- भैरहवा
मायादेवी गाउँपालिकाको सबै वार्डहरुमा स्वास्थ्य सस्था सञ्चालनमा आएका छन् । गाउँपालिकाको सबै वार्डहरुमा स्वास्थ्य केन्द्र संचालनमा आए पछि सामान्य स्वास्थ्य सेवाका लागि शहर धाउनु पर्ने बाध्यता भने हटेको छ ।
पालिकाको ८ वार्ड मध्ये ४ वटामा स्वास्थ्य चौकी र ४ वटामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।
गाउँपालिका स्थापना हुँदा ४ वार्डहरुमा मात्रै स्वास्थ्य चौकी रहेकोमा पछिल्लो समय बाँकी सबै वार्डहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी स्वास्थ्यका आधारभूत सेवाहरु उपलब्ध गराउदै आएको शाखा प्रमुख आत्रेयले बताए ।
पालिका अन्तरगतका वडा नम्बर २, ४, ६ र ८ मा आधारभूत स्वास्थ्य कार्यालय सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएका सबै स्वास्थ्य सेवा केन्द्रबाट दैनिक बिरामी परिक्षण र उपलब्ध उपचार, पोषण सेवा, परिवार नियोजन सेवा, मातृत्व सेवा साथै क्षयरोग, कुष्ठरोग र औलोको परिक्षण तथा उपचार सेवा उपलब्ध हुने आत्रेयले बताए ।
मायादेवी गाउँपालिकाको कम्हरियामा २४ घन्टे प्रसुती सेवा केन्द्र समेत सञ्चालनमा छ भने गाउँपालिका अन्तरगत २ वटा ल्याब र बिरामीहरुलाई अस्पताल वा स्वास्थ्य केन्द्रमा पुरयाउन १ एम्बुलेन्स समेत सञ्चालनमा रहेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा अन्तरगत ३४ जना स्वास्थ्यकर्मी स्वास्थ्य केन्द्र, आधारभुत स्वास्थ्य सेवा केन्द्र , २४ घन्टे प्रसुती सेवा केन्द्र, ल्याबमा कार्यरत छन भने ८३ जना स्वास्थ्य स्वयंसेबिका छन् ।
गाउँ पालिकाका सर्वसाधारणहरु सामान्य स्वास्थ्य सेवाका लागि अब शहर जानु नपर्ने गाउँपालिका अध्यक्ष धु्रब नारायण चौधरीले बताए । गाउँका स्वास्थय चौकी, प्रसुती सेवा केन्द्र र आधारभुत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य सेवा उपलब्ध छ र सामान्य बिरामी भएमा आत्तिएर शहरनै जानु पर्दैन, म गाउँपालिकाका सर्बसाधारणलाई यहा प्रदान गरिने स्वास्थ्य सेवा उपभोग गर्न आग्रह गर्छु, अध्यक्ष चौधरीले भने ।
मायाँदेवी गाउपालिका सिद्धार्थनगर नगरपालिकासंग सिमाजोडिएको पालिका भएता पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा पछाडी देखिन्छ । तर गाउँपालिकाले बिस्तारै आफुलाई उकास्ने प्रयास गर्दै आएको छ ।
गाउँपालिकाले केही दिन अघि वडा नम्बर ८ मतखोलामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको थियो भने सोमबार मात्रै वडा नम्बर ६ बेथरीमा अर्को स्वास्थ्य केन्द्रको सुरुवात गरेको हो ।
बेथरीको स्वास्थ्य केन्द्रको सुभारम्भ विघटित प्रतिनिधी सभा रुपन्देही क्षेत्र नम्बर ४का सांसद प्रमोद यादवले उद्घाटन गर्दै अहिलेको स्वास्थ्य सेवा केन्द्रबाट बिरामीहरुले सामान्य सेवा प्राप्त गर्ने र सामान्य स्वास्थ्य सेवाका लागि भैरहवा गैरहनु पर्ने बाध्यता अन्त्य भएको बताउदै स्वास्थ्य केन्द्रमा आएर सबैले सेवा ग्रहण गर्नु पर्नेमा जोड दिए । सो अवसरमा रुपन्देही क्षेत्र ४ (२)का प्रदेश सांसद वसिउद्धिन खान, गाउपालिका अध्यक्ष धु्रब नारायण चौधरी, उपाध्यक्ष तारादेवी यादब, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषीराम पन्थी, वार्ड अध्यक्ष राजेन्द्र यादब, समाजसेवीहरु देवमणी पाण्डे, मोहन लाल यादव, श्रीराम यादव, गाउपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेय, बेथरी आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख रुद्र बहादुर बोहोरा, लगायतले मन्तब्य राख्दै घरदैलोमैे स्वास्थ्य सेवा उपलब्ध हुनु राम्रो कार्य भएको बताएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.