- भैरहवा ।
मायादेवी गाउँपालिकाले वडा नम्बर ८ बसडिलवामा वातानुकुल कक्ष सहितको खोप केन्द्र सुरु गरेको छ । शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष धु्रव नारायण चौधरीले भने । सो खोप केन्द्रको शुभारम्भ गरे । उनले गाउँपालिकाको सबै वार्डहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, खोप केन्द्र, गाउँघर क्लिनिक सञ्चालनमा रहेको बताए । ‘गाउँपालिकाका हाम्रा जनताहरुलाई स्वास्थ्यको आधारभूत सेवाका लागि शहर धाउन नपर्ने बनाएका छांै, थप सुविधायुक्त बनाउनेछाैं’, अध्यक्ष चौधरीले भने ।
स्थानिय तहको खोपकेन्द्र वातानुकुलित बनाइएको यो नेपालकै पहिलो केन्द्र रहेको मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए । खोपकेन्द्रमा खोप लगाउन आउने सेवाग्राही (बालबालिका) र गाउँघर क्लिनिकमा आउनेलाई थप सुविधा हुनेछ, गर्मी र चिसो महिनामा खोपका लागि आउँदा बालबालिकाहरुको स्वास्थयमा कुनै खराबी नहोस् भन्दै खोप केन्द्रलाई वातानुकुलित बनाइएका छ, आत्रेयले भने । ‘एक वर्ष भित्र गाउँपालिका भित्रका सबै खोपकेन्द्रलाई बातानुकुलित बनाउनेछाैं’, उनले भने ।
जिल्ला स्वास्थय कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले खोपकेन्द्र समयसापेक्ष बनाइनु राम्रो भन्दै थप सेवा सुविधासंगै अझै पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्य सतकर्ता अपनाई काम गर्नु पर्नेमा जोड दिदै सामाजिक दुरी, हात धुने र मास्क लगाउने काम जरुरी रहेको बताए ।
खोप लगाउने कक्ष वातानुकुलित हँुदा भर्खर जन्मेका नवजात शिशुदेखि अन्य बालबालिकाहरुलाई खोप लगाउँदा सुविधा हुने खोप अधिकृत भेषराज शर्माले बताए । सुविधा सम्पन्न नीजि तथा सरकारी अस्पतालको खोप लगाउने स्थानमा वातानुकुलित सुविधा होला तर देशभरीका स्थानिय तहको खोप केन्द्रलाई वातानुकुलित बनाइएको यो संभवत पहिलोनै हो, अधिकृत शर्माले भने ।
गाउँपालिकाको आठ वटा वार्डमा १७ वटा खोप केन्द्र र १७ वटा गाउँघर क्लिनिक सञ्चालनमा रहेको र मायादेवीको वार्ड नम्बर ८ को यो खोप केन्द्र प्रत्येक महिनाको १० गते सञ्चालन हुनेछ । मायादेवीका सबै वार्डमा रहेका खोपकेन्द्रहरु १० गतेदेखि १४ गतेसम्म र गाउँघर क्लिनिक हरेक महिना १९ गते देखि २३ गते सम्म सञ्चालन हुनेछन् ।
खोपकेन्द्र शुभारम्भको पहिलो दिन खोप ५९ जना शिशु एवम् बालबालिकाले खोप लगाएको खोपकेन्द्रमा कार्यरत अनमी अनुराधा चौधरीले बताइन् ।
कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ८ का वार्ड अध्यक्ष चोक बहादुर थापा, गाउँपालिकाकी उपाध्यक्ष तारादेवी यादव, लेखा अधिकृत ओमेश गैरे, श्रीराम यादव, शंकर ज्ञवाली, मान बहादुर कँुवर लगायतले खोपकेन्द्रमा सेवाग्राहीलाई थप सुविधा दिनु राम्रो भएको बताए । कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले गरेका थिए भने कार्यक्रम उद्देश्य माथि प्रकाश एवम् स्वागत मन्तव्य गाउँपालिका स्वास्थ्य शाखाकी नर्सिङ्ग निरिक्षक शर्मिला शर्माले गरेकी थिइन् । मायादेवीको यो खोप केन्द्र छिमेकी सिद्धार्थनगर पालिका वार्ड नम्बर ८ संग जोडिएकाले बसडिलवा वरपरका सेवाग्राहीलाई समेत थप फाइदा पुग्नेछ । यसै स्थानमा केही समय अघि आधारभूत स्वास्थय सेवा केन्द्र स्थापना भएको थियो ।
बालबालिकालाई कुन खोप कुन समयमा लगाउने ?
