श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
आज विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी पर्व मनाइँदै छ । आजका दिनलाई सरस्वतीपूजा गर्ने दिनका रुपमा लिईन्छ । सरस्वती पूजालाई वसन्त पञ्चमी पनि भनिन्छ । आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।
यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुको शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ ।
संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंगकलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।
आज बिद्यालय, कलेज, शैक्षिक प्रतिष्ठानहरुमा सरस्वति पूजा गरिन्छ भने धेरै विद्यालयहरुमा आजकै दिन वार्षिकोत्सवका रुपमा मनाउने प्रचलन पनि छ । कोरोना भाइरसका कारण गत वर्ष देखिनै पूजा प्रभावित हुदै गएको छ । यद्यपी स्वास्थ्य मापदण्ड अपनाई सरस्वती पूजा बिद्यालयहरुमा हुदैछ । भैरहवा क्षेत्रमा रहेका सरस्वती मन्दिरहरुमा पनि पूजापाठ अहिले भैरहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.