श्रीन्यूजओके रिपोर्टर । भैरहवा
रुपन्देहीको भैरहवा र कपिलवस्तुको कृष्णनगर भन्सार नाकाबाट यो वर्षका ८ महिनामा एक अर्ब २९ करोड रुपैयाँबराबरको प्लाइउड निकासी भएको छ ।
सरकारले प्लाइ निकासीमा अनुदान दिने कार्यक्रम ल्याएको र नेपालसँग जोडिएका भारतीय जिल्लाहरुमा नेपाली प्लाइउड लोकप्रिय बनेका कारण यी दुई नाकाबाट प्लाइ तथा प्लाइजन्य वस्तु भारत निकासी बढेको हो । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म यी दुई नाका हुँदै एक अर्ब २९ करोड ९३ लाखको प्लाइजन्य वस्तु (खासगरी तयारी ढोका)भारत निकासी भएको छ ।
चालु आवका केही महिना भारतीय गुणस्तर चिन्हको विषय उठाएर भारतले प्लाइ प्लाइजन्य वस्तु निकासी रोकेको थियो । त्यही कारण यो वर्षको निकासी गत वर्ष जति हुन सकेको छैन । तर, अवरोध खुलेपछि निकासी बढ्दो रुपमा देखिएको छ । भारतले आगामी एक वर्षभित्र गुणस्तर परीक्षणको प्रमाणपत्र लिनुपर्ने शर्त राखेर केही समयअघि निकासीको अवरोध हटाएको हो । नेपाली व्यवसायीले एक वर्षभित्रमा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिएसआई)बाट प्रमाणपत्र लिई सक्नुपर्ने प्रावधान भारत सरकारको छ ।
कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मानबहादुर पौडेलका अनुसार पछिल्ला दिनमा प्लाइउड निकासीले गति लिएको छ । नेपाली प्लाइको माग नेपालसँग सीमा जोडिएका भारतीय जिल्लाहरुमा बढी छ । यिनै जिल्लामा निकासी गर्न नेपाली व्यवसायी आकर्षित भएको पौडेलको भनाइ छ ।
अहिले प्लाइउड उद्योगीहरुले कृष्णनगर र भैरहवा नाका हुँदै भारत निकासी गरिरहेका छन् । नेपालगन्ज नाकाबाट पनि प्लाइउड निकासी फेरि सुरु भएको छ । कृष्णनगर नाकाबाट यस्ता वस्तु बढी निकासी भएको देखिन्छ ।
कृष्णनगर नाकाबाट मात्र यो अवधिमा एक अर्ब रुपैयाँभन्दा बढीको प्लाइ तथा प्लाइजन्य वस्तु भारत निकासी भएको कृष्णनगर भन्सारका सूचना अधिकारी लेखनाथ भट्टराईले जानकारी दिए । उनका अनुसार यो नाकाबाट चालु वर्षको ८ महिनामा ९९ करोड ८४ लाखको प्लाइउड तथा एक करोड ६६ लाखको प्लाइउड फ्लस डोर भारत निकासी भएको छ । कृष्णनगर नाकामार्फत निकासी हुने कुल वस्तुमध्ये पहिलो सूचीमा प्लाइउड नै रहेको भट्टराईले बताए ।
यस्तै, भैरहवा भन्सार नाका हुँदै चालु वर्षको ८ महिनामा २८ करोड ४२ लाखको प्लाइउड भारत निकासी भएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा यो नाका हुँदै १९ करोड ९८ लाखको प्लाइउड भारत निकासी भएको थियो ।
चन्द्रौटा कृष्णनगर औद्योगिक करिडोरमा पशुपति, जय अम्बे, अटल, श्रीगणेश, कैलाश, श्रीकृष्ण, त्रिमूर्ति, नेपाल इन्डो तथा गणपति प्लाइ उद्योग सञ्चालनमा छन् । यी उद्योगले प्लाइ तथा फ्लस डोर भारत निकासी गरिरहेको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ताले बताए । यसैगरी सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्यले भैरहवा भन्सार नाका हुँदै श्याम प्लाइ उद्योग, हिमालयन र सदिक्षा सः मिलले भारततर्फ निकासी गर्दै आएको जानकारी दिए । यी तीन उद्योगबाट उत्पादित प्लाइउडको उत्पत्तिको प्रमाणपत्र सिद्धार्थ उद्योग वाणिज्य संघले जारी गर्ने गरेको छ । सरकारले निकासीमा आकर्षित गर्न दिने भनेको नगद अनुदानका कारण उद्योगी यसमा लागिपरेका हुन् ।
हिमालयन प्लाइ इण्डस्ट्रिज रुपन्देहीका निर्देशक धिरेन्द्र बरईले प्लाइउड निकासीमा सरकारले चार प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको जानकारी दिए । यद्यपि, अनुदान अहिलेसम्म प्राप्त भने नभएको उनले बताए । प्लाइ बनाउँदा आवश्यक पर्ने कच्चा सामग्री प्रायः उद्योगले झापाबाट ल्याउने गरेका छन् । केहीले रुपन्देहीमा पनि व्यावसायिक रुपमा प्लाइउडको कच्चा पदार्थ बन्ने रुखको खेती गरेका छन्, तर त्यो पर्याप्त छैन ।
Get real time update about this post categories directly on your device, subscribe now.