श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयात घटेको छ। स्वदेशमा उपभोग कम हुन थालेपछि विगत वर्षको तुलनामा चालु वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजेल आयात घटेको हो। इन्धन खपत गर्ने मोटरसाइकल, कार, जिप, बसहरूको बिक्री घट्दै जानु, विद्युतीय सवारी साधनको प्रयोग लगायतका कारणले अहिले इन्धनको आयात घटेको हो ।
मोटरसाइकल चढ्ने युवाहरू रोजगार र अध्ययनका लागि विदेश जाने क्रम बढ्दा मोटरसाइकल बिक्री समेत आधा भन्दा कम भैसकेको छ । सवारी साधन कम बिक्री हुँदा त्यसमा प्रयोग हुने इन्धन पनि घटनु स्वभाविकै हो । इन्धन आयात कम हुँदा त्यसको प्रभाव भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत परेको छ। बढी राजस्व दिनेमा डिजेल र पेट्रोल रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए।
डिजेल र पेट्रोलबाट चल्ने साना सवारीको सट्टा अहिले विद्युत्बाट चल्ने इलेक्ट्रिक भेइकलले बजार लिनु, मोटरसाइकल प्रयोगकर्ता कम हुनुलगायतको कारणले डिजेल र पेट्रोलको आयात कम भएको हो। प्रमुख भन्सार अधिकृत गौतमका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा यो नाका हुँदै ४ अर्ब ५८ करोड मूल्यबराबरको ४६ हजार किलो लिटर पेट्रोल आयात हुँदा २ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसैगरी गत वर्षको सोही अवधिमा यो नाका हुँदै ४७ हजार १ सय किलोलिटर पेट्रोल आयात हुँदा २ अर्ब ६९ करोड रुपैयाँ संकलन भएको थियो। ९ महिनामा पेट्रोल आयात १ हजार १ सय किलो लिटर कम भए पनि डिजेल आयात भने गत वर्षको तुलनामा ९ हजार किलो लिटरभन्दा बढी फरक रहेको छ।
भन्सार कार्यालयका अनुसार गत वर्ष यही अवधिमा ४६ हजार २ सय ६४ किलो लिटर डिजेल आयात हुँदा १ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु वर्षको ९ महिनामा डिजल आयात खस्केर ३६ हजार ८ सय किलो लिटर भएको छ। चालु वर्ष ४ अर्ब ३ करोड रुपियाँबराबरको डिजेल आउँदा १ अर्ब ५२ करोड रुपैयाँ राजस्व डिजेलबाट प्राप्त भएको छ। गत वर्षको तुलनामा यो वर्ष डिजेल पेट्रोलको मूल्य बढी भएका कारण इन्धन आयात कम हुँदा राजस्व केही बढेको छ।
यद्यपि आयात घट्दा राजस्व कम हुनु स्वभाविक रहेको र अहिले खपत पनि कम हुने गरेको इन्धन व्यवसायी एवं नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपानेले बताए। यो नाका हुँदै आउने डिजेल, पेट्रोल नेपाल आयल निगमको भलवारी स्थित डिपोमा भण्डारण पछि रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, दाङ, रोल्पा, रुकुम, प्यूठान तथा काठमाडौं पठाइने गरिन्छ।
Get real time update about this post categories directly on your device, subscribe now.