- भैरहवा ।
आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी । यो दिनलाई सरस्वती पूजाका दिनमा मनाइन्छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।
विद्याकी देवीका रुपमा सरस्वतीलाई लिइने हुँदा आज शैक्षिक सस्थाहरुमा विधिपूर्वक पूजा गरिन्छ । सरस्वतीलाई विद्या मात्र नभई संगीत, कला, साहित्यको देवीका रुपमा पनि पूजिन्छ ।
आजकै दिन बालबालिकालाई पढ्न सिकाउने गरिन्छ । अर्थात अक्षरारम्भ गराइन्छ । सरस्वती मन्दिरहरुमा गएर आफ्ना बालबालिकालाई अक्षर लेखाउन सिकाउने दिनका रुपमा लिइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।
श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ। सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।
सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ ।
आज भैरहवा र वरपरका प्राय सबै शैक्षिक प्रतिष्ठानहरुमा आज सरस्वती पूजा हुँदैछ । सरस्वती पूजाकै अवसर पारी सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित श्री मेउडिहवा आधारभुत विद्यालयमा व्यवसायिक भवन निर्माण कार्य थालनी समेत हुँदैछ ।
Get real time update about this post categories directly on your device, subscribe now.