श्रीन्यूज ओके रिपोर्टर
भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गत ३ महिनामा (जनवरी देखि मार्च २० सम्म १३ हजार १ सय ८१ यात्रुले उडान तथा अवतरण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए अनुसार रोकिएको अन्तर्राष्ट्रिय उडानले गत नोभेम्बर २०२४ बाट निरन्तरता पाएको थियो ।
बिमानस्थलबाट वर्ष २०२४मा ८ हजार १ सय ५७ यात्रुले उडान तथा अवतरण गरेका थिए भने चालु वर्षको जनवरी देखि मार्च २० सम्म १३ हजार १ सय ८१ यात्रुले यो विमानस्थलबाट सेवा लिएका छन् । फेब्रुअरी महिनामा हाल सम्मकै सर्वाधिक १ सय १५ उडानबाट ६ हजार ७ सय ७९ यात्रु आवतजावत गरेका छन्, महाप्रबन्धक तिवारी भन्छन्, उडान अवतरण र यात्रुको आवत जावत हेर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरन्तर सुधार उन्मुख दिशामा गई रहेको देखिन्छ।
यो विमानस्थलबाट नोभेम्बर २०२४मा ४ हजार २ सय ७९, डिसेम्बरमा ३ हजार ८ सय ७८ जना आवत जावत गरेकामा जनवरी महिनामा प्रतिकुल मौसमका कारण धेरै उडान अवतरण अवरुद्ध हुँदा जम्मा १ हजार ३ सय ६५ यात्रुले मात्रै सेवा लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी बिनोद रावतले बताए ।
अहिले यो विमानस्थलबाट फ्लाई दुबईले दुबई–भैरहवा–काठमाण्डौ–दुबई दैनिक एक उडान गर्दै आएको छ । भैरहवा यात्रु ओरालेर दुबई जाने यात्रु लिएर उडान गर्दै आएको छ भने नेपाल एअरलाइन्सले पनि काठमाण्डौ –भैरहवा–दुबई उडान साताको चार दिन गर्दै आएको छ । त्यसै गरी जजिरा एअरवेजले साताको तिन दिन कुबेत–भैरहवा र थाई एअर एसियाले सातामा एक पटक बैंन्कक – भैरहवा उडान गर्दै आएको छ । कतार एयरको भने केही समय उडान भए पनि बन्द भएको राउतले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.