइएको भन्सार गोदामघर (कार्गो भवन) सम्म पुग्ने पहुँच मार्ग (सडक) अझसम्म बन्न सकेको छैन । भन्सार गोदाम घर मायादेवी गाउँपालिकाको बनगाईमा रहेको छ ।
विमानस्थलबाट गोदामघरसम्म पुग्ने पहुँच मार्गका लागि विमानस्थल क्षेत्र हुँदै बगेको घाघरा नदी माथि पुल निर्माण गर्नु पर्दछ । यसै बिच भन्सार गोदामसम्म पुग्ने पहुँच मार्ग तत्काल बनाउन नेपाल फ्रेड फरवार्ड एसोसियसन (नेफ्फा) ले माग गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुचारु भएसँगै यस विमानस्थल हुँदै निकासीको संभाव्यता अध्ययन तथा सरोकारवालासंग छलफलका लागि आएको नेफ्फाका प्रतिनिधिले भन्सार तथा कार्गो भवनसम्म अहिले पहुँच मार्ग नबनेको हुँदा भविष्यमा समस्या पर्न सक्ने भएकाले तत्काल पहुँच मार्ग निर्माण गर्न माग गरेको हो । सरोकार वालासंग भएको छलफल लगायतका विषयमा भएको कुराहरुको बारेमा जानकारी दिन शनिवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनिहरुले सो माग राखेका हुन् ।
‘‘नयाँ भन्सार तथा कार्गो हाउससम्म विमानस्थलको धावनमार्ग हुँदै पहुँच मार्ग सुरुमै बनाउनु पर्ने थियो तर अहिलेसम्म नबनेको रहेछ ।’’ नेफ्फाका अध्यक्ष मनोज अधिकारीले भने । ‘‘अहिले कै अवस्थामा त विमानस्थलबाट सामानहरु बाहिर ल्याएर लुम्बिनी सडक खण्ड हँुदै बनगाईमा रहेको कार्गो भवन लानु पर्ने देखियो तर यसरी कानूनतः मिल्दैन, त्यसैले भित्रैबाट पहिलानै बनाउनु पर्ने पहुँच मार्ग छिटो भन्दा छिटो बनाउन हामी नेपाल फ्रेड फरवार्ड एसोसियसन (नेफ्फा) नेपाल नागरिक उड्यन प्राधिकरणसँग माग गर्दछौं ।’’ अध्यक्ष अधिकारीले भने ।
‘‘ठूलो परिणाममा सामान विदेशबाट आए अथवा पठाउनु प¥यो भने अहिलेको अस्थाई कार्गाे भवनले थेग्न सक्दैन, त्यसबेला नयाँ कार्गो भवन प्रयोग गर्नु पर्छ नयाँ भवनसम्म पुग्ने पहुँच मार्ग नहुँदा समस्या देखिएको छ ।’’ अध्यक्ष अधिकारीले भने । विमानस्थलमा पूर्वाधार तयार भएर पनि प्रयोग विहिन अवस्था देखिएको संस्थाका वरीष्ठ उपाध्यक्ष राजेन्द्रसंगौलाले बताए । नयाँ कार्गो भवनको क्षमता यहाँको उडान अवस्था हेरेर ५ सय टन क्षमतासम्म भण्डारण हुन सक्ने रहेछ, यो ठिकै हो, तर प्रयोगमा ल्याउन पहुँच मार्ग नहुँदा अप्ठ्यारो छ । ‘‘अहिले पुरानो कार्गो भवनबाट काम भइरहेको रहेछ, तत्कालका लागि ठिक भए पनि भविष्यमा छिटो भन्दा छिटो पहुँच मार्ग बनाएर नयाँ कार्गो भवन सञ्चालन गर्नु पर्छ ।’’ संग्रौलाले भने । ‘‘विमान स्थलको सबै संरचना निर्माण सम्पन्न नहुँदै कसरी विमानस्थल पास भयो, अचम्मको बिषय रहेको छ ।’’ संग्रौलाले भने ।
पत्रकार सम्मेलनमा उनिहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यस क्षेत्रमा भएका निकासी जन्य वस्तुहरु यहीबाट पठाउन सके खर्च लागत पनि कम हुने भन्दै पठाउन सकिने वस्तुहरु निर्कयौल गर्दै अघि बढ्नु पर्नेमा जोड दिए । अहिले पनि यस क्षेत्रका कफि, जडिबुटी, कृषिजन्य वस्तु, हस्तकलाका सामान, चाउचाउ लगायतका खाद्य वस्तु, औद्योगिक वस्तुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जाने गरेकोमा ति वस्तुहरु भैरहवा विमानस्थल प्रयोग गरी पठाउन सके राम्रो हुने नेपाल फ्रेड फरवार्ड एशोसियसनका महासचिव अशोक कपालिले बताए । ‘‘हाम्रो संस्था यो विमानस्थलबाट सामान निकासीको लागि तयार र सामान निकासीको लागि के कस्तो सहयोग गर्नु पर्छ हामी तयार छौं ।’’ कपालिले भने ।
अघिल्लो हप्ता मात्रै यसै विमानस्थलबाट जजिरा एअरवेजको सामान निकासी गरेका राइजिङ्ग स्टार कार्गोका सञ्चालक तथा नेपाल फ्रेड फरवार्ड एशोसियसनका कोषाध्यक्ष हरी ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफूले २ टन कार्गो पठाए पछि नयाँ आयाम थपिएको र निकासीको संभावनाको ढोका खुलेको बताउँदै सबैले पहल गरे यस क्षेत्रका विशेष गरी कृषि उपजहरु, दुग्धजन्य वस्तु जस्तै छुर्पि निकासीको संभावना रहेको बताए । ढकालले तत्काल नयाँ कार्गो भवन सञ्चालनका लागि पहुँचमार्ग बनाउन समेत जोड दिएका छन् ।
भैरहवाको विमानस्थलबाट कार्गो आयातनिर्यातका लागि आफूहरु पूर्ण रुपमा तयार रहेको र बाँकी पूर्वाधारका कामहरु छिटो भन्दा छिटो बन्नु पर्ने संस्थाका उपाध्यक्ष नरेश अग्रवालले बताए । यस विमानस्थलबाट हस्तकलाका सामानहरु, कृषिजन्य वस्तुहरु पठाउन सहज हुने संस्थाकी सदस्य सिता अधिकारीले बताइन् । अहिले जजिरा एअरवेजले हप्ताको तिन उडान भैरहवा–कुबेत गरिरहेको छ । उसले कुबेतबाट ट्रान्जिट गर्दै अर्को कम्पनी मार्फत विश्वका कुनै पनि देशमा सामान पठाउन सक्ने जनाएको छ । निकट भविष्यमा यहाँबाट अन्य विमानसेवा कम्पनीले उडान सुरु गरे निकासीका लागि थप अवसर व्यवसायीलाई हुने उनिहरुको भनाई छ ।
Get real time update about this post categories directly on your device, subscribe now.