मनोरञ्जन शर्मा
भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आज (बिहीबार) देखी आरएनपी–एआर ( रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड ) प्रणाली लागू हुदैछ । यो भूउपग्रहमा आधारित प्रणाली हो ।
कम प्रकाशमा उडान र अवतरणका लागी बिमानस्थलमा आईएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) जडान भए पनि छिमेकी मुलुक भारत संग सहमती हुन नसक्दा यो प्रविधी सञ्चालनमा छैन् ।
आईएलएसको विकल्पमा भू–उपग्रहमा आधारित आरएनपी–एआर प्रणालीबाट जहाज उडान र अवतरण गराउन लागिएको हो ।
गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भू–उपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधिको ४२ दिने सूचना प्रकाशन भएका मितिले जनवरी २३ (माघ १०) अर्थात आज बिहीबार देखि लागू हुने भएको हो ।
हाल गौतमबुद्ध बिमानस्थलमा यांत्रिक विधि(आईएफआर)मार्फत अवतरण गर्दा न्यूनतम भिजिबिलिटी १८ सय मिटर चाहिने अवस्था रहेकोमा अब आरएनपी–एआर विधिमा ९०० मिटर भिजिविलिटीमा पनि जहाज अवतरण गर्ने महाप्रबन्धक तिवारीले बताए ।
यो प्रविधि एउटा फ्लाइङ रुट हो, जसमा कुन डाइरेक्सन,कुन एङगलबाट जहाज बिमानस्थलमा अबतरण गर्ने भन्ने निर्देशनहरु पाइलटले फलो गर्नुपर्छ ,महाप्रबन्धक तिवारीले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको यो प्रबिधीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटने छ ।
प्राविधिकहरु रेडियो नेभिगेसन प्रणाली आईएलएस भन्दा जहाज अवतरणमा भूउपग्रहमा आधारित ‘आरएनपी–एआर’ प्रणाली उत्तम मानिन्छ ।
‘आरएनपी–एआर प्रणाली जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले ४२ दिने नोटिस यसअघि नै पब्लिस गरिसकेको छ, अब जनवरी २३ देखि लागू भएको मानिन्छ’, महाप्रबन्धक तिवारीले भने ।
यो प्रणाली विमानस्थलमा कुनै उपकरण जोडेर लागू हुने नभई ए ३२० र ए ३३० स्तरका जहाजमा लागू हुने हो, ती जहाजमा आरएनपी–एआर प्रणाली लागू गर्न सकिने प्रणाली पहिल्यै हुन्छ, सबै जहाजमा यो प्रणाली हुँदैन ।’
यो प्रणाली लागु भएता पनि यस अनुसार उडान अवतरण गर्न विदेशी एअरलाइन्स कम्पनीहरुले सम्बन्धित देश र नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम पुरा गरी अनुमति लिनुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका प्रबक्ता दिपक कुमार बज्राचार्यले बताए ।
अनुमति लिएपश्चात पाइलटहरुलाई यो विधिमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) चाहिने हुँदा यी सबै प्रकृया पूरा गर्न पर्दछ। तर अहिले सम्म कुन पनि बिमानसेवा कम्पनिले अनुमतिका लागी निबेदन नदिएको प्रबक्ता बज्राचार्यले श्री न्यूज ओकेलाई बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ९०० मिटरको भिजिबिलिटिमा काम गर्ने प्राविधिकहरुको भनाई छ ।
तराई मधेशमा मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी घट्ने समस्याले अन्तर्राष्ट्रिय मात्रै नभई बाह्य उडान स्थगन हुने गरेको छ । यो समस्या समाधानका लागि ‘आरएनपी–एआर’ प्रणाली लागू गर्न लागिएको हो । मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले भिजिबिलिटीको समस्या देखाउँदै एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका छन् ।

बाक्लो हुस्सुका कारण जजिरा र एअर एसियाले उडान रोक्दै आएकोमा अर्को हप्ता देखि सुरुवात गर्ने तालिकामा छ भने फ्लाई दुबईले अघिल्लो हप्ता देखि पुन उडान सुरु गरेको छ । नेपाल एअर लाइन्सले भने काठमाडौ – भैरहवा- दुबई साताको चारदिन उडान गर्दै आएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.