(प्रत्येक वर्ष मे १२ तारीखलाई अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसका रुपमा बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । तर गत वर्ष देखिनै कोरोना भाइरस संक्रमणका कारण बिश्वभरका नर्सेसहरुले यो दिवस बिरामीहरुको सेवामा समर्पित गर्दै रातदिन नभनि खटीरहेका छन् । नर्सिंग सेवामा रहेका प्रतिनिधीमुलकपात्रहरु संग श्रीन्यूजओकेका सम्पादक मनोरञ्जन शर्माले गरेको कुराकानीमा आधारीत सामग्री)
- दिक्षा पौडेल
सुनवल (नवलपरासी)
अहिले म भैरहवा स्थित भिम अस्पतालमा कार्यरत छु । शुभकामना टेक्निकल कलेज रुपन्देहीबाट मैले नर्सिङ्ग शिक्षा लिएकी हु । ६ महिना जति मणिग्रामको क्रिमशन अस्पतालमा काम गरे । विगत १४ महिना अर्थात कोरोना महामारी सुरु भएसँगै भिम अस्पतालमा काम गर्दै आएकी छु । सानैदेखिको चाहना नर्सिङ्ग पढ्ने थियो । मलाई यो पेशा अपनाउन परिवारको पूर्ण सहयोग रह्यो । मेरो फुपुको छोरीले पनि नर्सिङ्ग पढेको हो र सुरुसुरुमा आफन्त, समाजले यो विषय लिएर पढेर पास भए पछि नर्स आई, केही काम नपाएर नर्स बनि भन्दै होच्याउने गरेको मलाई अझै सम्झना छ, तर मलाई मेरो परिवारबाट पुरै समर्थन रह्यो । तर अहिले पहिला जस्तो यो पेशालाई हेर्ने दृष्टीकोण धेरै फरक भइसकेको छ ।
अहिले कोरोना महामारीको समयमा जिम्मेबारी थप बढेको छ । नर्मल अस्पताल भन्दा कोरोना अस्पतालमै काम गर्दा फरक अनुभूति रहेको छ । त्यस्तो गर्मिमा पनि पिपिई सेट लगाएर काम गरीरहेका छौ ।
आफु पनि बच्दै बिरामीलाई सेवा दिनु निकै चुनौति छ । अस्पतालबाट काम सकेर घर जाँदा टोल छिमेककाले कोरोना अस्पतालमा काम गरेर आई टाढा–टाढा बसुम है भन्थे पहिला पहिला । तर अहिले त्यस्तो बिभेद छैन, तर कोही कोही भने अझै पनि त्यस्तै हेर्छन् ।
मेरो आमाको पनि फोक्सोमा समस्या थियो, त्यसैले घरमा पनि कसैलाई मेरो कारणले केही होलाकी भनेर सधै डर लाग्थ्यो तर सबै राम्रो भयो । स्वास्थ्य सतकर्ता अपनाई काम गरे सबै राम्रो हुन्छ ।
म अहिले यो महामारीको समयमा सबै लाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्छु,, घरमै बस्नु होला, अस्पतालमा शैयाको मात्र होईन अक्सिजनकाृे पनि अभाब छ । हामी तपाईहरुको सेवामा समरर्पित छौ, तर तपाईहरु सचेत रहनु होला ।
नर्स पेशा उत्कृष्ट पेशा मध्येको एक हो, मलाई यो नर्स पेशा अपनाउन पाएकोमा गर्वको अनुभूति रहेको छ । नर्स बन्न गाह्रो भने छ । मेहनत गर्नु पर्छ । चाहे अनमी अथवा स्टाफ नर्स सबै पढ्न गाह्रो छ, मेहनत गर्नु पर्छ । यो पेशामा स्वदेश विदेशमा राम्रो अवसर छ , अहिले त हाम्रो देशमा पनि यो पेशामा राम्रो अवसर छ, तर मेहनत लगनशील हुनु पर्छ ।
