- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
थारु संस्कृति संरक्षण तथा अनुसन्धान केन्द्र थारु सङग्रहालय रुपन्देहीको आयोजनामा माघ ७ गते शनिवार तिलोत्तमा नगरपालिका वडा नम्बर १ शंकरनगर वनबाटिकामा संस्कृति महोत्सव २०७९ आयोजना हुने भएको छ । संस्थाका अध्यक्ष अनिरुद्र प्रसाद चौधरीले थारु समुदायको नववर्षको अवसर पारी आयोजना हुने संस्कृति महोत्सवमा थारु सहित अन्य समुदायको संस्कृति झल्कने कार्यक्रम समेत संयुक्त रुपमा आयोजना हुने भएकाले यो कार्यक्रमको भिन्दै महत्व रहेको बताए ।
समाजमा रहेका सबै समुदायले मिलेर पर्व, संस्कृतिको जगेर्ना गर्ने, चाँडवाँड मनाउने गर्नु पर्छ भन्ने सन्देश संस्कृति महोत्सवले दिने अध्यक्ष चौधरीले बताए ।
संस्कृति महोत्सवमा थारु समुदाय सहित मगर, गुरुङ्ग, नेवारको झाँकी, नृत्य प्रदर्शन हुनेछन् भने थारु सहित अन्य समुदायको खाना परिकार समेत रहने संस्कृति महोत्सवका संयोजक रेखा प्रसाद चौधरीले बताए ।
महोत्सवको संस्कृतिक कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासीबाट समेत नृत्य र झाँकी प्रदर्शन हुने छ भने लाठी नाच, मयुर नाच, विभिन्न समुदायका संस्कृति, झल्किने नाचगान प्रस्तुत हुने चौधरीले जनाए ।
कार्यक्रमको सबै तयारी पुरा भएको तथा रुपन्देही सहित नवलपरासी, कपिलवस्तुका समेत गरी हजारौं सहभागी हुने अपेक्षा रहेको थारु संस्कृति संरक्षण तथा अनुसन्धान केन्द्र थारु सङग्रहालयका सचिव राज चौधरीले बताए ।
यो पनि पढ्नुहोस् ।
Get real time update about this post categories directly on your device, subscribe now.