बच्चा जन्मने बित्तिकै विभिन्न रोगबाट बचाउनका लागि खोप दिनु आवश्यक छ । दुई वर्षमुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस ‘बी’, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा–रुवेलालगायत ११ प्रकारका रोगबाट बचाउन विभिन्न खोपहरु दिने गरिन्छ ।
खोप लगाउँदा हुने फाइदाः
- बच्चा जन्मिएपछि खोप तालिका बमोजिम तोकिएको समयमा तोकिएका सबै खोप पूरा मात्रामा लगाउँदा बालबालिकालाई सरुवा रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ । खोप लगाउनाले बालबालिकामा रोग लाग्ने अपाङ्गता हुने र मृत्यु हुने दरमा कमी आउँछ ।
- बालबालिकामा लड्ने क्षमता कम हुने हुनाले सबै खोपको मात्रा दिएमा विभिन्न सरुवा रोग लाग्नबाट बचाउन सकिन्छ ।
खोप कहाँ लगाउने?
सबै सरकारी अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, खोपकेन्द्रहरुमा गएर खोप लगाउन सकिन्छ । खोप निःशुल्क लगाउन पाइन्छ । खोप लगाइसकेपछि बालबालिकालाई सामान्य ज्वरो आउने, सुई लगाएको ठाउँमा सुन्निने जस्ता सामान्य समस्या आउन सक्छ । ज्वरो नरोकिए वा बढ्दै गएमा अथवासुई लगाएको ठाउँमा सुन्नीने क्रम बढेमा बालबालिकालाई तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगी जँचाउनुपर्छ ।
खोप कार्डको महत्व र व्यवस्थापनः
- बालबालिकालाई खोप लगाउन जाँदा खोपकेन्द्रबाट एउटा कार्ड दिइन्छ । त्यसमा सबै किसिमका विवरणहरु राखिएको हुन्छ । त्यसैले कार्डलाई सुरक्षित राख्नु पर्छ ।
- प्रत्येक महिना सञ्चालन हुने नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्थामा आफ्ना बालबालिकालाई लागि तालिकाअनुसार खोप लगाई कार्डमा सबै विवरण लेख्नु पर्छ ।
- बालबालिकालाई एकपटक खोप लगाइसकेपछि अर्को पटक लगाउन आउने मितिबारे स्वास्थ्यकर्मीसँग राम्ररी जानकारी लिनुपर्छ ।
- खोप कार्ड सुरक्षित राख्नुपर्छ । प्रत्येक पटक खोप लगाउन जाँदा खोप कार्ड लिएर जानुपर्छ ।
- कुनै बच्चालाई खोप लगाउन छुटेको छ भने खोप केन्द्र वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
- खोप कार्ड पछिसम्म काम लाग्ने भएकोले बालबालिकालाई सबै खोपको मात्रा पुरा गरिसकेपछि पनि खोप कार्ड जतन गरी राख्नुपर्छ ।
- बच्चालाई हरेक पटक स्वास्थ्य संस्था वा खोप केन्द्रमा खोप लगाउन जाँदा बाल स्वास्थ्य कार्ड अनिर्वाय लिएर जानुपर्छ ।
- बालस्वास्थ्य कार्डले बच्चाले सबै खोप पाए नपाएको भन्ने कुरा यकिन गर्ने भएकाले यसलाई सुरक्षित राख्नुपर्छ ।
- स्कूल भर्ना गर्दा खोप कार्ड आवश्यक पर्ने भएकोले यो कार्डलाई सुरक्षित तवरले राख्नु पर्छ ।
- बच्चा भविष्यमा विदेश जान चाहेमा पनि बाल स्वास्थ्य कार्ड आवश्यक पर्ने हुनाले सो कार्ड सुरक्षित गरी राख्नुपर्छ र, बाल स्वास्थ्य कार्डलाई सफा, सुक्खा ठाउँमा राख्नुपर्छ । यसलाई आगो, पानी घाम, ओस, धमिरा, किरा लाग्न बाट बचाउनुका साथै बच्चाको पहुँचबाट टाढा राख्नुपर्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.