- बिनिता कडरीया
देबदह (खैरेनी)
मेरो स्थायी घर पाल्पा हुँगी हो र अहिले देवदह खैरेनी बस्दै आएकी छु जनपुर नर्सिङ्ग कलेजमा मैले अध्यन गरे । अहिले भिम अस्पताल भैरहवामा कार्यरत छु । मेरो सानैदेखिको ईच्छा नर्स बन्ने थियो । नर्स बनेर सबैको सेवा गर्ने चाहना मेरोे थियो । मेरो चाहनालाई परिवारले पनि साथ दियो र म आफ्नो अध्ययन पुरा गरी अहिले बिरामीहरुको सेवामा लागेकी छु ।
यो पेशालाई उत्कृष्टनै भन्छु म, कसरी हुन्छ बिरामीलाई राम्रो सेवा दिएर निको गराई घर पठाउन पाए हुन्थ्यो भन्ने हुन्छ, बिरामीको सेवा गर्ननै म जन्मेको हो जस्तो मलाई लाग्छ । आफुले उपचार गरीरहेको बिरामीहरु जब सफल भएर सन्चो भएर घर फिर्ता जान्छन् त्यतिबेला निकै खुसीको अनुभुति हुन्छ । तर सबै बिरामी सफल हुँदैनन् । रात दिन उपचार मा सेवा लाग्दा–लाग्दै बिरामी निको हुन नसकी मृत्यु हुन्छ, त्यति बेला धेरै दुःख लाग्छ, कति पटक म कोठामा एक्लै रोएकी छु, बिरामीको उपचार गर्दा गर्दै बचाउन सकिएन भनेर । तर पनि हामी सधै आत्मविश्वास बलियो बनाई कहिले हिम्मत नहार्ने गरी दत्तचित्त भएर यो पेशामा लागिरहेका छौं । बिरामीको सेवामा हामी सदैव समर्पित छौं, अझै पनि केहीले हेयको दृष्टीले हेर्छन्, कृपया त्यसो नगरी दिनु होला । अहिले यो कठिन समय छ, कोरोना महामारीले सबैलाई चुनौती दिएको छ, हामीहरु दिन रात नभनि तपाईहरुकै सेवामा रहेका छौ, त्यसैले भरसक घरमै बस्नु होला, त्यस्तो केही लक्षणहरु देखिए स्वास्थयकर्मिहरुको परामर्श लिनु होला। यो कठिन समयमा हामी तपाईहरुकै सेवामा छौ कृपया घरमै बसिदिनु होला ।
- बिनिषा क्षेत्री
कोटीहवा(रुपन्देही)
मेरो सानोदेखिको नै इच्छा थियो नर्स हुने । घर परिवारमा पनि दिदीहरु नर्सिङ्ग पढेको हुनाले मलाई यो पेशाले आकर्षित गराएको हो । घर नजिकै रहेको शुभकामना टेक्निकल कलेजमा पिसिएल नर्सिङ्ग पढेर पुरा गरे । परिवारको सहयोग पनि रह्यो । यो नर्सिङ्ग पढेपछि पढाई अनुसार काम पनि पाइन्छ भन्ने थाहा थियो । पढाई सकेर धेरै बेरोजगार हुनु परेन् । पढाई सकिएको केही समयमै कोरोना महामारी सुरु भयो । लगत्तै भिम अस्पताल भैरहवामा नर्स पदमा आवश्यकता भनेर माग भएको थियो । धेरैले कोरोना अस्पतालमा के काम गर्छेस भनेर पनि भने । तर मैले बिरामीको सेवा गर्न भनेर नै नर्स बन्ने प्रेरणा लिएकोले भिम अस्पतालमै अवसर पाए काम गर्ने सोच बनाइसकेकी थिए । सोही अनुसार दरखास्त दिए र नाम पनि निस्किीयो । अहिले भिममा कार्यरत छु ।
