- ठाकुरकुमार श्रेष्ठ
(वरिष्ठ उपाध्यक्ष, सिद्धार्थ उद्योग वाणिज्य संघ)
४ दशकमा भैरहवाले काचुली फेरेको छ । काचुली दोहोरो रुपमा नै फेरिएको छ । ४ दशक अघि जुन चहलपहल बजारमा देखिन्थ्यो, बजार गुलजार थियो, चलायमान थियो अहिले छैन । अर्को पाटो भनेको पूर्वाधार विकास निर्माणको कुरा गर्दा भैरहवाले काचुली फेरेको छ । ठूला फराकिला सडक, व्यवस्थित ढल नाला, हरित शहरको अबधारणा, ठूलाठूला व्यसायिक भवन, सपिङ्ग मल, होटल, रेष्टुरेन्ट, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा काचुली फेरेको छ भन्दा फरक पर्दैन । अर्थात ४ दशक अघि भौतिक पूर्वाधार विकास निर्माण लगायत मानव जिवनसँग सम्बन्धित विकास काम कम थिए तर बजार चहल पहल थियो, गुलजार थियो, आर्थिक क्षेत्र चलायमान थियो ।
अहिले भैरहवा बजार दिउँसै निदाएको जस्तो छ, व्यापार छैन, मन्दि छ, ग्राहक आइहाल्छन् की भनेर बस्नु पर्ने अवस्था छ । जताततै सटर भाडाका लागि उपलब्ध छ लेखिएका क्लिपहरु झुण्डयाइएका छन् । राम्रा स्तरिय पसल, स्टोर, मार्ट, शोरुम, रेष्टुरेन्ट, होटल खुलेका छन् । तर ति स्थान सुनसान हँुदा आर्थिक रुपमा बजार चलायमान हुन सकेन । आर्थिक रुपमा चलायमान नहुँदासम्म बजार गुलजार हुँदैन । त्यसैले अब बजारमा कसरी आर्थिक रुपमा चलायमान बनाउन सकिन्छ । कसरी गुलजार गराउन सकिन्छ भन्ने विषयमा उठान गरी अघि बढ्नु जरुरी छ । नत्र हाम्रो भैरहवा शहर बिजनेश हातमा भएर पनि बिजनेशलेस शहरको रुपमा अघि बढ्छ, त्यो हुनु भनेको आर्थिक रुपमा शहर पतन हुनु हो । त्यसैले बजार गुलजार गराउनु हामी सबैको दायित्व हो यसमा व्यवसायी मात्र होइन मुख्य रुपमा हामी भैरहवाबासीले नै बनाउने हो ।
जबसम्म हामी हाम्रो मानसिकता परिवर्तन गर्न सक्दैनौ तबसम्म बजार गुलजार हुन सक्दैन् । १ रुपैयाँ सस्तो पाइन्छ भन्दै हामी सिमावर्ति भारतीय बजारमा खरिद गर्न दिनहँु जान्छांै, दैनिक करोडौ रुपैयाँ भारतिने गरेको छ । त्यही पैसाले स्थानीय बजारमा खरिदारी गर्न सके यहीका बजार गुलजार हुन्छन् । हामीले सिमावर्ति बजारबाट खरिद गरी ल्याएका सामान भन्सार कर नतिरी ल्याउँछाैं वैधानिक तरिकाले कर तिरेर ल्याउने हो भने त नेपालमै सामानहरु सस्तो पर्छन् । अर्को कुरा अहिले भारतीय सामान प्रिन्ट रेट अनुसारनै नेपाली बजारमा पाइन थालेका छन् । स्थानीय बजारमै खरिदारी गर्ने मानसिकता आझैबाट गरियो भने स्थानीय बजारलाई चलायमान बनाउन मद्धत पुग्छ । सकेसम्म मेड इन नेपाल त्यसमा पनि स्थानीय उत्पादनहरु बढी प्रयोग गर्न सके स्थानीय बजारहरु बढी गुलजार हुन्छन् । आफन्तहरु साथिभाईहरु बाहिरबाट आउँदा सुनौली बजार पु¥याइदेउन खरिदारी गर्न जानु छ भनेर प्रायले भन्ने गर्छन्, त्यस्तालाई निरुत्साहित गर्दै स्वदेशी बजारमै खरिदारी गरौ भनी संझाउनु पर्छ ।
