श्रीन्यूजओके रिपोर्टर ।भैरहवा
रुपन्देहीको बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा १ अर्ब ६६ करोड ६९ लाख ७८ हजार रुपैयाको सिमेन्ट तथा क्लिंकर भारत निकासी भएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार यो अवधिमा ९१ करोड करोड ३२ लाख ४३ हजार रुपैयाँको ३ लाख ५५ हजार १ सय ७४ टन सिमेन्ट तथा ७५ करोड ३७ लाख ३५ हजार रुपैया बराबरको को २ लाख ५० हजार हजार ७ सय ३३ टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको हो ।
केही वर्ष अघिसम्म सिमेन्ट तथा क्लिंकरका लागि भारतकै भर पर्नुपर्ने अवस्था रहेकोमा आयात प्रतिस्थापन गर्दै अघिल्लो वर्षदेखि निकासी हुन थालेको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार गत आर्थिक वर्षको तुलनामा सिमेन्ट तथा क्लिंकर निकासी बढी भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ३१ करोड ८६ लाखको सिमेन्ट निकासी भएकोमा चालु वर्षको ६ महिनामै दोब्बर बढी निकासी भएको छ । ‘क्लिंकर निकासी पनि बढेको छ । सरकारले बजेटमार्फत विभिन्न वस्तु तोकिएको परिमाणभन्दा बढी निकासी गरे ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको छ । सोहीअनुसार उद्योगहरुले भारततर्फ निकासी बढाइरहेका छन्,’ भन्सार प्रमुख गौतमले भने । क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानीसहित ८ वस्तु तथा सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस आउटसोर्सिङ निकासीमा उच्च सम्भावना रहेका वस्तु तथा सेवा तोकिएको परिमाणमा निकासी गरे ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था सरकारले गरेको छ ।
बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारत निकासी हुँदै आएको छ । सिमेन्टको आन्तरिक खपत कम हुँदा भारत निकासी गरेर उद्योगहरुले केही राहत पाएका छन् । आन्तरिक खपत अहिले २० देखि ३० प्रतिशतमा सीमित भएको व्यवसायीको भनाइ छ ।
बेलहिया नाका हुँदै सिमेन्टसहित अन्य वस्तुको निकासी पनि बढेको छ । गत वर्षको ७ महिना (साउनदेखि माघं) को तुलनामा चालु वर्षको ७ महिनामा निकासी ६० प्रतिशतले वृद्धि भएको छ । प्रमुख भन्सार अधिकृत गौतमले भने, ‘निकासी बढ्नुमा सिमेन्ट क्लिंकरको ठूलो योगदान छ ।’ चालु वर्षको ७ महिनामा ७ अर्ब बढीको वस्तु भारत तथा तेस्रो मुलुक निकासी भएको छ ।
बेलहिया नाका हुँदै सबैभन्दा बढी निकासी हुने वस्तुमा सेन्थेटिक यार्न रहेको छ । यार्न भारत तथा टर्की निकासी हुने गरेको छ । चालु वर्षको ७ महिनामा १ अर्ब ७७ करोडको ८ हजार ७ सय ६१ टन सेन्थेटिक यार्न यो नाकाबाट निकासी भएको छ । बेलहिया नाकाबाट चालु आर्थिक वर्षमा भारततर्फ प्लाइउड निकासी सुरु भएको छ । २४ करोड ४८ लाख रुपैयाँको प्लाइउड निकासी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । अन्य वस्तुजस्तो यसको निकासी सहज भने हुन सकेको छैन ।
विगतका वर्षमा भन्दा चालु आर्थिक वर्षमा यो नाका हुँदै विभिन्न वनस्पति उत्पादन, पीना, अदुवा, सुठोलगायत जडिबुटीको निकासी पनि बढ्दै गएको छ । भन्सार कार्यालयका अनुसार गत साउनदेखि माघ मसान्तसम्म वनस्पति उत्पादन ४२ करोड ६० लाखको निकासी भएको छ । यसैगरी पीना ४० करोड ५९ लाखको, सुठो अदुवा २६ करोड ४७ लाखको निकासी भएको छ ।
यो नाका हुँदै तयारी चाउचाउ, पास्ता तथा चोकर भुससमेत निकासी भइरहेको छ । ७ महिनामा चाउचाउ र पास्ता २७ करोड ६५ लाखको निकासी हुँदा चोकर निकासी पनि बढेको छ । बेलहिया नाकाबाट रोजिन टर्पेन्टाइन, पिभिसी फिटिङ पाइप पनि भारत निकासी हुँदै आएको छ । खोटो रोजिन चालु वर्षको ७ महिनामा २३ करोड ५७ लाख तथा अल्कीड रेजीन र अन्य पिभिसी रेजीन ३८ करोड भन्दा बढीको निकासी भएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.