श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
स्थलमार्गको बेलहिया हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बढेका छन् । नेपाल भारतको स्थलमार्गमध्येको सबैभन्दा ठूलो र बढी मानिसहरु ओहोरदोहोर गर्ने नाकामा भैरहवाको बेलहिया पर्छ ।
स्थलनाका हुदै नेपाल आउने विदेशी पर्यटक सबैभन्दा बढी यही नाका हुँदै आउने गरेको पाइएको छ। विदेशी मात्र नभइ नेपाल भ्रमणमा आउने अत्यधिक भारतीय पर्यटकहरु पनि यही नाका हुँदै नेपाल प्रवेश गर्ने गरेको पर्यटन व्यवसायी एवं सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर, सोट्टो नेपालका लुम्बिनी प्रदेश अध्यक्ष श्रीचन्द गुप्ताले बताए ।
गुप्ताका अनुसार यो नाका हुँदै आउने भारतीयहरुको कुनै तथ्यांक नभएकोले यती नै भारतीय नेपालमा आए भन्न सकिँदैन । तर, अनुमान गर्दा महिनामा ५० हजारभन्दा बढी भारतीयहरु यो नाका हुँदै नेपालका विभिन्न स्थानमा घुम्न जाने गरेका छन्। विमान चढेर त्रिभुवन विमानस्थल हुँदै आउने भारतीय पर्यटकहरुको मात्र तथ्यांक अध्यावधिक हुने तर स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको कुनै तथ्यांक अध्यावधिक नहुने हुँदा कती भारतीय पर्यटक स्थलमार्गबाट नेपाल भ्रमणमा आए बताउन नसकिने उनले बताए ।
सिद्धार्थ होटल संघका अध्यक्ष एवं हानका केन्द्रीय सदस्य चन्द्रकाश श्रेष्ठका अनुसार स्थलमार्गबाट आउने भारतीय पर्यटकहरुको मुख्य भ्रमण गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा, पोखरा, मुक्तिनाथ, काठमाडौँ, चितवन र पाल्पा रहेको छ भने धेरै भारतीयहरु क्यासिनोमा रमाउन भैरहवा र वरपर आउँने गरेका छन् । क्यासिनो र खानपिनमा रमाउन पनि भारतीय पर्यटक आउने गरेको श्रेष्ठको भनाइ
छ। गत तीन महिनामा मात्रै लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको संख्या ७० हजारभन्दा बढी भएको लुम्बिनी विकास कोषले जनाएको छ। कोषको सूचना शाखाका कर्मचारी दिलिप कुलंगका अनुसार सन् २०२४को जनवरीमा १९ हजार ३६, फेब्रुअरीमा २० हजार ४ सय र मार्चमा ३० हजार ६ सय ७० जना भारतीय पर्यटकले लुम्बिनीलाई भ्रमण गन्तब्य बनाएका छन् ।
स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरुलाई नेपालमा यात्रा सहज गराउने, उनीहरुले ल्याउन पाउँने रुपैयाँको सिमा बढी गराउन पहल गर्ने, त्यो भन्दा बढी भए नेपालमा गैरकानुनी भन्दै पैसासहित पक्राउ पर्छन । चेकजाचका नाममा दुखः नदिई भन्सार विन्दुमै सबै काम र चेकजाच गरी अन्यत्र चेक गर्न नपर्ने जस्ता काम भए भारतीय पर्यटकहरु नेपालमा अझ बढी आउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
धेरै बिदेशी र भारतिय पर्यटकहरु लुम्बिनी घुम्न पुगे पनि उनिहरुको बसाई अबधि मुस्किलले एकरातको र त्यस्मा पनि लुम्बिनी भित्रका बिहारहरुमा पर्यटक बस्दा लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले अपेक्षाकृत फाइदा लिन नसकेको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.