भन्सार कार्यालयले पनि संक्षिप्त प्रज्ञापन कडा रुपमा लागु गर्नु पर्छ, कडा रुपमा भन्सार प्रशासन प्रस्तुत हुँदा सामान ल्याए कर तिर्नु पर्छ रैछ यतै भैरहवाबजारमै किनौ भन्ने हुन्छ । त्यसै गरी खुल्ला सिमानाकाबाट हुने चोरी निकासीले पनि स्थानीय बजारमा प्रभावित गर्ने हुँदा चोरी निकासीलाई न्यूनिकरण गर्नु पर्छ । चोरी निकासीका सामान सिधै अन्यत्र जाने गरेको समाचार आइरहन्छ । चोरी निकासी नहुदो होत यही भैरहवाका बजारबाट सामान सिधै अन्यत्र जाने थिए ।
सुपथ मूल्यमा गुणस्तरीय सामान कम मुनाफा लिएर बिक्री गर्नु पर्छ । हामी व्यवसायी धेरै नाफामुखी हुनु हुँदैन । यही कारणले हो भैरहवा महँगो छ भन्दै सुनौली बुटवल खरीदारीका लागि जाने । यो कुरामा ध्यान दिइनु पर्दछ । भैरहवा बजार गुलजार गराउन क्रेता बिक्रेता (ग्राहक र व्यवसायी)ले मात्र संभव छैन् । यहाँका स्थानीयतह, प्रहरी प्रशासन, संघसस्थाको पनि अहम भूमिका रहेको छ ।
विश्वशान्तिका प्रतिक गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार, देशकै दोश्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल भारतको सबैभन्दा ठूलो स्थलनाका, तेश्रो मुलुकबाट सबैभन्दा बढी पर्यटक आउने नाका, मुलुकलाई बढी राजश्व दिने भैरहवा भन्सार, पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा सेज, जस्ता क्षेत्र हामीसँग हुँदा पनि हामीले क्यास गर्न सकेका छैनाैं । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसंगै अब बिभिन्न बौद्ध मुलुक तथा युरोपियन देशहरुमा उडान अबतरण गराई पर्यटक ल्याउने वातावरण बनाउनु पर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन खेलकुदहरु बिभिन्न इभेन्टहरु आयोजना गरी अर्थ क्षेत्र चलायमान बनाउनु पर्छ । कार्यक्रमहरु, खेलकुद प्रतियोगिता, इभेन्टहरुआयोजना गर्नु भनेको मानिसहरुको चहलपहल बढनु हो र चहल पहल बढ्दा खरिदबिक्री, खानपान, बसाई सबै हुने र यसले आर्थिक क्षेत्र चलायमान हुन गई बजार गुलजार एवं चलायमान हुन्छ ।
बजार व्यवस्थित गराउन स्थानीय तहले पहल गर्नु पर्छ । कुनै कुनै व्यवसायहरु तोकिएको स्थानमा बढी चल्छ, ति स्थानहरुको चयन गरी व्यवसायीलाई आकर्षित गर्ने काम स्थानीय तह सिद्धार्थनगरको हो । पार्किङ्गको समस्या छ, सर्बसाधारणहरु पार्किङ्गका कारण बजारमा आउन र आए पनि धेरै समय बिताउन चाहदैनन् । त्यसैले बजार गुलजार बनाउनमा पार्किङ्ग व्यवस्था राम्रो हुनु जरुरी छ, सिद्धार्थनगरले ट्राफिक कार्यालय सित मिलेर पार्किङ्गको समस्या समाधान गर्नु पर्छ ।
त्यस्तै गरी व्यवसायीहरुले पनि ग्राहक आउदैनन् भनेर ६ बजेनै पसल बन्द गरेर जानु राम्रो होइन । गृहमन्त्रालयले स्थानीय प्रशासनको समन्वयमा २४ घण्टानै व्यवसाय गर्न सकिने भनेर निर्देशन दिई सकेको अवस्थामा सबै व्यवसायीले निर्धक्क रुपमा व्यवसाय सञ्चालन गर्नु पर्छ । उदाहरणको लागि भैरहवा बुद्धचोक स्थित ब्लयाक फरेष्ट २४ घण्टानै खुल्ला छ । ग्राहकहरु त्यहाँ मध्यरातमा पनि पुग्ने गरेका छन् । त्यसैले शहरका मुख्य क्षेत्रका बजारहरु कम्तिमा पनि ११ बजेसम्म खोल्ने प्रयत्न गराैं। गर्मिको समयमा दिउँसो भन्दा साँझ रातीको समयमा बजारमा निस्कने ग्राहक बढी हुन्छन् ।
