श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
थारु कला संस्कृति, भेषभुषा, खाना, प्रवद्र्धन गर्ने उद्देश्य सहित थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति रुपन्देहीको आयोजना तथा थारु कल्याण कारिणी सभा ओमसतिया गाउँपालिकाको सहआयोजनामा ओमसतियाको पडसरीमा ‘‘२६४७ औं थारु लवा वर्ष एवम् माघ महोत्सव” आयोजना हुने भएको छ । थारुहरुको नयाँ वर्षको अवसरमा माघ उत्सव माघ ७ गते हुने आयोजक संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष सतीशकुमार चौधरीले ‘‘थारु भाषा, कला, संस्कृति अउर पहिचान, न्याय समानता, अधिकारके संघर्ष हम्मनके अभियान” को मूल नारा सहित रुपन्देहीका थारु समुदायलेसंगै अन्य समुदायले पनि थारुहरुले धुमधामका साथ थारु लवा वर्ष मनाउने जानकारी पत्रकार सम्मेलनमा दिए ।
गौतम बुद्ध पनि थारु समुदायकै भएको दावी सहित थारुहरुको वर्षलाई गौतम बुद्धको जन्म मिति अनुसार २६४७ औं वर्षको रुपमा लिइएको चौधरीले बताए । उनले माघ १ गते माघी मनाइने भए पनि थारुहरुको लागि माघ महिना भरी नै उत्सवको रुपमा हुने गरेको बताए । माघ महिनामै तत्कालिन समयमा थारुहरुले मुखिया, बडघर फेर्ने, चयन गर्ने ज्याला बढाउने, घरको दाजुभाईमा सरसल्लाहले छुट्टिभिन्द हुने लगायतका कारण माघ महिना नै महत्वपूर्ण रहेको र महत्वपूर्ण कामको सुरुवात पनि यो समुदायले माघ महिनामा गर्ने भएकोले माघलाई थारुहरुले नयाँ वर्षको पहिलो महिनाको रुपमा लिँदै माघी मनाउने गरेको चौधरीको भनाई छ ।
पडसरी स्थित थारु कल्याकारिणी सभा कार्यालय भवन परिसरमा हुने माघ महोत्सवमा थारु सँस्कृतिमा आधारित साँस्कृतिक कार्यक्रम, झुमरा नाच, झरौ नाच, मयुर नाच, थारु भेषभुसा प्रदर्शनका साथै थारु परिकारहरु घोङी, अनदीको भुजा, ढिकरी, रिकवच, माछाका परिकार उपलब्ध हुने ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष एवम् थारु कल्याकारिणि सभा रुपन्देहीकी सदस्य सुनिता चौधरीले बताइन् ।
शनिबार दिनको १२ बजे सुरु हुने महोत्सवमा जिल्लाको बिभिन्न भागमा रहेका थारु समुदायहरु आ–आफ्नो झाँकी सहित कार्यक्रम स्थल पुग्ने र कार्यक्रम स्थलमा थारु कला संस्कृतिका महत्वपूर्ण कार्यक्रमहरु आयोजना हुने बताइएको छ । कार्यक्रमको उद्घाटन संविधास सभा सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले गर्ने छन् । सोही दिन थारु कल्याणकारिणी सभाको सचिवालय भवन तथा थारु संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको र महोत्सव पूर्व ६ गते शुक्रवार रक्तदान कार्यक्रम सोहि स्थानमा आयोजना हुने आयोजक समितिका सदस्य चन्द्रभान चौधरीले बताए ।
पत्रकार सम्मेलनको सञ्चालन सचिव सरिता चौधरीले गरेकी थिइन् । चौधरीले यो पर्व थारु समुदायको मात्र नभई अन्य समुदायकालाई पनि सहभागी हुन आग्रह गरेकी छिन् । पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका करमचन्द चौधरी, प्रकाश सिंह चौधरी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी लगायतले थारुहरुको पर्व माघ महोत्सवको बारेमा चर्चा गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.