- मनोरञ्जन शर्मा । भैरहवा
संघ र प्रदेशबाट प्राप्त हुने अनुदानहरू समयमा नआउँदा र कटौती समेत हुँदा सिद्धार्थनगर (भैरहवा)मा वित्तिय संकट देखिएको छ । जसले गर्दा विकास निर्माणका कामहरू प्रभावित हुने गरेको नगरपालिकाले जनाएको छ ।
क्षेत्रफलको आधारमा रूपन्देहीको सानो स्थानीय तहका रुपमा रहेको सिद्धार्थनगर नगरपालिका नेपालका अन्य स्थानीयतह भन्दा पनि सानै रहेको छ । सिद्धार्थनगर नगरपालिका ३६.०३ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ ।
आन्तरिक श्रोत (आय) पनि निकै न्यून रहेको यो नगरपालिका केन्द्र र प्रदेशबाट प्राप्त हुने अनुदानमा निर्भर रही विकास निर्माणका कामलाई अघि बढाउदै आएकोमा अहिले केन्द्र र प्रदेशले अनुदान कटौती गर्दा वित्तिय सङ्कटमा परेको हो ।
संघ र प्रदेशको बजेट आउँदा स्थानीयलाई दिइने समानीकरण र ससर्त अनुदान, विषेश अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुमानित रकमलाई आधार मानी स्थानीय तहको बजेट बन्ने तर संघ र प्रदेशले छुट्टयाएको रकम कटौती गर्ने, राजस्व बाँडफाँडका रकम ढिलो गरी आउने र कम आउने लगायतका कारणले गर्दा आर्थिक श्रोतका लागि परनिर्भर जस्तै रहेको सिद्धार्थनगर (भैरहवा) अहिले वित्तिय समस्यामा परेको छ ।
सिद्धार्थनगर नगर पालिकाका नगर प्रमुख इश्तियाक अहमद खाले संघ, प्रदेशबाट आउनु पर्ने अनुदानहरू, राजस्व बाँडफाँडका रकमहरू काटिएर आउने, ढिला आउने कारणले विकास निर्माणका काम प्रभावित भएको र संघ, प्रदेशबाट, राजस्व बाँडफाँडबाट यति पैसा आउँछ भन्दै बजेट बनाउने तर पछी रकम नआउदा र आए पनि कटौती गरेर आउँदा कामै गर्न अप्ठेरो परेको प्रमुख खानले बताए । पैसा ढिलो आउँदा र काटिएर आउँदा कतिपय योजनाहरू अघि बढ्न सकेका छैनन् । कतिपय योजना रद्द गरी सो योजनाको रकम रकमान्तर गरी अर्को योजनामा पठाउन बाध्य भएका छौ, उनले भने ।
आन्तरिक श्रोत न्यून हुँदा र संघ प्रदेशबाट तोकिएका अनुदानहरू काटिएर आउँदा नगरपालिकाको वित्तिय अवस्थानै सागुरो हुँदै गएको सिद्धार्थनगर नगरपालिकाका लेखा प्रमुख ओमेस गैरेले बताए । आन्तरिक श्रोत पनि लक्ष्य अनुसार नउठ्दा कर्मचारीलाई पनि तलव खुवाउन हम्मे हम्मे भैरहेको छ, लेखा अधिकृत गैरेले भने ।
चालु वर्षमा संघ र प्रदेशबाट मात्रै गरी ६ करोड ७८ लाख भन्दा बढी रकम अझै आएको छैन् ।संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान (चालु), ससर्त अनुदान (पूजीगत), विषेश अनुदान पूँजीगत र समपूरक अनुदान पूँजीगत गरी ४८ करोड १३ लाख मध्ये जेठको २ गते सम्म जम्मा ४२ करोड ८७ लाख १ हजार १ सय ८६ मात्र प्राप्त भएको र अझै ५ करोड २५ लाख ९८ हजार ८ सय १४ रुपैया बाकी रहेको लेखा प्रमुख गैरेले जनाए ।
त्यसै गरी प्रदेश सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान (चालु), ससर्त अनुदान (पूजीगत) र समपूरक अनुदान पूँजीगत गरी ३ करोड ७३ लाख ८३ हजार आउनु पर्नेमा जम्मा २ करोड २१ लाख २४ हजार २ सय ४१ रुपैयाँ मात्र आएको बताए । त्यसै गरी बिभिन्न शिर्षकका राजस्व बाँडफाँडमा ६ करोड ८४ लाख रुपैयाँ अझै प्राप्त हुन बाकी छ ।
९ महिना सम्म नआएका र काटिएका रकम अब प्राप्त हुन सक्ने सम्भावना कम रहेको गैरेको भनाई छ । उता आन्तरिक श्रोत बाट पनि १९ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएकोमा १० करोड ४८ लाख रुपैयाँ मात्र उठेको बताए । आन्तरिक श्रोत मार्फत जम्मा ५२।५३ प्रतिशत मात्रै उठेको छ, गैरेले भने। संघ र प्रदेशको कम रकम, राजस्व बाँडफाँडबाट लक्ष्य अनुसार नआउनु र आन्तरिक श्रोतबाट पनि निकै कम उठ्दा सिद्धार्थनगर(भैरहवा)अहिले वित्तिय सङ्कटमा परेको हो ।
सिद्धार्थनगरको चालु आर्थिक वर्षका लागि कुल बजेट १ अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
यो समाचार २०८१ जेष्ठ महिना ६ गतेको न्यूज ओके पत्रिकामा समेत प्रकाशित छ ।
Get real time update about this post categories directly on your device, subscribe now.