श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
‘‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृृद्धिको आधार’’ उद्धेश्य राख्दै सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २३ गतेबाट भैरहवामा आयोजना हुने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९को सबै तयारी पुरा भएको आयोजकले जनाएका छन् ।
बुधवार महोत्सव स्थलमा पत्रकार सम्मेलन आयोजना गरी आयोजकले महोत्सबको सबै तयारी पुरा भएको जानकारी गराएको हो । लुम्बिनी महोत्सवको यो आठौं संस्करण हो । २०७६ सालमा कोरोना भाइरस संक्रमण पछि आयोजना हुन गइरहेको यो महोत्सवले थला परेको अर्थतन्त्रलाई केही रुपमा भए पनि चलायमान बनाउने अपेक्षा रहेको मूल आयोजक समितिका संयोजक एवं सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताए ।लुम्बिनी महोत्सव पर्यटन, कृषि, तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा अघि बढिरहेको छ र यसमा क्रेता तथा बिक्रेता बिच प्रतक्ष्य सम्पर्क, नयाँ वस्तुको प्रवर्द्धन साथै नयाँ उद्यमगर्ने एक प्लेटफर्म पनि बन्ने छ, अध्यक्ष न्यौपानेले भने । महोत्सव सिद्धार्थनगर (भैरहवा) वडा नम्बर ९ अञ्चलपुर स्थित मैदानमा आयोजना हुनेछ ।
संघले पहिलो पटक २०६१ सालमा सुरु भएको महोत्सव अहिले आठौंँ पटक हुँदैछ । संघले अन्तिम पटक २०७५ सालमा महोत्सव आयोजना गरेकोमा त्यसपछि कोरोना भाइरस संक्रमणको कारण महोत्सव हुन सकेको थिएन् ।
महोत्सवले स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोग प्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरु बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने, स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रवद्र्घन गर्ने विश्वास हाम्रो छ, अध्यक्ष न्यौपानेले भने ।
रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गर्न, यस क्षेत्रका विभिन्न जात जातिका कला–सांस्कृतिकोे संरक्षण गर्दै मुख्यतः सिद्धार्थनगर र लुम्बिनी प्रदेशको आन्तरिक र बाह्य पर्यटनलाई प्रवर्ध्दन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्टता बोकेको वस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवर्ध्दन गर्ने उद्धेश्य सहितको यो एउटा ब्यबसायिक एवम् आर्थिक खुल्ला प्लेटफर्म समेत रहेको संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग लिने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मा २५० स्टलहरु तयार गरिएकोमा लगभग त्यतिनै संख्यामा स्टल बुकिङ भइसकेको स्टल व्यवस्थापन समितिका संयोजक एवम् संघका वाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताए ।
महोत्सवमा खाद्य, कृषि, छाला जुत्ता, पेय पदार्थ, अर्गयानिक कृषि उपज, अटो, किचन बेयर, गार्मेन्टस, स्टेशनरी, सूचना प्रविधि, हस्तकला एवं घरेलु उद्योगका सामान, पर्यटन, खेलकुद, शिक्षा एवं शैक्षिक परामर्श लगायतका स्टल रहने संघका महासचिव बिजय पाण्डेले बताए ।
महोत्सवमा साना तथा घरेलु उद्याम गर्न मद्धत पुग्ने गरी अचार बनाउने तालिम महिलाहरुका लागि तथा पूजा गर्दा बालिने कपास बत्ति काट्ने र सालको पातको टपरी र बौता खुटने प्रतियोगिता समेत आयोजना हुने पाण्डेले बताए ।महोत्सवमा विविध सांगितिक कार्यक्रम र भ्वाइस अफ भैरहवा कार्यक्रम समेत हुनेछ ।
महोत्सवमा बढी भन्दा बढी जनताको उपस्थिति गराउन शहर बजारसंगै ग्रामीण क्षेत्रमा पनि प्रचारप्रसार गरिएको प्रचारप्रसार समितिका संयोजक कृष्ण घिमिरेले बताए । भारतबाट समेत अवलोकन कर्ताहरु आउने अपेक्षा छ र सोहि अनुसार प्रचार गरिएको भारतीय संचारकर्मीसंग अन्तरक्रृया गरिएको संयोजक घिमिरेले बताए ।
महोत्सवमा जेष्ठनागरीक तथा फरक प्रकृतिका नागरीकलाई प्रवेश निःशुल्क गरिएको र फेमेली टिकट समेत व्यवस्था रहेको संघका कोषाध्यक्ष गोबिन्द ज्ञवालीले बताए । १५० रुपैयाँमा ५ जना प्रवेश गर्न सक्ने व्यवस्था फेमेली टिकटमा छ, त्यसै गरी विद्यार्थीलाई परिचयपत्रका आधारमा ३० रुपैयाँ र साधारण टिकट मूल्य ५० रुपैयाँ कायम रहेको ज्ञवालीले बताए ।
महोत्सवमा भगवान् गौतमबुद्ध र लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने तथा घोड एवं हात्ती सफारीको तयारी भइरहेको पर्यटन संयोजक सञ्जय बजिमयले बताए । महोत्सवमा तराईको खेल कुस्ती प्रतियोगिता र खुल्ला ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना हुने छ । खेलकुद संयोजक हरी थापाले कुस्तीमा नेपाल साथै भारतका पहलवानहरु पनि प्रतिष्पर्धामा आउने बताए ।
महोत्सवमा आर्थिक पक्षसंग जोडिएका उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा स्वास्थय लगायतका विषयमा अन्तरकृया हुने र त्यसबाट उठ्ने विषयवस्तुलाई सम्बन्धित क्षेत्रमा उठानका लागि पठाइने आयोजकले बताएका छन् ।
३ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको यो मा करिब रु. १० करोड बराबरको कारोबार हुने अनुमान आयोजकको छ । महोत्सवको आयोजकका रुपमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं, सहआयोजक सिद्धार्थनगर नगरपालिका, लुम्बिनी विकास कोष, प्रवर्ध्दकमा नेपाल पर्यटन बोर्ड र पर्यटन विकास परिषद् , लुम्बिनी प्रदेश रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.