- भैरहवा ।
विगत केही दिनदेखि रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या फेरी बढ्न थालेको छ । बजारहरु खुकुलो भएसँगै चहल–पहल बढ्दै गएको छ । शहर बजार मात्र नभई ग्रामीण बजारहरुमा पनि सर्वसाधारणको चहल–पहल बाक्लिदै गएको छ ।
सर्वसाधारणको चहल पहल बढेसँगै कोरोना संक्रमितको संख्या पनि रुपन्देहीमा बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गर्ने गरेको दैनिक कोरोना भाइरस अपडेटले पनि जिल्लामा कोरोनाको जोखिम पुनः बढेको पुष्टी हुन्छ ।
गत दुई हप्तामा मात्रै रुपन्देहीमा १ सय ८१ जना थप संक्रमित पुष्टी भएको छ । कार्यालका अनुसार गत असार ११ गते जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या २ सय जना रहेकोमा असार २४ गतेसम्म बढ्दै जाँदा संक्रमितको संख्या ३ सय ८१ पुगेको छ ।
विहीवार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । यो संख्या सहित अस्पतालमा उपचार गराउँनेको संख्या ६६ र होम आइसोलेशनमा ३ सय १५ जना रहेका छन् । असारको दोस्रो सातादेखि संक्रमितहरुको संख्या विस्तारै बढ्दै गएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले स्वास्थ्य मापदण्ड कायम गरेर अघि बढ्न सबैमा आग्रह गर्दै आवश्यक कामले घर बाहिर निस्किदा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना भाइरस न्यूनिकरणका लागि गत वैशाख १५ गतेदेखि निरन्तर निषेधाज्ञा लगाउँदै आएता पनि गत हप्तादेखि निषेधाज्ञा खुकुलो गराएको छ ।
अहिले सार्वजनिक यातायात साधनहरु जिल्ला भित्र चलिरहेका छन् । बजारहरु पनि विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न प्रशासनले अनुमति दिएको छ ।
रेष्टुरेन्ट, पार्लर, सैलुन, स्पा, जीम, पार्टी प्यालेस सञ्चालनमा निषेध भएपनि खोलेको पाइएको छ । सरकारी कार्यालयहरुले असार महिनामा विभिन्न विकासे कार्यक्रमहरु होटल, पार्टी प्यालेसहरुमा गरेको पाइएको छ । स्थानीय प्रशासनको आदेश सरकारी कार्यालय, स्थानीय तहले लत्याउँदै बजेट सक्ने नाममा भिडभाँड गर्दै कार्यक्रम गरिरहेका छन् ।
साथै विभिन्न संघसंस्थाहरुले पनि कार्यक्रम गरेको पाइएको छ । बजारमा चहल पहल बढ्दा साथै स्वास्थ्य मापदण्ड नअपनाई अघि बढ्दा कोरोनाको जोखिम बढ्दै गएको हो । वैशाख दोस्रो साताबाट महामारी रुप लिँदा अस्पतालमा विरामीको चाप बढी भएपछि भुइमा, पेटीमा उपचार गर्नु परेको थियो भने कतिले अक्सिजन ग्याँस नपाउँदा ज्यान गुमाउन पुगेको थिए । दुई महिना अगाडिको महामारीलाई यति छिटो विर्सिदै सामान्य जीवनमा फर्किए झै गर्दा फेरी ठूलो गम्भिर महामारी नआउला भन्न सकिदैन, त्यसैले कोरोनाको जोखिम र संक्रमण सकेको छैन् सचेत भई स्वास्थ्य मापदण्ड कायम गर्दै अघि बढ्नु पर्छ ।
याे पनि पढाैं रुपन्देहीमा संक्रमण दर अझै बढी छः डा. राजेन्द्र गिरी
Get real time update about this post categories directly on your device, subscribe now.