करारमा रहे पनि अस्पतालमा नर्स अभाव भएको बेला हामीले कोरोना महामारीकै समयमा कोरोना अस्पताल रोज्यौं, यो विषयमा राज्यले पक्कै पनि सोच्छ होला भन्ने लागेको छ । अघिल्लो बर्ष कोरोना बेस्सरी फैलिदा काम गर्न गाह्रो भयो। आफु पनि सुरक्षित रहदै बिरामीलाई सेवा दिनु पर्दथ्यो त्यस पछि सामान्य जस्तै बन्दै थियो । तर एक्कासी अहिले यो कोरोनाको दोश्रो लहर बढेर गएको छ । हामीमा पनि चुनौती थपिएको छ । अस्पतालमा भर्ना भएका सबै बिरामी निको भएर घर फिर्ता जान सक्नुहोस भन्दै उपचार सेवामा लागेका छौ, तर अहिले अघिल्लो समयको भन्दा जटिल अवस्था छ, अक्सिजन , शैया अभाब छ, बिरामी पेटीमा बसेर उपचार गराईरहेका छन्, आफैमा पिडा बोध हुन्छ, यो सबै देख्ख्दा । हामी बिरामीकै सेवा गर्न यो पेशामा लागेकाले निराश भने छैन् । यो पेशा आफैमा राम्रो हो । भविष्यमा बिएस्सी नर्सिङ्ग पढ्ने लक्ष्य छ । यही पेशा मार्फत बिरामी दिन दुःखीको उत्कृष्ट सेवा गर्न पाइयोस् । अवसर धेरै रहेको क्षेत्र हो नर्सिङ्ग ।
- कृति आचार्य
ओेमसतियाँ (बालापुर)
दिन दुःखी, बिरामीहरुको सेवा गर्न भनेर नै मैले नर्सिङ्ग पेशा रोजे । अझ पिसिएल नर्सिङ्ग सकेको केही समयमै जोखिम मोलेर कोरोना अस्पताका रुपमा रहेको भिम अस्पतालमा बैशाखबाटै काम सुरु गरेकी हु मैले । बिरामीकै सेवा गर्न भनेर नर्स बने पछि यहाँ काम गर्छु, त्यो काम गर्छु भनेर भन्न मिलेन । राज्यलाई अप्ठयारो परेको बेला हामीले सहयोग दिन सक्यौ त्यो ठूलो कुरा हो, अहिले करारमा रहे पनि राज्यले केही सोच्ला । कतिपयले जागिर छाडेर गएको पनि सुनियो तर हामी बिरामीको सेवा गर्न भनेर कोरोना अस्पतालमै गयौं । शिक्षा अनुसारको पेशा र सोहि अनुसार दिन दुःखी बिरामीको सेवा अहिले मुख्य काम हो हाम्रो । अहिलेको समय निकै चुनौतीपुर्ण छ । कोरोना महामारीको रुपमा फैलेको छ, हामीले आफनो क्षमताले भ्याए सम्म सेवा दिएका छौ, सबै निको भएर घर जानु हुनेछ भन्दै बिरामीलाई भन्ने गर्छौ ।
कतिपय बिरामी उपचार गर्दा गर्दै प्राण गएको देखेका छौ, बचाउन हर संभब प्रयास गर्छौ तर …….।
त्यसैले अहिले यो समयमा भर्सक घरमै बस्नु होला। स्वास्थ्यमा अप्ठेरो परे हामी स्वास्थ्यकर्मिहरु सेवामा तत्पर छौ, न आततिनुहोस, हौशला राखौ मनोबल उच्च राखौ । मेरो इच्छा नै थियो । नर्स बनु । दिन दुःखी बिरामीको सेवामा सधै लागु भन्ने थियो । अहिले पेशामा पूर्ण समर्पित छु । हाम्रो पेशा अनुसार बिरामीको सेवामा खटिएकी छु । घर परिवारको सहयोग छ । अझ कहिले काही टोल छिमेकमा सञ्चो भएन, ब्लड प्रेसर हेरी दिनु परयो भन्छन्, यो दवाई खाम भनेर सोध्दा वास्तवमा आफ्नो नर्स पेशा प्रति गर्व लाग्छ । यो पेशालाई अघि बढाउँदै आफ्नो योग्यता बढाउँदै अघि बढे यो पेशामा राम्रो छ । अनमी या पिसिएल नर्सिङ्ग मात्रमा सिमित गर्नेकी आफुलाई मझ माथि चढाउने आफुमा भर पर्छ । एमएस्सी नर्सिङ्गसम्म गर्न सकिन्छ । अवसर चुनौती बराबर छ । कतिले संघर्ष गरेर नर्स बनेको थाहा छ । कतिको चाहना हँुदा–हुँदै पनि समय र अवस्था नमिलेर पढन नपाएको र बिचमै पढाई छाडेको पनि छन् ।तर मेहनत गर्न सक्नु हुन्छ, लगनशील हुनुहुन्छ भने नर्स पेशा अपनाउनुस।
- अनुराधा चौधरी
(नवलपरासी)
पेसाले म नर्स (अनमी) हुँ । अहिले मायादेवी गाउँपालिका अन्तरगत वनगाई स्वास्थ्य चौकीमा कार्यरत छु । यस अघि म पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको बेलाटारी स्वास्थ्य चौकीमा थिए । मैले अनमीसम्मको अध्ययन लिट्स कलेज बुटवलमा गरेकी हुँ । त्यसपछि पढाई सकेर गुल्मी जिल्लामा २ वर्ष काम गरेपछि प्रतापपुर नवलरासी आएर काम गरेर अहिले मायादेवी गाउँपालिकामा छु ।
मेरो नर्सिङ्ग पढी बिरामीको सेवामा खट्ने पहिल्यै देखिको चाहना हो । म मेरो पेशामा अहिले रमाएकी छु । नर्स भनेको वास्तवमै मानवसेवाका लागि हो भन्ने लाग्छ । घर परिवारको सहयोगमै पढे । श्रीमान्को पनि यो पेशा अघि बढाउन सहयोग छ । मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो भन्ने जुन बिचार जुन छ त्यो हाम्रो पेशाले देखाएकै छ । आफुले काम गर्ने स्थान मात्र नभई घर परिवार टोल छिमेकमा समेत कोही बिरामी पर्दा बोलाउन आछन्, सञ्चो भएन हेर्दिनु प¥यो भन्छन् त्यति बेला आफु र आफ्नो पेशा प्रति जिम्मेवारी अझ बढी भएको महसुस हुन्छ र आफुलाई गर्व हुन्छ आफ्नो नर्स पेशामा । राम्रो र सम्मानजनक पेशा हो अहिले । पहिला जस्तो रुपमा हेरिने गरे पनि अहिले राम्रो मानिन्छ । अझ अहिले कोरोना महामारीको समयमा हामी नर्सहरुको महत्व अझ बढी छ। गत साल पिसिआर चेक गर्दै उपचारमा खटिनु पर्दथ्यो । क्वारेन्टाईन, पिसिआर, बिरामीको उपचारमै हामी खटिएम । जस्तो सुकै परिस्थीति आए पनि हामी हाम्रो पेशाबाट खुट्टा कपाएर भागेका छैनौ र भाग्ने पनि छैनौं, हामी सदैव तपाईंहरुको सेवामा तत्पर छौं । अहिले झन कोरोना बेस्सरी फैलदो छ, त्यसैले तपाईहरु सचेत रहनु होला , घरमै बस्नु होला, घरमै केही दिन बसेर सुरक्षित भइन्छ भने किन नबस्ने । कोरोना केही होईन भनेर जिद्धी नगर्नु होला ।
- सावित्री यादव
स्टाफ नर्स भैरहवा
