तोकिएभन्दा बढी भाडा लिने ७ ट्याक्सी कारबाही
श्रीन्यूज ओके रिपोर्टर । भैरहवा– सार्वजनिक यातायात मध्येको ४ पाङ्ग्रे सवारी साधनमा यात्रुहरु ठगिएको जनगुनासो बढ्दै गएपछि रूपन्देही जिल्लामा सञ्चालन भएका ट्याक्सीको भाडादर कायम गरिएको छ ।
विशेष गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा बुटवल र भैरहवा बिच चल्ने ट्याक्सीहरूले जति मनलायो तेति ट्याक्सी भाडा लिने गरेको र यात्रीहरू मर्कामा परेको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले भाडादर कायम गर्न पहल गरेको थियो ।
रूपन्देही जिल्लामा ट्याक्सीको विषयमा धेरै गुनासाहरू आए, जिल्ला बाहिरका व्यक्तिहरूले पनि ट्याक्सी भाडा महँगो भएको बताउन थालेपछि भाडादर कायम गर्नु पर्छ र एकरूपता हुनु पर्छ भन्ने मान्यतालाई आत्मसात गरी भाडादर कायम गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
रूपन्देहीका ट्याक्सीहरूमा मिटर जडान नभएकोले तत्कालका लागि असार मसान्त सम्म जिल्लामा दुरीका आधारमा भाडादर कायम भएको छ, साउन महिना देखि केन्द्रिय निकाय सँग पहल गरी दीर्घकालीन समाधान खोज्छौ, प्रजिअ अर्यालले भने । गत चैत्र ९ गते जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाइको संयोजकत्वमा बसेको मार्ग तथा भाडा निर्धारण समितिको बैठकको निर्णय अनुसार रूपन्देही जिल्ला भित्र ट्याक्सीको भाडादर निर्धारण गरिएको हो । सो बैठकमा जिल्ला समन्वय समिति सँगै, जिल्ला प्रशासन, रूपन्देही प्रहरी,रूपन्देही ट्राफिक, नगरपालिका, उद्योगवाणिज्य संघ, ट्याक्सीचालक संघ, उपभोक्ता हित संरक्षण मञ्च लगायतको बैठकमा छलफल पछि ट्याक्सीहरुको भाडादर कायम गर्ने निर्णय भएकोमा चैत्र तेश्रो साताबाट भाडादर लागु हुदै आएको हो ।
निर्धारित भाडादर भन्दा बढी भाडा असुलेको पाईएको गुनासो आएपछि प्रजिअ अर्याल आफै अनुगमनमा जादा बढी भाडा लिने ७ ट्याक्सी नियन्त्रणमा लिई कारबाही भएको थियो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले तोकिएको भाडा भन्दा बढी कसैले लिए कडा कारबाही हुने, बढी भाडा लिएमा प्रमुख जिल्ला अधिकारीको सम्पर्क नं ९८५७०७७७७७, जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सूचना अधिकारीको सम्पर्क नं.९८५७०३५१११ र रुपन्देही जिल्ला प्रहरी प्रमुखको सम्पर्क नं.९८५७०७५५५५ मा जानकारी गराउन आम सर्बसाधारणमा आग्रह गरेको छन् ।
कायम भएको भाडा दर : गौतमबुद्ध विमानस्थलबाट गोलपार्क बुटवलसम्मको १२६० रुपैया, भैरहवा बुद्धचोकबाट विमानस्थल सम्म ५ सय, मेडिकल कलेज ३सय,बेलहिया ३सय, भीम अस्पताल ३ सय, सिटी अस्पताल ३सय, मंगलापुर ५ सय,भलवारी ५ सय, मणिग्राम ५ सय, बेथरी ५ सय, कोटीहवा ५ सय, योगिकुटी ५ सय,धकधई चोक ५ सय, छपिया अमुवा ८ सय १०, बुटवल बसपार्क १०८०,गोलपार्क बुटवल ११ सय, लुम्बिनी १०३५, परासी ११७० रुपैयाँ रहेको छ ।
बेलहियाबाट विमानस्थल सम्म ५ सय रुपैयाँ भाडा कायम रहेको छ । त्यस्तै गरी बुटवल बसपार्क बाट गोलपार्क सम्म ३ सय, चौराहा ३ सय, योगीकुटी ३ सय, बेसक्याम्प ३ सय, बेलबास ३ सय, मणिग्राम ५ सय, ढवाहा ५ सय, झोलुंगेपुल ३ सय, बाल बाटिका ५ सय, हिलपार्क ३ सय, बुद्धचोक भैरहवा १०८०, बेलहिया १२६०, विमानस्थल १२१५ र बुटवल औद्योगिक क्षेत्र सम्मको रु ३ सय कायम छ । समितिले रातको १० बजेदेखि बिहान ४ बजे सम्म तोकिएको भाडामा थप ५० प्रतिशत भाडा लिने ब्यवस्था मिलाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.