श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
चालु आर्थिक वर्षको ९ महिनामा भैरहवा नाका हुँदै ४ अर्ब ६१ करोड रुपैयाँबराबरको सेन्थेटिक यार्न (धागो), सिमेन्ट र क्लिंकर निर्यात भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार चालु वर्षको ९ महिनामा यो नाका हुँदै ४ अर्ब ६१ करोड बढीको निर्यात भएको हो।
यो अवधिमा २ अर्ब ४० करोड रुपैयाँबराबरको ११ हजार ९१० टन सेन्थेटिक यार्न ९धागो० निर्यात भएको छ । त्यसैगरी १ अर्व २७ करोड रुपैयाँबराबरको ६ लाख २९ हजार टन सिमेन्ट तथा ९३ करोड ११ लाख रुपैयाँबराबरको २ लाख ८० हजार टन क्लिंकर निर्यात भएको गौतमले बताए। यो नाका हुँदै निर्यात हुने सामानहरूमा सबैभन्दा बढी हिस्सा सेन्थेटिक यार्नको छ । भैरहवा क्षेत्रमा रहेको उद्योग जगदम्बा स्पिनिंग मिल्सले उत्पादन गर्ने सेन्थेटिक यार्न लामो समयदेखि निर्यात हुँदै आएको छ।
भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३ अर्ब १६ करोड मूल्यबराबरको १४ हजार ९३६ टन सेन्थेटिक यार्न निर्यात भएको थियो। सेन्थेटिक यार्न यो नाका हुँदै भारत तथा टर्किसम्म निर्यात हुने गरेको छ। केही वर्षअघि सम्म सिमेन्ट तथा क्लिंकरका लागि भारतकै भर पर्नु परेकामा आयातलाई प्रतिस्थापन गर्दै अघिल्लो वर्षदेखि भारत निकासी हुन थालेको सिमेन्ट तथा क्लिंकरको निर्यात पनि बढ्दै गएको छ। गत आर्थिक वर्षको १२ महिनामा ३१ करोड ८६ लाख रुपैयाँ बराबरको सिमेन्ट मात्र निकासी भएकोमा चालु वर्षको ९ महिनामा १ अर्व २७ करोड रुपैयाँबराबरको सिमेन्ट तथा ९३ करोड ११ लाख रुपैयाँ बराबरको क्लिंकर भारत निर्यात भएको छ।
सरकारले बजेटमार्फत विभिन्न वस्तुहरू तोकिएको परिमाणमा बढी निकासी गरे ८ प्रतिशत नगद अनुदान दिने घोषणा बजेटमा गरिएको छ । सोही अनुसार उद्योगहरूले भारततर्फ निकासी बढाइरहेको गौतमले बताए। सरकारले क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानीसहितका ८ वस्तु तथा सूचना प्रविधीमा आधारित सेवा तथा बिजनेस आउटसोर्सिङ जस्ता निकासीमा उच्च सम्भावना रहेका वस्तु तथा सेवा तोकिएको परिमाण मूल्यबराबरका निकासी गरी ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको छ। बेलहिया नाका हुँदै अर्घाखाँची सिमेन्ट, शुभश्री जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारत निकासी हुँदै आएको छ । यहाँबाट निर्यात हुने सिमेन्टको मुख्य बजार भारत उत्तर प्रदेश राज्यका, महाराजगन्ज, सिद्धार्थनगर, गोरखपुर तथा वरपरकाका जिल्ला रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.