नाइट मार्केटको कनसेप्ट ल्याएर छुट्टै स्थान पहिचान गरी रात्री बजार सुरु गर्न सकिन्छ । साँझको समयमा आफ्नो पसलका सामानहरु पसल अगाडी टेबलमा राखेर बिक्रीका लागि प्रदर्शन गर्न सकिन्छ । त्यसै गरी बर्मेलीटोल, नारायणस्थान, उज्ज्यालो चोक, प्रहरी टोल मिलनचोक, मैत्रीपथसम्म र मिलन चोकदेखि बैंकरोड हुँदै देबकोटा चोकसम्म बेलुका ६ बजेदेखि राती ११ बजेसम्म वाकिङ्ग स्ट्रिटको रुपमा विकसित गर्ने ।
अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएसंगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन चाप बिस्तारै अवश्य बढ्नेछ, यही कुरालाई ध्यानमा राखेर पर्यटकका आवश्यकताहरु पहिचान गरी शहरलाई अघि बढाउनु पर्छ । भैरहवा पर्यटकीय शहर नभएकोले यहाँ आउने पर्यटकलाई कसरी भुलाउन वा बढी बसाउन सकिन्छ भन्ने बिषय पहिचान गरी अघि बढ्नु पर्छ र त्यही अनुसारको योजना अघि ल्याउनु पर्छ । सरकारले कृत्रिम पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्न सक्छ ।
भैरहवामा क्यासिनो, स्पा, मसाज सेन्टर खुल्ने क्रम बढेको छ । ति सस्थाहरुमा नियामक निकायले बेलाबेलामा अनुगमन गरी २४ घण्टानै खुल्ने वातावरण बनाउनु पर्छ । रात्रीकालिन बजार वा २४ घण्टानै व्यवसाय गर्दा सुरक्षाको राम्रो प्रत्याभुति भएको अनुभव आम सर्वसाधारणले गर्न पाउनु पर्छ ।
आर्थिक क्षेत्र चलायमान हुने कार्यक्रमहरु जस्तै व्यापारीक महोत्सव मेला, सडक खाना उत्सवहरु वर्षको एक दिन दुई दिन मात्रै होइन प्रत्येक महिना आयोजना हुनु पर्दछ । अब विशिष्टीकृत मेला महोत्सवको अवधारणा अघि ल्याउनु पर्छ । अहिले सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको लुम्बिनी महोत्सव पनि आर्थिक क्षेत्र चलायमान बनाउने एउटा कडी हो । यस्ता कार्यक्रमहरु निरन्तर हुनु पर्छ ।
मुख्य कुरा कोरोनो संक्रमण न्यून भए पछि बजार झनै खुम्चेको अवस्था छ । बैंकले ऋणहरु प्रवाह गर्न सकेको छैन । व्यवसायीले किस्ता बुझाउन सकेका छैनन्, सर्बसाधारणको क्रय शक्ती दिनहँु खस्कदो छ । बाहिरबाट आउने ब्रिपेशण (रेमिट्यान्स)ले धानिएको छ देश । सानाठूला लगानी सबैमा समस्या छ । यस्तो अप्ठ्यारो अवस्थामा हामी छाैं, यो बिचको चुनौती भनेको स्थानीय बजार कसरी गुलजार बनाउने, कसरी आर्थिक क्षेत्र चलायमान बनाउने भन्ने हो । बिना ग्राहक बजार चलायमान हुँदैन । त्यसैले कसरी हुन्छ ग्राहकलाई बजारमा ल्याउने र स्थानिय बजारमै खरिदारी गराउने लक्ष्य अबको आवश्यकता हो ।
Get real time update about this post categories directly on your device, subscribe now.