श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
वर्ष २०८० लाई बिदा गर्दै २०८१ को स्वागतमा आज शुक्रबार भैरहवामा सडक खाना महोत्सव (फुड फेस्टिवल)आयोजना हुँदै छ। सडकमा जाऔं, सडकमै खाऔं, सडकमै रमाऔुं भन्ने नारासहित होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा बेलुकी ५ बजेदेखि मध्यरात १२ सम्म नयाँ वर्षलाई स्वागत गर्दै सिद्धार्थ सडक खाना महोत्सव आयोजनाको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
भैरहवाको सिद्धार्थ रंगशाला अघिको आँखा अस्पतालदेखि खजहना सडक खण्डमा महोत्सव हुने होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामप्रसाद पोखरेलले बताए ।
अध्यक्ष पोखरेलले विगतको वर्षमा जस्तै यस वर्ष पनि नयाँ वर्षको पूर्वसन्ध्यामा हुने सडक खाना महोत्सवमा यस क्षेत्रका होटल रेष्टुरेन्ट, विभिन्न जातजाति, समुदाय, संघसंस्थाका खानाका परिकारका १०१ स्टल हुने पोखरेलले जनाए । महोत्सवमा नेवारी, मगर, गुरुङ, थारु, थकाली, बंगाली, मारवाडीलगायत विभिन्न जातजातिका खानाका परीकार साथै इण्डियन, चाइनिजलगायत खानाका स्वाद उपलब्ध हुने आयोजकको भनाई छ ।
भैरहवा र वरपर साथै यहाँका स्थानीय तह र छिमेकी भारतीयको समेत उपस्थितिमा हुने महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमले महोत्सव थप आकर्षित बन्ने अपेक्षा छ, पोखरेलले भने, सडकमा खाँदै, सडकमा रमाउँदै नयाँ वर्षको स्वागत गर्ने हो। कम्तिमा २० हजार मानिस कार्यक्रममा उपस्थित हुने आयोजकको दाबी छ।
सडक खाना महोत्सवले सुस्ताएको पर्यटन तथा अर्थतन्त्र एवं बजारलाई चलायमान बनाउने आयोजक होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष बिष्णु न्यौपानेले बताए ।
सडक खाना महोत्सवको आयोजक होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रूपन्देही रहेको छ भने सिद्धार्थनगर नगरपालिका र मदिरा व्यवसायी संघ, रुपन्देही सह–आयोजक रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.