श्रीन्यूज ओके रिपोर्टर
भैरहवा– भैरहवा नाका हुँदै भारत तथा तेश्रो मुलुकमा हुने वैदेशिक व्यापारमा वृद्धि भएको छ । यो नाका हुँदै निर्यात व्यापार २४.७७ प्रतिशतले बृद्धी भएको हो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१।८२को ७ महिनामा भटमास तथा सूर्यमुखी प्रशोधित तेलको निर्यात भारतमा उच्च हुँदा वैदेशिक ब्यापार बढेको हो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीका अनुसार गत वर्ष प्रशोधित तेल भारत निकासी भएको थिएन, तर यस वर्षको ७ महिनामा भटमासको प्रशोधित तेल २ अर्ब ९ करोड ३९ लाख ७६ हजार रुपैयाँ तथा सूर्यमुखी प्रशोधित तेल ३२ करोड ७६ लाख १५ हजार रुपैयाँ बराबरको भारत तर्फ निर्यात भएको छ। गत वर्ष प्रशोधित तेल भारत निर्यात शून्य थियो । भारत सरकारले रोक लगाएको थियो । तर यस वर्ष भने भारतले निर्यातमा सहजता अपनाए सँगै प्रशोधित तेलको निर्यात भारतमा भैरहेको छ । चालु वर्षको सात महिनामा भटमासको प्रशोधित तेल १ करोड ५ लाख ४७ हजार ३ सय ७६ लिटर तथा सूर्यमुखी प्रशोधित तेल १८ लाख १५ हजार ३ सय २३ लिटर निर्यात भएको छ । रूपन्देहीका २ तथा नवलपरासीको एक गरी ३ उद्योगले तेल निर्यात गर्दै आएका छन् ।
रूपन्देहीको मायादेवी गाउँपालिकामा रहेको सिद्धार्थ रिफाइनरी, रोहिणी गाउँपालिकामा रहेको सनसाइन फुडस प्रालि र नवलपरासीको सिद्विविनायक आयल्सले प्रशोधित तेल भारत निर्यात गर्दै आएका छन् । गत वर्ष सम्म सबैभन्दा बढी भारत तथा तेश्रो मुलुकमा निर्यात हुने बस्तुमा सेन्थेटिक यार्न (धागो) रहेकोमा चालु वर्षमा भटमास र सूर्यमुखी को प्रशोधित तेल सबैभन्दा बढी हुने सूचीमा १ नम्बरमा रहेको छ ।
चालु आर्थिक वर्षको ७ महिना(श्रावण देखि माघसम्म)मा भारत तर्फ ९ अर्ब ६६ करोड भन्दा बढी रुपैयाँ मूल्यका बिभिन्न सामानहरू भारत तथा तेश्रो मुलुकमा निकासी भएका छन् । आर्थिक वर्ष २०८०।८१को यसै अवधि(७ महीनामा ७ अर्ब ७४ करोड रुपैयाँ मूल्य बराबरका बिभिन्न सामान भारत तथा तेश्रो मुलुकमा भैरहवा हुँदै निर्यात भएको थियो । गत वर्षको तुलनामा भारत एवं तेश्रो मुलुकमा निकासी वृद्धि भएको छ, तथ्याङ्कले पनि देखाएको छ, बस्तुहरू निकासी बढ्दो छ, यसले केही भए पनि ब्यापार घाटालाई घटाएको भन्सार प्रमुख रेग्मीले बताए ।
यो नाका हुँदै निकासी बढी हुने मुख्य साामनमा सेन्थेटिक यार्न, सिमेन्ट, क्लिन्कर, प्लाइउड, विभिन्न वनस्पति उत्पादन, पीना, अदुवा, सुठोलगायत जडिबुटीको निकासी पनि बढ्दै गएको छ । त्यसै गरी तयारी चाउचाउ, पास्ता तथा चोकर भुस, रोजिन टर्पेन्टाइन, पिभिसी फिटिङ पाइप, खोटो रोजिन, बियर, अल्कीड रेजीन र अन्य पिभिसी रेजीन , स्टिलका भाँडाकुँडा लगायतका बस्तु भारत तथा तेश्रो मुलुकमा निर्यात हुने गर्छन् ।
गत आर्थिक वर्षको तुलनामा सिमेन्टको भारतमा निकासी कम भएको छ । भारत सिमेन्ट निर्यातका लागी बिआईए(ब्युरो अफ इण्डियन स्टयाण्डर्स)बाट गुणस्तर प्रमाणपत्र अनिवार्य रहेकोमा सिमेन्ट निर्यात गर्दे आएका केही सिमेन्ट उद्योगहरुको बिआईए नविकरण भारतको सम्बन्धित निकायले समयमै नगर्दा निर्यात रोकिएको थियो । भैरहवा नाका हुँदै सेन्थेटिक यार्न ७ महिनामा १ अर्ब ९५ करोड ७ लाख ७९ हजार रुपैयाँको निकासी भएको भन्सार कार्यालयले जनाएको छ । त्यसै गरी सिमेन्ट ६७ करोड ६३ लाख ५६ हजार रुपैयाँको निर्यात भएको छ ।
विगतका वर्षमा भन्दा चालु आर्थिक वर्षमा यो नाका हुँदै विभिन्न वनस्पति उत्पादन, पीना, अदुवा, सुठोलगायत जडिबुटीको निर्यात पनि बढ्दै गएको छ । भन्सार कार्यालयका अनुसार गत साउनदेखि माघ मसान्तसम्म पीना ५२ करोड ६ लाख ९९ हजार रुपैयाँको निर्यात भएको छ । यसैगरी ५१ करोड ६८ लाख ७६ हजार रुपैयाँ बराबरको खयर कत्था पनि भारत निर्यात भएको छ ।
यो नाका हुँदै तयारी चाउचाउ, पास्ता तथा चोकर भुससमेत निकासी भइरहेको छ । ७ महिनामा चाउचाउ र पास्ता ३५ करोड ३७ लाखको निकासी हुँदा चोकर निकासी पनि बढेको छ । बेलहिया नाकाबाट रोजिन टर्पेन्टाइन, पिभिसी फिटिङ पाइप पनि भारत निकासी हुँदै आएको छ ।। निकासीका संभावना भएका बस्तुहरको अध्ययन गरी त्यस्ता बस्तु उत्पादन गनेृ, एवं प्रशोधन गरेर पठाउने उद्योग, संस्थाहरुलाई राहत हुने गरी निति बनाई निकासीको बाताबरण अझ सबहज बनाए बढी भन्दा बढी बस्तु भारत एवं अनय मुलुक निकासी गरी ब्यापार घाटा घटाउन मद्धत पुग्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको भनाई छ ।
Get real time update about this post categories directly on your device, subscribe now.