श्रीन्यूज ओके रिपोर्टर
भैरहवा- मौसमका कारण देखाउँदै उडान रोकेको फ्लाई दुबईले पुनः दुबई-भैरहवा क्षेत्रमा आज बाट उडान भर्ने भएको छ।
कात्तिक २४ बाट फ्लाई दुबईले दुबई- भैरहवा र काठमाडौं-दुबई उडान सुरु गरेको थियो। विमानस्थलका सूचना अधिकारी बिनोदबाबु रावतका अनुसार फ्लाई दुबईको भैरहवामा दिउँसो पौने २ बजे अवतरण भई त्यहाँबाट काठमाडौंका लागि पौने ३ बजे उड्ने तालिका रहेको छ।
सूचना अधिकारी रावतका अनुसार यसअघि फ्लाई दुबईले हप्ताको सातै दिन उडान गर्दा फ्लाई दुबईमार्फत २ हजार ८९ यात्रुले विमानस्थलमार्फत सेवा लिएका थिए ।
दुबईले डिसेम्बर १५ बाट खराब मौसमका कारण उडान रोकेको थियो । सोमबार फेरि पहिला जस्तै उडान सुरु हुन लागेको फ्लाई दुबईको नेपालको जिएसए युनिभर्सल टुर्स एण्ड ट्राभलका सेल्स हेड नवराज शाहीले बताए । ‘पहिले कै जसरी उडान हुन्छ। दुबईबाट यात्रु लिएर भैरहवा विमानस्थलमा ओराल्ने र त्यहाँबाट दुबई जाने यात्रु लिएर काठमाडौं हुँदै पुनः दुबई जाने तालिका छ शाहीले भने।
उडानको बीचमा मौसम प्रतिकूल हुँदा विमानको उडान तालिकामा परिवर्तन हुने, गन्तव्यतर्फ आइरहेको जहाज अन्तै डाइभर्ट गर्नु पर्ने वा घण्टौं आकाशमै होल्ड गर्नु पर्ने बाध्यता हवाईसेवा कम्पनीलाई रहेको थियो ।
प्रतिकूल मौसमको कारण कुवेतको जजिरा एअरवेजले पनि अहिले उडान रोकेको छ।तर, नेपाल वायुसेवाले भने काठमाडौंबाट भैरहवा हुँदै दुबईसम्म साताको चार उडान निरन्तर गर्दै आएको छ ।
कतारले कात्तिक २७ बाट तालिका अनुसार मंसिर १५ सम्म सीमित उडान गरेको थियो । कतारको उडान दोहा भैरहवा काठमाडौं दोहा थियो । तर, अहिले उडान रोकिएको छ । जजिरा एयरवेजले पनि जनवरी ३१ बाट पुनः उडान सुरु गर्ने जनाएको छ।
Get real time update about this post categories directly on your device, subscribe now.