नर्सको महत्व कति छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । अस्पतालहरुमा नर्स भनेको मुटुनै हो । नर्स बिना उपचार केन्द्र अस्पताल कल्पना गर्न पनि सकिन्न ।अहिले कोरोना संक्रमणका बेलामा अझ बढी जिम्मेवारी हाम्रो रहेको छ । हामी गत बर्ष देखिनै कोरोना पिडित बिरामीको उपचारमा संलग्न छौ । अहिले अबस्था एकदम भयाबह छ । तर पनि हामी कतिपनि बिचलित नभई सेवा दिईरहेका छौ र निरन्तर दिईरहने छौ, बिरामीहरुको सेवामा रातदिन खटीरहेका छौ । नर्स एकदमै राम्रो पेशा हो । बिरामीलाई सेवा गर्न भनेरै बनेको यो पेशा हो । हामीमा जिम्मेवार पनि धेरै छ । घर परिवार बालबच्चा नभनि हामी सेवामा खट्नु पर्छ , त्यति हुदाँ–हुँदै पनि कहिले काही नराम्रो भन्छन्, दुःख लाग्छ । तर हामीलाई हाम्रो पेशा प्रति गर्व छ । हामी सेवा दिन हरदम तत्पर छौं । अहिले हाम्रो जिम्मेवारी अझ बढेको छ ।
- भगवति न्यौपाने
तानसेन (पाल्पा)
म विगत १८ वर्षदेखि नर्सिङ्ग पेशामा छु । अहिले पाल्पा अस्पताल तानसेनमा कार्यरत छु । बिएस्सी नर्सिङ्गसम्म अध्ययन पुरा गरे । परिवारको सहयोग र सपोर्टबाटै नर्स बन्ने इच्छा पुरा भयो । विवाह पछि पनि श्रीमान्को पुरै सहयोग छ । घर परिवार नभनि रातदिन बिरामीको सेवामा खट्नु पर्छ, नाइट डिउटी हुन्छ । कहिले काँही लगातार डिउटी हुन्छ, त्यस्तो बेलामा घर परिवार साना बालबच्चा भन्न पनि पाइँदैन तर पनि यो पेशा अपनाए पछि बेकारमा नर्स भएछु भनेर कहिले लागेन। आफुले सकेको सेवा दिएर बिरामीको उपचार पछि निको भई घर जाँदा सबैभन्दा बढी आत्मसन्तुष्टी लाग्छ । यो पेशा प्रति गर्व महशुस हुन्छ, ।
सरकारी सेवामा प्रवेश गर्नु अघि पोखराको फेवा सिटी अस्पताल, मिसन अस्पताल तानेसन मा काम गर । १५ वर्षदेखि सरकारी अस्पतालमा छु । यो पेशा राम्रो हो । सुरु सुरुमा भर्खर नेपालमा सुरु हुँदा र त्यस्को केही वर्षसम्म त्यति राम्रो भन्दैन्थे । तर अहिले समय फेरिएको छ । यो पेशा बिरामीकै सेवामा समर्पण हुने पेशा हो । कहिले–काँही श्रीमान् घर बाहिर जाँदा र आफु सेवामा जादा छोरालाई छिमेकीको घरमा साथीहरुकोमा राखेर पनि काममा गएको अनुभव छ । यो पेशामा अवसर र दुःख दुबै छ । अवसर राम्रो भए पनि पढाई र सेवा अनुसार अझै पनि कतिपय प्राइभेट अस्पतालहरुले राम्रो पारिश्रमिक दिदैनन् । त्यसैले यो नर्सिङ्ग पढे पछि विदेश जानेको लहर चलेको हो । विदेशमा नर्सिङ्ग पेशालाई निकै सम्मानजनक रुपमा हेर्छन्, त्यहाँ पारिश्रमिक सेवा सुबिधा पनि राम्रो हुन्छ भन्ने सुनेकी छु । जे होस हाम्रो नर्सिङ्ग पेशा उत्कृष्ट छ यसैमा हामी खुसी छांै । बिरामीलाई राम्रो सेवा दिएर निको बनाएर सधै घर पठाउन पाइयोस् कुनै पनि बिरामीको ज्यान नजाओस् भन्छौं हामी, तर सधै भने जस्तो हुँदैन् । अहिले कोरोना महामारीको रुपमा फैलिएको छ । हाम्रो जिम्मेवारी पनि बढेको छ ।