- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २३ गतेदेखि पौष ४ गतेसम्म लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ (पर्यटन, कृषि,तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) आयोजना हुने भएको छ ।
‘‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृृद्धिको आधार’’ मुल नारा महोत्सवको रहेको छ । महोत्सव सिद्धार्थनगर (भैरहवा) वडा नम्बर ९ अञ्चलपुर स्थित मैदानमा आयोजना हुने संघले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । पहिलो पटक २०६१ सालमा सुरु भएको महोत्सव अहिले आठाैंँ पटक हुँदैछ । संघले अन्तिम पटक २०७५ सालमा महोत्सव आयोजना गरेकोमा त्यसपछि कोरोना भाइरस संक्रमणको कारण महोत्सव हुन नसकेको संघका अध्यक्ष भिष्म न्यौपानेले बताए ।
महोत्सवले स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोग प्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरु बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने, स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रवद्र्घन गर्ने विश्वास लिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गर्न, यस क्षेत्रका विभिन्न जात जातिका कला–सांस्कृतिकोे संरक्षण गर्दै मुख्यतः सिद्धार्थनगर र लुम्बिनी प्रदेशको आन्तरिक र बाह्य पर्यटनलाई प्रवद्र्घन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्टता बोकेको वस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवद्र्धन गर्ने उद्धेश्य समेत रहेको संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग लिने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मा २५० स्टलहरु रहने स्टल व्यवस्थापन समितिका संयोजक एवम् संघका वाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताए ।
लुम्बिनीमा बाह्य तथा आन्तरिक पर्यटकहरुको चासोलाई अभिवृद्धि गर्ने खालको महोत्सवसंग सान्दर्भिक विभन्न प्रस्तुति, स्थानीय पर्यटन विकास तथा स्थानीय सिप र साधनको प्रयोग हुने घरेलु उत्पादनको प्रवद्र्धनको लागि बिभिन्न सरोकारवालाहरुलाई एकै स्थलमा ल्याई छलफल गोष्ठीको आयोजना गर्ने कार्यक्रम समेत हुने संघका महासचिव बिजय पाण्डेले जनाए । ‘‘महोत्सवमा यस क्षेत्रका विद्यालयहरुका विद्यार्थिहरुलाई विभिन्न प्रतियोगिताहरुका माध्यमबाट महोत्सवसंग जोड्ने र अकषर्ण गर्ने कार्यक्रमहरु समेत आयोजना गरिने छ ।’’ पाण्डेले भने ।
यस क्षेत्रमा गरिने महोत्सवबाट आन्तरिक एवम् वाह्य पर्यटकको आगमनमा वृद्घि हुने तथा भारतीय सीमावर्ती शहरबाट पनि सहभागिता हुने हुँदा पर्यटन प्रवर्धन एवम् आर्थिक गतिविधिहरु चलायमान हुने विश्वास लिइएको संघका कर्पोरेट उपाध्यक्ष अरुण गोयनकाले बताए । महोत्सवमा भगवान गौतमबुद्ध र लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने कोषाध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
उपभोक्ता र उत्पादक एवम् किसानहरुको प्रत्यक्ष भेटघाट हुने यस महोत्सवबाट यस भेगमा उत्पादित कृषि जन्य वस्तुहरु माछा तथा यस क्षेत्रका कुटीर, घरेलु एवम् राष्ट्रिय स्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतिकरण गरिने छ यसबाट नयाँ उद्यमीहरुको विकास र कृषिको व्यवसायीकरणमा पनि उल्लेख्य भूमिका रहने संघका सदस्य एवम् प्रचारप्रसार समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले बताए ।
लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ सफलतापूर्वक सम्पन्न गर्नको लागि कार्य सम्पादन समिति, संयोजक समिति गठन भई कार्य भइरहेको समेत जानकारी गराउन चाहान्छौं । यसै गरी आयोजक समिति, सल्लाहकार समिति र विशेष सल्लाहाकार समितिहरु समेत गठन गरी कार्यलाई अघि बढाइएको सबैको अपनत्वको रुपमा महोत्सवलाई अगाडी बढाउने उद्देश्यका साथ रुपन्देहीका विभिन्न पालिकाहरुसँगको सहकार्य र समन्वय गरिएको संघले जनाएको छ ।
करिब २ लाख ५० हजार दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको सोे मेला अवधिमा करिब रु. १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ जसकारण महोत्सबाट थप अर्थिक चलायमान हुने अपेक्षा रहेको भनाई छ । पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले कोरोना भाइरस संक्रमणका कारण चलायमान हुन नसकेको बजार यस महोत्सवका माध्यमबाट केही चलायमान हुन सक्ने अपेक्षा गरिएको बताए ।
महोत्सवको आयोजकका रुपमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं, सहआयोजक सिद्धार्थनगर नगरपालिका, लुम्बिनी विकास कोष, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड र पर्यटन विकास परिषद् , लुम्बिनी प्रदेश रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.