श्रीन्यूज ओके रिपोर्टर
भैरहवा– बुद्धजन्म स्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा एकै दिन ३२ हजार बढी आन्तरिक तथा बाह्य पर्यटकले पुगेका छन् । नववर्ष २०८२को पहिलो दिन मायादेवी मन्दिर क्षेत्रमा सो सङ्ख्यामा आन्तरिक एवं बाह्य पर्यटक त्यहाँ पुगेको लुम्बिनी विकास कोष सूचना शाखाका बिकाश लामाले बताए । उक्त दिन मायादेवी मन्दिर क्षेत्रमा बिहानै देखि पर्यटकहरू त्यहाँ पुगेका थिए । धेरै पर्यटकहरू रुपन्देही, कपिलबस्तु र नवलपरासी क्षेत्रबाट आएका थिए । त्यसै गरी छिमेकी जिल्ला पाल्पा लगायत र भारतीय तथा तेश्रो मुलुकका पर्यटक गरी ३ हजार १ सय बढी आएको तथ्याङ्क लुम्बिनी विकास कोषको सूचना शाखामा रहेको छ ।
मायादेवी मन्दिरमा रुपन्देही,कपिलबस्तु र नवलपरासीबाट आउने सर्बसाधारणलाई प्रबेश निशुल्क हुन्छ भने अन्य जिल्ला तथा भारतिय र तेश्रो मुलुकका पर्यटकले प्रबेश शुल्क तिर्नु पर्ने हुन्छ । लुम्बिनीमा बुद्धजयन्तीका दिन सबैभन्दा बढी पर्यटक पुग्ने गरेका छन भने त्यसपछि नेपाली नयाँ वर्षको पहिलो दिन पनि पर्यटकहरू उत्तिकै त्यहाँ पुग्ने गरेका छन् । नववर्षको पहिलो दिन आन्तरिक एवं बाह्य पर्यटकले लुम्बिनीमा मायादेवी मन्दिर अवलोकन गर्नुका साथै त्यहाँको अशोक स्तम्भ, पुष्करणीकुण्ड, विश्वशान्ति द्विप तथा त्यहाँका बिभिन्न स्वदेशी एवं विदेशी बौद्ध बिहारमा गई अवलोकन गर्ने र फोटो खिच्नमा व्यस्त देखिएका थिए । त्यसै गरी केन्द्रिय नहरमा बोटिङ गर्नेको भिड पनि उत्तिकै थियो ।
नववर्षको दिन लुम्बिनी पुग्ने पर्यटकहरूलाई त्यहाँ रहेका बिभिन्न बौद्ध तथा अन्य संस्थाहरूले निशुल्क पेयपदार्थ तथा जुस बितरण गरेका थिए । अन्तर्राष्ट्रिय बौद्ध समाज (आइबिएस)का संस्थापक एवं अध्यक्ष भिक्षु मैत्री महास्थवीरले आफ्नो र अन्य सस्था मिलेर ७ हजार भन्दा बढी पर्यटकलाई जुस सर्बत बितरण गरेको बताए । बैशाख महिनाको टन्टलापुर घामको पनि प्रवाह नगरी पर्यटकहरू बुद्ध जन्मस्थल लुम्बिनी पुगेका थिए । नववर्षको पहिलो दिन लुम्बिनी आउने पर्यटकहरूले त्यहाँ आएर तस्बिर खिची टिकटक बनाई बिभिन्न सामाजिक सञ्जालमा राख्दा लुम्बिनीको थप प्रचार भएको छ । लुम्बिनीमा अहिले चैते मेला पनि निरन्तर चलिरहेको छ ।
( यो समाचार २०८२ बैशाख ४ गते बिहीबारको न्यूज ओके साप्ताहिकमा पनि प्रकाशित छ ।)
Get real time update about this post categories directly on your device, subscribe now.