कसरी आफु सुरक्षित रहदै बिरामीको सेवा गर्ने, उपचार गर्ने भन्ने कुरा हो, हामी बिरामीको सेवा गर्न भनेर नै यो पेशा रोजेपछि कदापी पछाडी फर्कनु हुदैन, अहिले बिरामीलाई हाम्रो आवश्यकता छ । हामीले सक्दो सेवा दिनु पर्छ र राज्यले पनि अहिलेको अवस्था हेरेर चिकित्सक,नर्स लगायत स्वास्थ्यकर्मिको मुल्यांकन गर्नु पर्छ ।
- सबिता शर्मा
भैरहवा
म दुई दशक भन्दा लामो समयदेखि स्वास्थ्य सेवामा आवद्धछु । म नर्स होइन । म प्यारामेडिष्ट हो । भिम अस्पतालमा कार्यरत छु । धेरैले मलाई नर्स नै भन्नु हुन्छ । मेरो व्यवहारले गर्दा होला । जुन रुपमा भए पनि स्वास्थ्य सेवा प्रवाह गरिरहेकी छु । २४ वर्ष भयो यो पेशामा लागेको । अरुलाई सेवा दिन सक्दा आफुलाई गर्व महसुस हुन्छ । पोहर सालको कोभिडका समयमा अलि गाह्रो भएकै थियो । कोरोनाले हामीलाई पनि छाडेन, ठूलो क्षति भयो मेरो घरमा पनि । तर अहिले कोरोना झन महामारीकै रुपमा फैलिएको छ । हामी कार्यरत भिम अस्पतालमा बिरामीहरु राख्नै र्शया अभाब छ, भुईमा, पेटिमा राखेर उपचार भैरहेको छ बिरामीहरुको । जस्तो भए पनि बिरामीलाई सेवा दिन सक्दा खुसी छु । उपचारमा रहेका बिरामीलाई केही नहोस , उपचार पछि निको भएर घर गएको सदैब हेर्न चाहन्छौ हामी ।
- भगवति राना
स्टाफ नर्स(तिलोत्तमानगर)
म विगत २ दशकदेखि यो पेशामा छु । अहिले यो पेशाको महत्व धेरै छ । यो पेशा एक नोकरी पनि भयो र सामाजिक भावना रहेको पेशा पनि भयो । नोकरीसंगै सामाजिक कामको रुपमा मैले यो पेशालाई लिएकी छु । टेक्निकल लाइन पढेर सजिलै रोजगार पाइन्छ भनेर यो नर्स पढ्नेहरु पनि छन। तर नर्स पढेर अस्पतालमा मात्रै होइन घर परिवार टोल छिमेकमा पनि सेवा दिन सकिन्छ । अस्पतालसंगै जब टोल छिमेकमा सेवाको भावनाले बोलाउछन् त्यति बेला अझ बढी महत्व हुन्छ यो पेशाको । अहिले कोरोनाको महामारीको बेलामा आफु बचेर अरुलाई बचाउनु पर्ने अवस्था रह्यो । कोभिडकै क्रममा अहिले हामी यहाँ काम गरिरहेका छौं । हाम्रो पेशामा हामी सदैव समर्पित छौ । कोरोनामा मात्र होइन हरेक कुरामा स्वास्थ्य सतर्कता अपनाइयो भने आफुलाई राम्रो हुन्छ भन्न चाहन्छु । अहिले म कार्यरत सस्था भिम अस्पतालमा कोरोना बिरामीहरुको चाप बढेको छ । अस्पतालमा शैया अभाब छ, पेटीमा राखेर, भुईमा राखेर सेवा दिन बाध्य छौ हामी। अक्सिजनको समस्या उस्तै छ । त्यसैले अहिले घरमै बस्नु होला, तपाईको स्वास्थयमा केही समस्या भए सेवाका लागी हामी २४ घन्टानै तत्पर छौ ।
Get real time update about this post categories directly on your device, subscribe now.