श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
प्रत्येक वर्ष २६ जनवरीका दिन बिभिन्न कार्यक्रम गरी विश्वभरीनै भन्सार दिवस मनाउने गरिन्छ । विश्व भन्सार संगठन (डब्लुसिओ)को नेपाल पनि सदस्य भएकाले यो दिवस नेपालमा पनि भन्सार बिभाग अन्तरगतका सबै कार्यालयले मनाउने गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले बताए ।
भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्ट, सरोकारवाला अन्य निकाय, आयातनिर्यात कार्यमा संलग्न व्यवसायी एवं संघसंस्था, व्यवसायिका संघसंस्था लगायत मिलेर यो दिवसमा बिभिन्न कार्यक्रम आयोजना गरी देशैभरका भन्सार कार्यालयसंगै भैरहवा भन्सार कार्यालयमा पनि मनाइएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।
भैरहवा भन्सार कार्यालयले पनि भन्सार एजेन्ट संघ रुपन्देही, लुम्बिनी प्रेस क्लबसंगको सहकार्यमा अन्तरक्रिया, भन्सार एजेन्ट संघ रुपन्देहीसंगको सहकार्यमा खेलकुद, रक्तदान साथै सरसफाई कार्यक्रम आयोजना गरेको पौडेलले जानकारी दिए ।
विश्व भन्सार दिवसको अवसर पारी लुम्बिनी प्रेस क्लबसंगको सहकार्यमा भैरहवा भन्सारको वर्तमान अवस्था, राजस्व संकलन एवं आयात निर्यातको स्थिति साथै समस्या र चुनौतीका विषयमा अन्तरक्रिया भएको थियो । वर्तमान समयमा भन्सार बिभागले तोकेको लक्ष्ग्य अनुसार राजश्व संकलननै मुख्य चुनौती रहेको र लक्ष्य अनुसार राजश्व संकलन हुन नसकेको प्रमुख भन्सार अधिकृत पौडेलले अन्तरक्रियामा बताए । ‘‘गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा ४७ प्रतिशत राजस्व कम भएको छ भने वस्तुको आयातमा पनि ३१ प्रतिशतले कमि छ ।’। उनले भने ।
अनिवार्य मार्जिन राख्नुपर्ने गरी तोकिएको बालवस्तुको कारण २३ अर्ब ८९ करोड, पैठारीमा प्रतिबन्ध लगाइएका वस्तुहरुको कारण ३ अर्ब ३५ करोड र अन्य मालवबस्तुको कारण ४ अर्ब ४९ करोडले राजस्व घटेको तथ्याङ्क पौडेलले प्रस्तुत गरेका थिए । खुल्ला सिमानाका लगायतका विविध कारण पनि चुनौती रहेको र पछिल्लो समय भन्सार प्रशासन चुस्त एवं प्रविधिमा आधारित रही काम गरिरहेको समेत उनले बताए ।
अन्तरक्रियामा रुपन्देही प्रहरी प्रमुख रबिन्द्र रेग्मी, शशस्त्र प्रहरी प्रमुख गगन श्रेष्ठ, प्लान्ट क्वारेन्टाइन प्रमुख हरि खनाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौैपाने, भन्सार एजेन्ट संघका निवर्तमान अध्यक्ष डा. शान्त कुमार शर्मा, वर्तमान सचिव कृष्ण प्रसाद घिमिरे, भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष मधु पन्थी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी लगायतले आयात निर्यात, राजस्व संकलन, समस्या र चुनौती र समाधानका विषयमा धारणा राखेका थिए ।
भन्सार दिवसका दिन आयोजित मुख्य कार्यक्रम भैरहवा भन्सार कार्यालयमा भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेशका मुख्य सचिव डा. दिपक काफ्लेले राजस्व सङ्कलनसंगै आयात निर्यातमा सजलिकरण मुख्य काम भन्सारको भएको बताउँदै अहिले राजस्व संकलननै प्राथमिकतामा सहज रुपमा सेवा प्रवाह मुख्य काम रहेको बताए । सो अवसरमा विशिष्ट अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, सिद्धार्थनगर नगर पालिकाका प्रमुख इश्तियाक अहमद खान, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौला, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष मधु पन्थी लगायतले मन्तव्य राख्दै आयात निर्यात, भन्सारका समस्या, समाधान लगायतका विषयमा धारणा राखेका थिए ।
सो अवसरमा भन्सार विभागबाट उत्कृष्ट घोषित भन्सार कार्यालय भैरहवा का नायब सुब्बा पहल बहादुर केसीलाई सम्मान गरिएको थियो । त्यसै गरी भैरहवा भन्सार कार्यालयबाट उत्कृष्ट घोषित गरिएका कर्मचारीहरु राजकुमार रुपाखेती, टिकाराम काउचा र जंगलाल बोहरा, भिम बहादुर देउवा तथा उत्कृष्ट कार्य सम्पादन गर्ने भन्सार एजेन्टहरु असिम न्यौपाने र अमोल थैब, अन्नपूर्ण टर्मिनल्स भैरहवाका प्रमुख रबी पारीखलाई पनि प्रमुख अतिथि मुख्य सचिव डा. दिपक काफ्ले एवं प्रमुख भन्सार अधिकृत मनिराम पौडेल लगायतले कदरपत्र सहित सम्मान गरेका थिए ।
त्यसै गरी ब्याडमिन्टन खेलमा बिजेता उपबिजेतालाई पुरस्कार र ट्रफी साथै रक्तदान गर्ने कर्मचारी लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । भन्सार अधिकृत नारायण भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य एवं कार्यक्रमको उद्धेश्य माथि प्रकाश भन्सार अधिकृत लक्ष्मण ढुंगानाले गरेका थिए । यस वर्षको भन्सार दिवसको नारा अर्को पुस्ताको पालनपोषणः ज्ञान संस्कृतीको पवद्र्धन, भन्सारमा साझेदारी र व्यावसायिक गौरव रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.