- श्रीन्यूज ओके रिपोर्टर,बुटवल
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको वर्तमान अर्थतन्त्रले समस्या बेहोरिरहेकोमा चिन्ता प्रकट गरिरहेकी छिन् । विहीवार बुटवलमा १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको भन्दै चिन्ता प्रकट गरेकी हुन् ।
उनले भनिन्, अहिले मुलुकको अर्थतन्त्र समस्यामा देखिएको बुझेकी छु । ‘व्यापार घाटा बढिरहेको, आयात बढिरहेको र मुद्रा सञ्चितीमा अभूतपूर्व चाप परेको छ,’ । ‘यसले आर्थिक संकटतर्फ मुलुक लगिरहेको देखिन्छ ।’ अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको समयमा देशको व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको छ, भण्डारीले भनिन् । मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने भण्डारीको राय थियो ।
राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भई सामान्य रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । महोत्सवमा बोल्दै गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले उद्योगी–व्यवसायीको संरक्षणका लागि राज्यले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बृद्धिलाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेपको तयारीमा रहेको बताए ।
उनले अब बन्ने नयाँ सरकारले देशको आर्थिक विकास केन्द्रित हुनुपर्ने बताए । कोरोना महामारी जस्ता निकै ठूला महामारीका कारणले नेपालको आर्थिक अवस्था बिग्रिएको बताउँदै गृहमन्त्री खाँणले नवनिर्वाचित सांसदहरुको सरकारको पहिलो प्राथमिकता देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
महोत्सव आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले महोत्सवलाई सिर्जनात्मक र प्रवद्र्धनात्मक तुल्याइएको जनाए ।उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलामले अब बन्ने सरकारले देशको आर्थिक स्थिति परिवर्तन हुने गरि काम गर्नुपर्नेमा जोड दिए।
मेला एव प्रदर्शनीमा स्वदेशी उद्योगमा उत्पादित सामाग्रीको स्टलहरु बढी रहेका छन भने केही अन्य प्रदेश र विदेशमा उत्पादन भएका सामाग्रीका स्टल पनि राखिएको छ ।
स्थानीय उत्पादनमा महिला उद्यमीबाट तयार गरिएका सामाग्री प्राथमिकताको साथ प्रदर्शनीमा राखिएका छन् । पुष १७ गतेसम्म चल्ने महोत्सवमा उद्योग, खाध्यान्न, गार्मेन्ट, कृषि तथा सुचना प्रविधिसहितका ४ सय ५० बढी स्टल राखिएका छन् । महोत्सवमा ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजक राखेका छन् । महोत्सव हालै निर्माण सम्पन्न भएको बुटवल अन्तराष्ट्रिय प्रदर्शनी स्थलमा सुरु भएको हो ।
Get real time update about this post categories directly on your device, subscribe now.